१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सत्याग्रहको जन्म

त्यसपछि ‘शत्रुको निगाहमा पाएको जीवनको के काम ?’ भन्दै दुर्योधन पनि अन्नजल त्यागेर मृत्यु वरण गर्न तयार भयो ।
शरच्चन्द्र वस्ती

कोरोनाको उत्पात अलिक मत्थर भएको मौका छोपेर गुजरात घुम्न गएको थिएँ । पोरबन्दर शहरका सडक चहार्दै थिएँ, अकस्मात् पानी दर्कन थाल्यो । हतारहतार एउटा दोकानमा ओत लागें । ‘सेकेन्डह्यान्ड’ पुस्तक बेच्ने पुरानो दोकान रहेछ, पछिल्लो भागमा थोत्रा पुस्तक र ढुसी परेका फाइलहरूको डंगुर थुपारिएको ।

सत्याग्रहको जन्म

हेर्दै जाँदा अँध्यारो कुनामा एउटा मक्किइसकेको डायरी फेला पारें, सन् १९३८ मा लेखिएको । ‘माखनलाल खुशहालचन्द (एमके) गान्धी’ नामक सज्जनको त्यो डायरी पल्टाउँदा एउटा पत्र फेला पर्‍यो, जो उनकै जस्तो छोटकरी नाम भएका अर्का कुनै ‘एमके गान्धी’ ले लेखेका रहेछन् । पत्रसहितको त्यो डायरी दोकानदारले तीन रुपैयाँ लिएर मलाई सुम्पिदियो ।

डायरी त मैले पढ्न भ्याएको छैन, तर पत्र पढें । त्यसका प्रापक र प्रेषक एमके गान्धीहरू को हुन्, मलाई थाहा छैन । तर पत्र निकै रोचक रहेछ । त्यसमा सत्याग्रहबारे र खास गरी अनशनलाई किन सत्याग्रह भन्न थालियो भन्ने खुलासा गरिएको रहेछ । ८० वर्ष पुरानो त्यो पत्र तपाईंलाई पनि रोचक लाग्ला भन्ठानेर, नेपालीमा अनुवाद गरी यहाँ जस्ताको तस्तै प्रस्तुत गरेको छु । पत्रमाथि मेरो कुनै टिप्पणी छैन । आगे तपाईंको मर्जी ।

प्रिय माखनलाल,

सत्याग्रहको विचार मेरो मनमा कसरी जन्म्यो भनेर तिमीले सोधी पठाएका रहेछौ । तिम्रो जिज्ञासा रहेछ, ‘अवज्ञा, असहयोग, धर्ना, जुलूस, प्रदर्शन आदिको कुरा बेग्लै हो, तर सत्याग्रहको नाममा आफ्नो माग पूरा गराउन अनशन बस्ने विचार तपाईंको मनमा कसरी उत्पन्न भयो ? यसको प्रेरणा कसबाट पाउनुभयो ?’ तिमी मेरा नातेदार पनि हौ र यसबखत म तिम्रै शहरमा छु । भेटेर सोधेको भए विस्तारपूर्वक बताउँथें । पत्र पठाएकाले पत्रबाटै संक्षेपमा जवाफ दिंदैछु ।

सत्याग्रह शब्द अवश्य नयाँ हो र यस अन्तर्गत आफ्ना माग पूरा गराउन मैले अनशन पनि गर्दै आएको छु । तर, मेरो विचारमा यो कुनै नयाँ ‘विचार’ होइन, जुन मेरो मन–मस्तिष्कमा जन्मेको होस् । मलाई लाग्छ, हामी सबैले यसको प्रयोग आफ्नो जीवनमा जरूर गरेका छौं, खास गरी बाल्यकालमा । हामी मात्र किन, हाम्रा पुर्खा र तिनका पनि पुर्खाले समेत यसको प्रयोग गर्दै आएका हुन् । यसो सम्झिहेर त, केही चाहियो र आमाबाबुले दिएनन् भने हामी के गर्थ्यौं ? कराउँथ्यौं, रोड्याइँ गर्थ्यौं, भुइँमा लडीबुडी गरेर रालसिंगान बगाउँदै क्वाँ क्वाँ रुन्थ्यौं र त्यतिले पनि भएन भने खाना खाँदैनथ्यौं । अनि आमाबाबुले हाम्रो माग पूरा गरिदिन्थे । सत्याग्रह त्यही होइन ?

एउटा कुरा चाहिं नबिर्स है । मैले ‘आमाबाबु’ भनें । तर सत्य के हो भने, हाम्रो सत्याग्रह पिताजीका सामु भन्दा माताजीका सामु बढी सफल हुन्थ्यो । पिताजी त ‘चूप लाग्’ भनेर हप्काइहाल्नुहुन्थ्यो र नमाने चड्काइहाल्नुहुन्थ्यो । माताजीको मन चाहिं कमलो हुन्थ्यो । हामी रोएर भुइँमा पसारिएपछि र अझ एक छाक खाना नखाएपछि उहाँको मन पग्लिहाल्थ्यो र हाम्रो माग पूरा भइहाल्थ्यो । होइन त ?

