भाषा प्रयोगले घायल छौं- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषा प्रयोगले घायल छौं

भाषा प्रयोगमा केवल व्याकरणका बहसभन्दा अलग एउटा अर्को शक्तिशाली पाटो हुन्छ । त्यो हो, खास जीवनमा प्रयोग हुने भाषा।
अभि सुवेदी

भाषाका अप्रिय र भ्रामक प्रयोग आज मानिसका निम्ति ठूला समस्या भएका छन् । यो समस्या वैश्विक भए पनि म यस छोटो लेखमा नेपालमा भाषाका अप्रिय, अभद्र, अवाञ्छित र अनर्गल प्रयोगले अहिले हामी नेपालका मानिस घायल भएका छौं भन्ने विषयमाथि चर्चा गर्न चाहन्छु ।

एक वर्षदेखि कोभिडको महामारीले सबैलाई भौतिक र मानिसिक रूपले थला पारेको छ । मानिसका अवस्था नाजुक भएका छन् । मनहरू थिल्थिलो भएका छन् । दस–एघार महिनादेखि भाषा एकाध दर्जन शब्द र केही भयाक्रान्त अवस्था बुझाउने वाक्यहरूमा खुम्चिएको छ । संक्रमितको संख्या, तिनको अवस्था, साधारण र सघन उपचार, खुला नाकामा अवरोध, पोकापन्तुरा बोकेर फेरि फर्किए भारततिरै, सघन र साधारण उपचार, मृत्यु हुनेको संख्या, खाली खुट्टाले पैदलै यति दिन हिँडेर, चामल सिद्धिएर मृत्यु, बलात्कार र हत्या, अनि घूसखोरी, कमिसन, ठेकेदारले बीचैमा काम छोडिदिएर अलपत्र, औषधि र अरू संयन्त्र ल्याउनेलाई कमिसन खाएर काम दिएकाजस्ता केही उदाहरण मात्र हुन् ।

यीभन्दा अझ दारुण भाषिक प्रयोग भए । मेरा एक जना विद्यार्थीले थेसिसको प्रयोजनका निम्ति भेला पारिरहेका छन् यस्ता भाषिका । यस्तो बेलामा ‘आर्तहरूका चहर्‍याइरहेका घाउ’ लाई निको पार्ने जिम्मा कसको ? स्वाभाविक रूपमा राज्यको, सरकारको हो भन्ने मानिन्छ । नेपालमा ठूलो कमिनिस्ट दलको सरकार, भएकोले उनीहरूको जिम्मेवारी सबभन्दा ठूलो हो भन्ने मैले मानेको हुँ ।

कम्तीमा पनि सरल भाषामा आफूले गरेका कामको व्याख्या गरिदिने, भएका स्रोतसाधनको पारदर्शी प्रयोग गरेर नागरिकलाई विश्वास दिलाउने, मनमा शान्ति हुने, राम्रा आशा जगाउने र काम गरिदिने भाषिकाको प्रयोग गर्ने काम हो उनीहरूको । विरोधी दलको पनि त्यही दायित्व हो । बहुमतमा छैनौं, सरकारमा छैनौं भनेर आर्तहरूको घाउमा मलम लाउने र सहयोगका कार्यक्रम गर्ने काम छोड्न विरोधी दललाई मिल्छ र ? नभए कसरी जनताको पार्टी हो भनेर विश्वास दिलाउने ? सधैं सर्वसाधारण जनताको चिन्ता गर्ने, तिनको मानमर्दन भएकोमा आक्रोश पोख्ने बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसको आर्तहरूको घाउ निको पार्ने कामहरू गर्नु/गराउनु कर्तव्य होइन र ?

