कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषा प्रयोगले घायल छौं

भाषा प्रयोगमा केवल व्याकरणका बहसभन्दा अलग एउटा अर्को शक्तिशाली पाटो हुन्छ । त्यो हो, खास जीवनमा प्रयोग हुने भाषा।
अभि सुवेदी

भाषाका अप्रिय र भ्रामक प्रयोग आज मानिसका निम्ति ठूला समस्या भएका छन् । यो समस्या वैश्विक भए पनि म यस छोटो लेखमा नेपालमा भाषाका अप्रिय, अभद्र, अवाञ्छित र अनर्गल प्रयोगले अहिले हामी नेपालका मानिस घायल भएका छौं भन्ने विषयमाथि चर्चा गर्न चाहन्छु ।

भाषा प्रयोगले घायल छौं

एक वर्षदेखि कोभिडको महामारीले सबैलाई भौतिक र मानिसिक रूपले थला पारेको छ । मानिसका अवस्था नाजुक भएका छन् । मनहरू थिल्थिलो भएका छन् । दस–एघार महिनादेखि भाषा एकाध दर्जन शब्द र केही भयाक्रान्त अवस्था बुझाउने वाक्यहरूमा खुम्चिएको छ । संक्रमितको संख्या, तिनको अवस्था, साधारण र सघन उपचार, खुला नाकामा अवरोध, पोकापन्तुरा बोकेर फेरि फर्किए भारततिरै, सघन र साधारण उपचार, मृत्यु हुनेको संख्या, खाली खुट्टाले पैदलै यति दिन हिँडेर, चामल सिद्धिएर मृत्यु, बलात्कार र हत्या, अनि घूसखोरी, कमिसन, ठेकेदारले बीचैमा काम छोडिदिएर अलपत्र, औषधि र अरू संयन्त्र ल्याउनेलाई कमिसन खाएर काम दिएकाजस्ता केही उदाहरण मात्र हुन् ।

यीभन्दा अझ दारुण भाषिक प्रयोग भए । मेरा एक जना विद्यार्थीले थेसिसको प्रयोजनका निम्ति भेला पारिरहेका छन् यस्ता भाषिका । यस्तो बेलामा ‘आर्तहरूका चहर्‍याइरहेका घाउ’ लाई निको पार्ने जिम्मा कसको ? स्वाभाविक रूपमा राज्यको, सरकारको हो भन्ने मानिन्छ । नेपालमा ठूलो कमिनिस्ट दलको सरकार, भएकोले उनीहरूको जिम्मेवारी सबभन्दा ठूलो हो भन्ने मैले मानेको हुँ ।

कम्तीमा पनि सरल भाषामा आफूले गरेका कामको व्याख्या गरिदिने, भएका स्रोतसाधनको पारदर्शी प्रयोग गरेर नागरिकलाई विश्वास दिलाउने, मनमा शान्ति हुने, राम्रा आशा जगाउने र काम गरिदिने भाषिकाको प्रयोग गर्ने काम हो उनीहरूको । विरोधी दलको पनि त्यही दायित्व हो । बहुमतमा छैनौं, सरकारमा छैनौं भनेर आर्तहरूको घाउमा मलम लाउने र सहयोगका कार्यक्रम गर्ने काम छोड्न विरोधी दललाई मिल्छ र ? नभए कसरी जनताको पार्टी हो भनेर विश्वास दिलाउने ? सधैं सर्वसाधारण जनताको चिन्ता गर्ने, तिनको मानमर्दन भएकोमा आक्रोश पोख्ने बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसको आर्तहरूको घाउ निको पार्ने कामहरू गर्नु/गराउनु कर्तव्य होइन र ?

अर्को अध्याय सुरु भयो । न भूतोः न भविष्यति । धेरै नागरिकले ठूलो मतले सरकार चलाउन र देशमा थिति बसाउन भोट दिएको कमिनिस्ट पार्टी त भित्री शक्ति बाँडफाँडका झगडा गरेर सबै समय एकाध बिल्डिङमा भेला सार्दै बिताएर बस्यो, यस्ता नाजुक समयमा । पछि झगडा बाहिर छताछुल्ल भयो । कोभिड, भोकमरी र बेरोजगारी अनि घूसखोरीका कुचक्रले पीडित मानिसलाई केको मलम लगाउँथे उनीहरूले, अझ झन् झगडा बढ्दै गयो । सरकारमा भएकाहरू लौ यो संसदै चाहिँदैन, अब चुनाव ठोक्ने भनेर निस्के । कमिनिस्टको अर्को समूह अब यसलाई पल्टाउने हो भनेर निस्के । अनि भाषा प्रयोगको कुरा आयो ।