परन्तु, जन्मजात रूपमा मानिसमा रहेको यो प्रवृत्ति ऊ हुर्कंदै जाँदा हराउँदै जाँदो रहेछ । आफ्नो कुरा मनाउन कसैका सामु खान–पिउन छोडेर पसारिनु सारै निर्घृणी काम हो भन्ने लाग्दो रहेछ । मलाई पनि यस्तै भयो । त्यसमाथि, दश वर्षकै उमेरमा मैले पण्डितजीका मुखबाट रामायण र महाभारतको कथा सुन्ने मौका पाएँ । रामायणमा वालीको छोरो अंगदले निर्धारित समयमा सीतालाई खोज्न नसकेपछि अनशन गरेर प्राण त्याग्न खोजेको रहेछ । महाभारतमा दुर्योधनको कथा झन् रमाइलो रहेछ । वनवास पठाइएका पाण्डवहरूको उपहास गर्न भनेर ऊ आफ्ना दासदासीहरू, रानीहरू, मन्त्रीहरू, योद्धाहरू र सेनासहित द्वैतवन पुगेछ । त्यहाँ चित्रसेन गन्धर्वसँग लडाइँ पर्दा उनले दुर्योधनलाई बन्दी बनाएछन् र युधिष्ठिरको अनुरोधमा प्राणदान दिएर मुक्त गरेछन् । त्यसपछि ‘शत्रुको निगाहमा पाएको जीवनको के अर्थ ?’ भन्दै दुर्योधनले पनि अन्नजल त्यागेर मृत्यु वरण गर्न खोजेको रहेछ । यसबाट मैले अनशन भन्ने कुरो कर्तव्य पूरा गर्न नसक्ने र हुती नभएकाहरूले आफ्नो जिन्दगीको भारी बिसाउन अपनाउने तुच्छ प्रक्रिया रहेछ भन्ने बुझें र अनशनलाई घृणाको दृष्टिले हेर्न थालें ।

त्यस्तो मान्छे म, घरीघरी अनशन बसिहिंड्ने ‘अनशनप्रेमी’ कसरी हुन पुगें भनेर तिमीलाई अचम्म लागिरहेको होला । अनशनप्रतिको मेरो त्यो धारणा धेरै दिन टिकेन । तिमीलाई के ढाँट्नु ? म आज तिम्रा सामु आजसम्म कसैलाई नखोलेको त्यो रहस्य उद्घाटन गर्दैछु, जसबारे मेरो आत्मकथा पनि मौन छ । कसरी मैले अनशनको शक्ति र यसको उपयोगिता थाहा पाएँ, यसलाई प्रेम गर्न थालें, अनि कसबाट यसको प्रेरणा पाएँ, आज सबै बताउँछु ।

तिमीलाई थाहै छ, हाम्रो खानदानमा पुरुषहरूकै हालीमुहाली थियो । पिताजी, काका, बडाबाहरू आआफ्नो परिवारका मुखिया हुनुहुन्थ्यो । कस्तो खाने, कस्तो लगाउने, कस्तो घरमा बस्नेदेखि कहाँ जाने, कहाँ नजाने, कोसँग सम्बन्ध गाँस्नेसम्मका हरेक कुरामा उहाँहरूको निर्णय सर्वोपरि हुन्थ्यो । आमा, काकी, बडीआमा, फुपूहरू चित्त नबुझे पनि केही बोल्नुहुन्नथ्यो । उहाँहरूको कुरा कसले सुनोस् ?

तर, सँगै घर भएका हरिलाल काका र कमला काकीको कुरा बेग्लै थियो । काका सरकारी अफिसर हुनुहुन्थ्यो । पहलमान जस्तो हट्टाकट्टा जीउको धनी । समाजमा ठूलो इज्जत र धाकधक्कू थियो । काकी भने फुकिढल र निरक्षर समेत हुनुहुन्थ्यो । बाहिरबाट हेर्दा काका नै सर्वेसर्वा देखिए पनि घरभित्र उहाँको केही चल्दैनथ्यो । हरेक निर्णय काकीले चाहे अनुसार नै हुन्थ्यो । काकालाई फकाएर, माया गरेर, लाडे पल्टेर, स्वाङ पारेर, ठुस्किएर, तर्साएर होस् अथवा मर्छु, सेरिन्छु, समुद्रमा फाल हान्छु, जोगिनी बनेर हिंड्छु भन्दै घुर्क्याएर होस्, आफ्नो कुरा मनाइछाड्नुहुन्थ्यो । काका फन्कनुहुन्थ्यो, झ्वाँक्किनुहुन्थ्यो, भर्‍याङमा जुत्ता बजाउँदै तलमाथि गर्नुहुन्थ्यो, दारा किट्तै आफ्नो कपाल आफैं भुत्ल्याउनुहुन्थ्यो, तर अन्ततः काकीको कुरा मान्न बाध्य हुनुहुन्थ्यो ।