अर्को अध्याय सुरु भयो । न भूतोः न भविष्यति । धेरै नागरिकले ठूलो मतले सरकार चलाउन र देशमा थिति बसाउन भोट दिएको कमिनिस्ट पार्टी त भित्री शक्ति बाँडफाँडका झगडा गरेर सबै समय एकाध बिल्डिङमा भेला सार्दै बिताएर बस्यो, यस्ता नाजुक समयमा । पछि झगडा बाहिर छताछुल्ल भयो । कोभिड, भोकमरी र बेरोजगारी अनि घूसखोरीका कुचक्रले पीडित मानिसलाई केको मलम लगाउँथे उनीहरूले, अझ झन् झगडा बढ्दै गयो । सरकारमा भएकाहरू लौ यो संसदै चाहिँदैन, अब चुनाव ठोक्ने भनेर निस्के । कमिनिस्टको अर्को समूह अब यसलाई पल्टाउने हो भनेर निस्के । अनि भाषा प्रयोगको कुरा आयो ।

हरेक दिनजसो हरेक फराकिला र साँघुरा थलोमा नारायणहिटीदेखि, टुँडिखेल, चौर, चौबाटा र गल्छिँडा सबैतिर मञ्च ठडिए अनि भित्तामा मार्क्स, लेनिन, स्टालिन र माओका फोटा एकै ठाउँमा टाँगेर ती दुवै समूह भाषण त के भन्नु, गालीगलोजमा उत्रिए । अनि निस्के कहिल्यै नसुनिएका भाषा । म त चकितै परें, गाँठे हो ! गालीगलौजका भाषा त यी प्रसिद्ध नेताहरू कति जान्ने रहेछन्, सीमा नै छैन । तिनका भाषण सुनेर मानिसले वैचारिक विश्वास जगाउने केही कुरा पाएनन् । मनमा शान्ति हुने दुईवटा कुरा पनि त्यहाँ झरेनन् । अलिकता आशा गर्ने वाणी त्यहाँ केही थिएनन् । कोभिडको महामारी र कठोर जीवनले दिएका मनोगत अवस्था भएका, कमजोड मन भएका नागरिक मैले जाने, बुझे, सोधे र सुनेअनुसार चिन्ताग्रस्त भएका छन् । आफ्नै अनुभव पनि जोडेर भन्दै छु । उता कांग्रेसले पनि बीपी, शालीन वाणी भएका किसुनजी, ठाडै बोल्ने तर प्रेमले सत्य कुरा भनिदिने गणेशमानजीका फोटा टाँगेर यदाकदा केही भने । मित्रहरूका कान नपरोस्, म त कांग्रेसका ठुल्ठूला नेताहरूले भाषण गर्दा बोलेको नै बुझ्दिनँ धेरै । अरू माध्यमबाट बुझ्ने र थाहा पाउने गरेको छु ।

संयुक्त आन्दोलनका आह्वानहरू सफल भइरहेका थिएनन् । उता चुनाव आयोगले को दल हुन् भनेर नछुट्ट्याउँदा पूर्वप्रमुख चुनाव आयुक्तहरूले भने उनीहरूको कामै त्यही हो र अनि हो प्रस्थानविन्दु । त्यो नभई चुनाव हुने पनि देखिएन । अनि दलहरूले बाहिर मुख निकालेर कराउने क्रम झन् तीव्र भयो । त्यो भनेको कठोर भाषिकाका उत्पादन र उच्चारण अनि प्रयोग जसले परिस्थितिले चिरिएका मन भएका नागरिकका मनमा झन् पीडा थप्ने मात्रै काम भयो । यस्तो अवस्थामा यी बहिर्मुखी दलका खेलाडीहरूलाई सडकबाट साना ठाउँमा फर्केर छलफल गर, विधिले दिएको काम गर भन्ने न्यायप्रणाली सक्रिय भयो । अदालतले संसद् पुनः स्थापनादेखि लिएर अरू जे निर्णय गर्‍यो, त्यसबाट सबैलाई राम्रो भयो । संसद्मा फर्क अनि राजनैतिक प्रक्रियाबाट समाधान गरभन्दा कसैले पनि हारेनन् । आत्मविवेचना गर्ने अवसर मिल्यो ।

यो निर्णयले हार्‍यौं भन्नेले भन्दा जित्यौं भन्नेले चर्का र किञ्चित अप्रिय भाषा धेरै प्रयोग गरेको सुनियो । शालीनताले काम लिनुपर्नेहरू झन् उत्तेजित भएर बोलेको सुनियो । मेरो आँखामा त त्यो बेला र अहिले पनि इजलासका पाँच जना न्यायमूर्ति र अरू भीमकायदेखि साना काँटीका वकिल र पूर्व न्यायमूर्तिहरू आइरहन्छन् । भर्खरै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरिदिएपछि भाषा उत्पादनमा नयाँ मोड आएको छ । अब सीमित भाषा प्रयोगमा कानुनी लवजहरू जोडिएका छन् ।