हरेक दिनजसो हरेक फराकिला र साँघुरा थलोमा नारायणहिटीदेखि, टुँडिखेल, चौर, चौबाटा र गल्छिँडा सबैतिर मञ्च ठडिए अनि भित्तामा मार्क्स, लेनिन, स्टालिन र माओका फोटा एकै ठाउँमा टाँगेर ती दुवै समूह भाषण त के भन्नु, गालीगलोजमा उत्रिए । अनि निस्के कहिल्यै नसुनिएका भाषा । म त चकितै परें, गाँठे हो ! गालीगलौजका भाषा त यी प्रसिद्ध नेताहरू कति जान्ने रहेछन्, सीमा नै छैन । तिनका भाषण सुनेर मानिसले वैचारिक विश्वास जगाउने केही कुरा पाएनन् । मनमा शान्ति हुने दुईवटा कुरा पनि त्यहाँ झरेनन् । अलिकता आशा गर्ने वाणी त्यहाँ केही थिएनन् । कोभिडको महामारी र कठोर जीवनले दिएका मनोगत अवस्था भएका, कमजोड मन भएका नागरिक मैले जाने, बुझे, सोधे र सुनेअनुसार चिन्ताग्रस्त भएका छन् । आफ्नै अनुभव पनि जोडेर भन्दै छु । उता कांग्रेसले पनि बीपी, शालीन वाणी भएका किसुनजी, ठाडै बोल्ने तर प्रेमले सत्य कुरा भनिदिने गणेशमानजीका फोटा टाँगेर यदाकदा केही भने । मित्रहरूका कान नपरोस्, म त कांग्रेसका ठुल्ठूला नेताहरूले भाषण गर्दा बोलेको नै बुझ्दिनँ धेरै । अरू माध्यमबाट बुझ्ने र थाहा पाउने गरेको छु ।

संयुक्त आन्दोलनका आह्वानहरू सफल भइरहेका थिएनन् । उता चुनाव आयोगले को दल हुन् भनेर नछुट्ट्याउँदा पूर्वप्रमुख चुनाव आयुक्तहरूले भने उनीहरूको कामै त्यही हो र अनि हो प्रस्थानविन्दु । त्यो नभई चुनाव हुने पनि देखिएन । अनि दलहरूले बाहिर मुख निकालेर कराउने क्रम झन् तीव्र भयो । त्यो भनेको कठोर भाषिकाका उत्पादन र उच्चारण अनि प्रयोग जसले परिस्थितिले चिरिएका मन भएका नागरिकका मनमा झन् पीडा थप्ने मात्रै काम भयो । यस्तो अवस्थामा यी बहिर्मुखी दलका खेलाडीहरूलाई सडकबाट साना ठाउँमा फर्केर छलफल गर, विधिले दिएको काम गर भन्ने न्यायप्रणाली सक्रिय भयो । अदालतले संसद् पुनः स्थापनादेखि लिएर अरू जे निर्णय गर्‍यो, त्यसबाट सबैलाई राम्रो भयो । संसद्मा फर्क अनि राजनैतिक प्रक्रियाबाट समाधान गरभन्दा कसैले पनि हारेनन् । आत्मविवेचना गर्ने अवसर मिल्यो ।

यो निर्णयले हार्‍यौं भन्नेले भन्दा जित्यौं भन्नेले चर्का र किञ्चित अप्रिय भाषा धेरै प्रयोग गरेको सुनियो । शालीनताले काम लिनुपर्नेहरू झन् उत्तेजित भएर बोलेको सुनियो । मेरो आँखामा त त्यो बेला र अहिले पनि इजलासका पाँच जना न्यायमूर्ति र अरू भीमकायदेखि साना काँटीका वकिल र पूर्व न्यायमूर्तिहरू आइरहन्छन् । भर्खरै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरिदिएपछि भाषा उत्पादनमा नयाँ मोड आएको छ । अब सीमित भाषा प्रयोगमा कानुनी लवजहरू जोडिएका छन् ।

माथिका अनुच्छेदमा मनोवैज्ञानिक र ट्रउमा वा अभिघातको विषयको चर्चा भयो । भाषा प्रयोगले ट्रउमा हुने क्रम अहिले विश्वमा व्यापक हुँदै गएको छ । खासगरी राजनीति गर्ने र शासन गर्नेले यो विषयलाई नराम्रो गरी बिगारिदिएका छन् । झूट समाचार वा ‘फेक न्युज’ एक्काइसौं शताब्दीको चरित्र भएको छ । भाषाको यही दुष्प्रयोगका कारणले विश्वको प्रजातन्त्रको शक्ति मानिएको देश अमेरिकामा रिपब्लिकन दल खण्डित हुन सक्ने अवस्थामा पुगेको छ । भाषाको दुष्प्रयोग गर्ने विषय राजनीतिसँग जोडिएपछि त्यसले भयानक परिणाम निकाल्छ । दशकौं खाने अधिनायकवादको संस्कार र अभ्यास सिर्जना गर्छ । ट्रउमा भएका नागरिक सिर्जना गर्छ, तर ती देखिनसम्म पाउँदैनन् । भाषाबाट पीडा वा ट्रउमाको सिर्जना हुन्छ भन्ने कुरा नेपालका राजनैतिक दलहरूले बुझ्नु नै पर्छ ।

