कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'लङ कोभिड' मा खोप उपयोगी !

शेरबहादुर पुन

काठमाडौँ — झन्डै पाँच महिना अगाडि पहिलो पटक मैले 'पोष्ट एक्युट कोभिड-१९' अर्थात्  'लङ कोभिड' को बिरामी भेटेको थिएँ र त्यसपछि कोरोना उपचार पश्चात वा पीसीआर निगेटिभ भएपछि पनि केहीमा 'लङ कोभिड' को समस्या देखिँदै र थपिँदै आइरहेको छ । नेपालमा 'लङ कोभिड' भएकाहरुको यकिन तथ्यांक आउन केहि समय अझै कुर्नुपर्ने हुन्छ । 'लङ कोभिड' सम्बन्धी अनुभव समेटेर नेपालमा पहिलो पटक पाँच महिना अगाडि जानकारी/खोजमुलक लेख पनि प्रकाशित गरेको थिएँ ।

'लङ कोभिड' मा खोप उपयोगी !

नेपालमा विशेषत: पहिलो लकडाउन सकिए लगतै लक्षणसहितको संक्रमित देखिन सुरु भएपछि, संक्रमणमुक्त भनिएका वा अस्पतालबाट डिस्चार्ज भएका मध्ये केहीमा स्वास्थ समस्याले निरन्तर नछाडेको अनुभव सुनिन सुरु भएको थियो । नेपालभन्दा केहि महिना अगाडि कोरोनाको महामारीबाट गुज्रेका विकसित पश्चिमा देशहरुबाट पनि यस्ता स्वास्थ समस्याहरुको बारेमा जानकारी आउने क्रम सुरु भैसकेको थियो । त्यसले मेरो ध्यानाकृष्ट गरेको थियो । तर ती विकशित देशहरुका अनुसन्धानकर्ता/चिकित्सकहरु पनि 'लङ कोभिड' किन देखियो/देखिँदै छ र यसको सटिक उपचारको बारेमा स्पष्ट वा एकमत भएको भने देखिँदैन।

अर्थात् यस सम्बन्धित खोज अनुसन्धानहरु जारी नै छन् । हाल पनि 'लङ कोभिड' को परिभाषालाई लिएर एक मत भएको त पाइँदैन । तर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, अमेरिका तथा इन्फेक्सिएस डिजिज सोसाइटी अफ अमेरिकाले उल्लेख गरे अनुसार कोरोनाको प्रारम्भिक उपचार पश्चात पनि स्वस्थ समस्याले निरन्तरता पाएमा त्यसलाई 'लङ कोभिड' भनिएको छ । यस्ता लक्षणहरु सामान्यदेखि कडा प्रकृतिको हुने भनिएको छ ।

नेपालमा 'लङ कोभिड' देखिएकाहरुमा मुख्यतः थकान, मुटुको चालमा अनियमिता, छाती भारी हुने, श्वास प्रश्वासमा अवरोध, अनिद्रा, जिउ तातेको अनुभव गर्नु, घरी घरी बिर्सिने आदि जस्ता स्वास्थ समस्याको रुपमा देखिएका छन् । त्यस्तै कोरोना संक्रमण मुक्त भएपछि कसैकसैलाई छालामा स-साना बिमिरा पनि देखिने गरेका अनुभवहरु बताउने गरेका छन् । त्यस्तै मनोवैज्ञानिक वा मानसिक समस्याहरुले पनि उपचार पश्चात व्यापकता पाहेको देखिन्छ । नेपालमा 'लङ कोभिड' समस्या भएकाहरु बढ्दै गएको भएतापनि यस बारेमा गम्भीर तथा सार्वजनिक रुपमा बहस भैसकेको भने देखिँदैन ।

आ-आफ्ना समस्याहरु लिएर पूर्व संक्रमितहरु सम्बन्धित विशेषज्ञहरुकोमा जाने गरेको भएपनि समाधान नभएको/नहुने गरेको गुनासो गर्ने गरेका छन् । वास्तवमा, यस्तो अवस्थामा कहाँ र कोसँग शारीरिक अथवा मानसिक समस्याहरुको बारेमा उपचार/परामर्श लिने भन्नेमा अन्यौलता देखिन्छ । विभिन्न देशहरुमा 'लङ कोभिड' को समस्या भएका केहीलाई अक्सिजनको सहायता लिनु परेका वा आईसीयूमा उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अनुसन्धानहरुमा उल्लेख गरेको पाइन्छ । तर नेपालमा भने 'लङ कोभिड' कै कारणले जटिल अवस्था सिर्जना भई अक्सिजनको नै सहायता लिनु परेको वा आईसीयूमा नै भर्ना गरी उपचार गर्नु परेको अधिकारिक तथ्यांक वा जानकारीहरु छैन । यद्यपी आगामी दिनहरुमा यस्तो अवस्था आउँदैन भनेर अहिले नै ठोकुवा भने गर्न सकिँदैन । यसको लागि 'लङ कोभिड' समस्या भएकाहरुलाई निरन्तर महिनौ‌ निगरानी गर्नुपर्ने हुन्छ।