माथिका अनुच्छेदमा मनोवैज्ञानिक र ट्रउमा वा अभिघातको विषयको चर्चा भयो । भाषा प्रयोगले ट्रउमा हुने क्रम अहिले विश्वमा व्यापक हुँदै गएको छ । खासगरी राजनीति गर्ने र शासन गर्नेले यो विषयलाई नराम्रो गरी बिगारिदिएका छन् । झूट समाचार वा ‘फेक न्युज’ एक्काइसौं शताब्दीको चरित्र भएको छ । भाषाको यही दुष्प्रयोगका कारणले विश्वको प्रजातन्त्रको शक्ति मानिएको देश अमेरिकामा रिपब्लिकन दल खण्डित हुन सक्ने अवस्थामा पुगेको छ । भाषाको दुष्प्रयोग गर्ने विषय राजनीतिसँग जोडिएपछि त्यसले भयानक परिणाम निकाल्छ । दशकौं खाने अधिनायकवादको संस्कार र अभ्यास सिर्जना गर्छ । ट्रउमा भएका नागरिक सिर्जना गर्छ, तर ती देखिनसम्म पाउँदैनन् । भाषाबाट पीडा वा ट्रउमाको सिर्जना हुन्छ भन्ने कुरा नेपालका राजनैतिक दलहरूले बुझ्नु नै पर्छ ।

सिद्धान्तवादीहरू भन्छन्– ठाउँ पनि नियन्त्रण गर्ने अनि समय पनि नियन्त्रण गर्ने धारणाले भाषाको प्रयोग हुनु अधिनायकवादको लक्षण हो । अहिले यो ठाउँ र अवस्थामा पनि मेरै कुरा ठीक, हिजोको इतिहास पनि मेरै ठीक, भोलि जे गरिन्छ गरिन्छ भन्ने धारणाको अहिले बढी उन्माद देखियो राजनीतिमा । नेपाली दलहरूको उत्पत्ति र विकास ठीक किसिमले भएको छ । धेरै नकारात्मक भएर हेर्नु हुँदैन । तर यिनीहरू अहिले जुन किसिमको प्रवृत्ति र होडबाजीमा भाषा प्रयोग गर्दै छन्, त्यसले अशुभको संकेत गर्छ । अलग विचार राख्न भाषाको निर्मम प्रयोग गर्दा भन्ने र सुन्ने दुवैका सम्मानमा चोट लाग्छ । मलाई लाग्छ, पीडा र ट्रउमाले आक्रान्त नागरिकहरूले सुन्ने दलहरूको यस्तो अन्धाधुन्ध भाषा प्रयोग गलत हो । भन्ने वा लेख्नेलाई केही तुष्टि होला तर भाषाले आफैं भन्छ– त्यो आवेग हो जसले भाषा प्रयोगमा सिर्जनशीलता हराउँदै गएको देखाउँछ ।

अलिक अर्कै प्रसंगमा, भाषा प्रयोगको लेख्य पाटोमाथि मात्रै विचार गरिआएका हौं हामीहरू । प्रज्ञा प्रतिष्ठानले निकालेको एउटा शब्दकोशले हिज्जेमा अर्कै प्रयोग गरिदियो जुन पाठ्यपुस्तकमा पनि प्रयोग गरियो भनेर त्यसको खारेजी र पहिलेकै प्रयोग गर्ने विषयमा अनेकौं बहस समूह बनिए । त्यसमा एउटालाई भाषाशास्त्री शरच्चन्द्र्र वस्तीले नेतृत्व गरेका थिए । त्यसमा कमलमणि दीक्षित, तारानाथ शर्मा, बालकृष्ण पोखरेल, माधव पोखरेल, खगेन्द्र संग्रौला, गोविन्द भट्टराईजस्ता भाषाशास्त्री र लेखक थिए । यो हिज्जेमा मोटो ‘शहीद’ पातलो किन भएकोदेखि लिएर विभक्ति किन छुट्ट्याउने भन्ने विषय पनि थिए । तारानाथ दाइले त लेखै लेखेर भने– यो हिन्दीमा जस्तो विभक्ति छुट्ट्याउने कुरामा भारतले भित्रभित्रै पैसा दिएको छ । बहस हो, रमाइलो थियो । शरच्चन्द्र्र भाइले किताब पनि लेखे । धेरै थिति बसाए ।