सिद्धान्तवादीहरू भन्छन्– ठाउँ पनि नियन्त्रण गर्ने अनि समय पनि नियन्त्रण गर्ने धारणाले भाषाको प्रयोग हुनु अधिनायकवादको लक्षण हो । अहिले यो ठाउँ र अवस्थामा पनि मेरै कुरा ठीक, हिजोको इतिहास पनि मेरै ठीक, भोलि जे गरिन्छ गरिन्छ भन्ने धारणाको अहिले बढी उन्माद देखियो राजनीतिमा । नेपाली दलहरूको उत्पत्ति र विकास ठीक किसिमले भएको छ । धेरै नकारात्मक भएर हेर्नु हुँदैन । तर यिनीहरू अहिले जुन किसिमको प्रवृत्ति र होडबाजीमा भाषा प्रयोग गर्दै छन्, त्यसले अशुभको संकेत गर्छ । अलग विचार राख्न भाषाको निर्मम प्रयोग गर्दा भन्ने र सुन्ने दुवैका सम्मानमा चोट लाग्छ । मलाई लाग्छ, पीडा र ट्रउमाले आक्रान्त नागरिकहरूले सुन्ने दलहरूको यस्तो अन्धाधुन्ध भाषा प्रयोग गलत हो । भन्ने वा लेख्नेलाई केही तुष्टि होला तर भाषाले आफैं भन्छ– त्यो आवेग हो जसले भाषा प्रयोगमा सिर्जनशीलता हराउँदै गएको देखाउँछ ।

अलिक अर्कै प्रसंगमा, भाषा प्रयोगको लेख्य पाटोमाथि मात्रै विचार गरिआएका हौं हामीहरू । प्रज्ञा प्रतिष्ठानले निकालेको एउटा शब्दकोशले हिज्जेमा अर्कै प्रयोग गरिदियो जुन पाठ्यपुस्तकमा पनि प्रयोग गरियो भनेर त्यसको खारेजी र पहिलेकै प्रयोग गर्ने विषयमा अनेकौं बहस समूह बनिए । त्यसमा एउटालाई भाषाशास्त्री शरच्चन्द्र्र वस्तीले नेतृत्व गरेका थिए । त्यसमा कमलमणि दीक्षित, तारानाथ शर्मा, बालकृष्ण पोखरेल, माधव पोखरेल, खगेन्द्र संग्रौला, गोविन्द भट्टराईजस्ता भाषाशास्त्री र लेखक थिए । यो हिज्जेमा मोटो ‘शहीद’ पातलो किन भएकोदेखि लिएर विभक्ति किन छुट्ट्याउने भन्ने विषय पनि थिए । तारानाथ दाइले त लेखै लेखेर भने– यो हिन्दीमा जस्तो विभक्ति छुट्ट्याउने कुरामा भारतले भित्रभित्रै पैसा दिएको छ । बहस हो, रमाइलो थियो । शरच्चन्द्र्र भाइले किताब पनि लेखे । धेरै थिति बसाए ।

भाषा प्रयोगमा केवल व्याकरणका बहसभन्दा अलग एउटा अर्को शक्तिशाली पाटो हुन्छ । त्यो हो, खास जीवनमा प्रयोग हुने भाषा, अझ भन्दा, ऊर्जावान् राजनीति जनिन प्रयोगको भाषा । भारत स्वतन्त्र भएपछि हिन्दीमा फटाफट मानक व्याकरण र प्रयोगका काम भइरहेका थिए भने उता स्वतन्त्रता संग्राममा ट्रउमा भएका मनहरूलाई महात्मा गान्धीका सरल, सोझा वाक्य गठन र अहिंसात्मक भाषिक प्रयोग र चेतनाको विस्तारले मुक्ति दिइरहेका थिए । कस्ता महान् नेता हुन् त ती ! नेपालमा युद्धले आक्रान्त मानिसका पीडा पनि राजनीतिसँगै जोडिएका हुनाले राजनीतिकै ‘फोकस’ गरेर समाधान निकाल्नुपर्छ । शान्ति र सत्यनिरुपणका कुरा छन् । तर विडम्बना, अहिलेको अवस्थामा उल्टै भाषिक प्रयोगका असंवेदनशीलताले घायल भएका छौं ।

प्रकाशित : फाल्गुन २९, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?