उहाँहरूकी एउटी छोरी थिई— ममताबाई । हरिलाल काका उसको बिहा आफ्नो साथीको उच्च शिक्षित छोरासँग गरिदिन चाहनुहुन्थ्यो र उसलाई वचन पनि दिइसक्नुभएको थियो । कमला काकीको जोड भने खासै नपढेको तर माइतीतिरबाट नाता पर्ने अर्को केटामा थियो । दुवै जना आफ्नो कुरामा अडिग हुनुहुन्थ्यो । महीनौंसम्म सल्लाह नमिलेपछि एक दिन काकाले घोषणा गर्नुभएछ, ‘तँ जेसुकै भन्, म छोरीको बिहा मैले भनेकै ठाउँमा गरिदिन्छु ।’ काकीले सधैं झैं फकाउने, ठुस्किने, घुर्क्याउने सारा उपाय अपनाउँदा पनि काकाले वास्ता गर्नुभएनछ । त्यसपछि काकीले आफ्नो ब्रह्मास्त्र प्रयोग गर्नुभयो— खान छोडेर बसिदिनुभयो । अब काकालाई आपत पर्‍यो । जति गाली गरे पनि काकीलाई फरक नपर्ने, कुटौं–पिटौं भने अरूले थाहा पाउलान् र आफ्नै इज्जत जाला भन्ने डर । तीन दिनसम्म त ‘नखाए नखा, छोरी त मैले भनेकै केटालाई दिन्छु’ भनेर अडिनुभयो । तर चौथो दिन काकी भोकले बेहोश भएर लडेपछि उहाँले हार मान्नुभयो । काकीकै जीत भयो ।

यस्तो चटक कमला काकी पहिले पनि गरिरहनुहुन्थ्यो, तर यही घटनाले मेरो ज्ञानचक्षु खुल्यो र मैले अनशनलाई आफ्नो माग पूरा गराउने सबैभन्दा ठूलो हतियार बनाउने निर्णय गरें । यसका लागि मेरो गुरु र प्रेरणास्रोत कमला काकी नै हुनुहुन्छ । म उहाँलाई र उहाँ मार्फत समस्त मातृजातिलाई शत–शत प्रणाम गर्छु । सत्याग्रहका नाममा गरिने धर्ना, प्रदर्शन आदि सेरोफेरोका गतिविधि मात्र हुन्— यसको केन्द्रविन्दु त आमरण अनशन नै हो । मलाई लाग्छ, पछि गएर मानिसले ‘सत्याग्रह’ भन्दा यसैलाई बुझ्नेछन् । यो ब्रहृमास्त्र आजसम्म कहिल्यै असफल भएको छैन ।

यसैसँग जोडिएको अर्को घटना उल्लेख नगर्ने हो भने सत्याग्रहको चर्चा अधूरो हुनेछ । कमला काकीको बहादुरीको बयान सुनेपछि रामु धोबीकी जोई जानकीले पनि उहाँको तरकीब आजमाइश गर्ने विचार गरिछ । नयाँ सारी किनिदे भन्दा रामुले दुई महीनादेखि टेरपुच्छर लगाएको रहेनछ । एक दिन जानकीले त्यसैलाई निहुँ बनाएर खाना खान छोडिछ । रामु, ‘नखाए मर् त’ भन्दै पाकेको खाएर सुतेछ । ऊ पाँच दिन अनशन बसिछ, तर पार लागेनछ । ‘नखाएर मलाई घुर्क्याउने ?’ भन्दै रामु हरेक दिन लात्तैलात्ताले भकुर्दो रहेछ । ऊ कंकलाशब्द गरेर रुँदी रहिछ । छिमेकीहरू तमाशा हेर्न बराम लाग्दा रहेछन् । तर रामुलाई त्यसको के मतलब ? केही नलागेपछि जानकीले छैटौं दिन रुँदै अनशन तोडिछ ।

यसबाट मैले के बुझें भने, जो अलिकति सभ्य छ र लोकलाजको डर मान्छ, सत्याग्रहको हतियार उसका सामु मात्र काम लाग्छ । जो असभ्य छ, क्रूर र निर्लज्ज छ, उसका सामु सत्याग्रह गर्नु भनेको आफ्नो दुर्भाग्य आफैं निम्त्याउनु हो । अहिले जर्मनीमा हिटलर र रूसमा स्टालिनको शासन छ । त्यहाँ सत्याग्रहले काम गर्छ त ? गर्दैन । किनभने ती रामु धोबी जस्तै हुन् । भारतमा चाहिं यसले काम गर्छ । किनभने अंग्रेज भनेका हरिदास काका जस्तै हुन् ।

पत्रमा तिमीले सत्याग्रहसँग जोडिएका केही गम्भीर नैतिक पक्षबारे पनि प्रश्न उठाएका रहेछौ । तिम्रा प्रश्न जायज छन्, तिनको उत्तर पछि कुनै वेला दिउँला । आजलाई यत्तिमा विदा लिन्छु ।

आशीर्वादका साथ

— एमके गान्धी 

प्रकाशित : चैत्र १४, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?