'लङ कोभिड' भएकाहरुको समस्यासँग सम्बन्धित अंगको आवश्यकता अनुसार शारीरिक तथा प्रयोगशाला परिक्षण गर्ने गरिन्छ तर अधिकांशमा खासै समस्याहरु देखिने गरेको पाइँदैन । जस्तै, छाती भारी वा कस्सिएको वा निरन्तर खोकी लागेको अवस्थामा एक्स-रे लगायतका न्यूनतम थप अरु परीक्षणहरु गर्दा खासै समस्याहरु नदेखिने गर्दा निश्चित औषधि पनि दिने गरिँदैन । तर स्वास्थ समस्याले भने निरन्तर दुःख दिने गरेको उनीहरुको अनुभव छ । यस्तो अवस्थामा दैनिक कार्य क्षमता तथा मनोबलमा तीव्र ह्रास आउने गरेको देखिन्छ । यस्ता समस्या भएकाहरु आफ्नो पूर्ववत काममा फर्कनलाई ठूलो संघर्ष गर्नु परिरहेको अनुभवहरु सुनाउँछन् ।

औसतमा १० देखि ३० प्रतिशतसम्ममा उपचार पश्चात पनि 'लङ कोभिड' को समस्याहरु देखिने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । पुरुषभन्दा महिलामा 'लङ कोभिड' को समस्याहरु देखिने गरेको छ । नेपालमा भने कोभिड-१९ को उपचार पश्चात देखिने 'लङ कोभिड' को प्रभावको बारेमा विस्तृत अनुसन्धानहरु प्रकाशित हुन बाँकी नै छ ।

'लङ कोभिड' हुनुका यकिन कारणहरु अहिलेसम्म थाहा छैन । तसर्थ थप अध्ययनहरु जारी छन् । तर विशेषज्ञहरुले सम्भावनाका केहि तर्कहरु अगाडि सारेका देखिन्छन् । विभिन्न वैज्ञानिकहरुमध्ये याले विश्वविद्यालयका इपीडेमीयोलोजी तथा इमुनोलोजीका प्रोफेसर आकिको इवासाकीको थेओरी बढी बहसमा आएको देखिन्छ । केहि व्यक्तिहरुको शरीरमा उपचार पश्चात पनि भाइरसको केहि अंश बाँकी रहिरहँदा निरन्तर स्वास्थमा समस्या देखिरहेको हुन सक्दछ ।

खोपले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गराई एन्टीबडी विकास गरी शरीरमा बाँकी रहेको भाइरसको अंशलाई नष्ट वा शरीरबाट निष्काशन गरी दिँदा 'लङ कोभिड' को समस्या समाधान हुनुपर्दछ भन्ने तर्क गरिरहेको पाइन्छ । तर, यो बाहेक अरु सिद्धान्तहरुको पनि सम्भावनाहरु व्यक्त गरिँदै आइरहेका छन् । सम्भावित सिद्धान्तहरु जे जस्तो गरिँदै आइरहेको भएपनि यसको कारणको खोजि निरन्तर हुनुपर्दछ । अनि मात्र यसको उपचारको दिर्घकालिन उपाय पहिल्याउन सहज हुनेछ ।

अन्तमा, प्राणघातक कोरोनाको सफल उपचार पश्चात जो कोहिले सन्तोषको सास लिने गर्दछौ र यो स्वाभाविक पनि हो । तर ती मध्ये केहीलाई कोभिड-१९ को 'दोस्रो चरण' को स्वास्थ समस्याले निरन्तर पछ्याई रहेको देखिन्छ । यसको सटिक समाधान नहुँदा मानिसमा थप खिन्नताले गाँजेको पाइन्छ । यो नेपालमा मात्र नभई विश्वमा नै देखिँदै आइरहेको तर अप्रत्याशित पोष्ट एक्युट कोभिड-१९ को स्वास्थ समस्या हो । हाल यसको लागि लक्षणहरुको आधारमा उपचार वा परामर्श दिनु बाहेक अर्को विकल्प/विशेष औषधिहरु छैन । तर केहि दिन यता अन्तर्राष्ट्रिय समाचारहरुमा केहीले कोरोनाविरुद्धको भ्याक्सिन लगाउदा 'लङ कोभिड' को समस्याहरु हराएको अनुभवहरु सुनाउने/साट्ने क्रम बढ्दै गइरहेको देखिन्छ, भने केहि प्रारम्भिक अनुसन्धानले पनि भ्याक्सिन लगाएपछि केहीमा 'लङ कोभिड' को समस्यामा क्रमिक सुधार हुँदै गएको नतिजा प्रकाशन गरेको छ । यो अनुसन्धानकर्ताहरुको लागि नयाँ र थप चासोको विषय बनेको छ ।

भ्याक्सिन प्रतिरक्षामा मात्र होइन 'लङ कोभिड' समस्यामा उपचारको भूमिकामा पनि देखिन सक्ने सम्भावना देखिन्छ । यद्यपी थप अनुसन्धानहरु नभई अहिले नै पूर्ण सहमति जनाउन भने हतार हुनेछ । तर पनि 'लङ कोभिड' समस्याको अर्को विकल्प नहुँदा यसलाई आशाको किरणको रुपमा लिन भने सकिनेछ । तपाईंहरुमध्ये कसैलाई कोभिड-१९ को उपचार पश्चात 'लङ कोभिड' को समस्याले जेलिएर बसिरहनु भएको छ ? यदी, छ भने भ्याक्सिन लगाएपछि कस्तो महसुस/अनुभव गर्नु हुँदैछ ?

प्रकाशित : चैत्र ११, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×