भाषा प्रयोगमा केवल व्याकरणका बहसभन्दा अलग एउटा अर्को शक्तिशाली पाटो हुन्छ । त्यो हो, खास जीवनमा प्रयोग हुने भाषा, अझ भन्दा, ऊर्जावान् राजनीति जनिन प्रयोगको भाषा । भारत स्वतन्त्र भएपछि हिन्दीमा फटाफट मानक व्याकरण र प्रयोगका काम भइरहेका थिए भने उता स्वतन्त्रता संग्राममा ट्रउमा भएका मनहरूलाई महात्मा गान्धीका सरल, सोझा वाक्य गठन र अहिंसात्मक भाषिक प्रयोग र चेतनाको विस्तारले मुक्ति दिइरहेका थिए । कस्ता महान् नेता हुन् त ती ! नेपालमा युद्धले आक्रान्त मानिसका पीडा पनि राजनीतिसँगै जोडिएका हुनाले राजनीतिकै ‘फोकस’ गरेर समाधान निकाल्नुपर्छ । शान्ति र सत्यनिरुपणका कुरा छन् । तर विडम्बना, अहिलेको अवस्थामा उल्टै भाषिक प्रयोगका असंवेदनशीलताले घायल भएका छौं ।

प्रकाशित : फाल्गुन २९, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

थला परेको नुनथलो

कुनै जुगको झिलीमिली ठोरी न आज बचेको छ, न त नुनथलो । ठोरी गुमनाम छ । न यहाँ नुन बोक्नेको लर्को लाग्छ न त भिखनाठोरीमा रेल गुड्छ ।
नवीन विभास

प्रधानमन्त्री केपी ओलीले ‘मिथ’ का राम नेपालमा जन्मेको दाबीसँगै गुमनाम ठोरी सञ्चारमाध्यममा (दुई/चार दिन नै सही) झुलुक्क झुल्केको सत्य हो । योभन्दा पनि सत्य हो, भारतमा मोदीले जसरी नेपालमा ओलीले गरेको ‘राम’ राजनीति । त्यत्ति नै सत्य हो, नुन बोक्ने हटारु लर्को लाग्ने कुनै जुगको नुनथलो ठोरी हो । भिखनाठोरीमा गुड्ने रेल गीत भएर फुलेको नि सत्य हो–

झुलुक्कै हेर्दा टलक्कैमा टल्किरहने हिमालबाट

खोलो झर्‍यो बेसी सललल

नदेखे माया के हो कसो देखे माया झलमल

तोरीको तेल, ठोरीको रेल,

तिम्रो हाम्रो साली, अब छैन बेल,

गयो अब हाम्रो दिन

सलल रेलमा है, घरजम गर्नुछ बेलैमा (मै नाचेँ छमछम्ती, अमृत गुरुङ, नेपथ्य ब्यान्ड) ।

यति ‘सत्य’ वाल कुनै जुगको झिलीमिली ठोरी न आज बचेको छ न त नुनथलो । न ठोरीमा नुन बोक्नेको लर्को लाग्छ न त भिखनाठोरीमा रेल गुड्छ । हटारुले छाडेको बास ठोरी अचेल ‘सिंहदरबार उपेक्षा कोरोना’ ले न गरिखाने न मरिजाने ‘थला’ परेको छ । गुमनाम छ ।

...

गोर्खा हर्मीबाट बाटो लागेको हटारु हूलले साँझपख मर्स्याङ्दी डुंगा तर्छ । तरेर मर्स्याङ्दी पल्लो किनारमा पहिलो बास बस्छ । सिङारेठाँटी हुँदै बाँसपानी थाप्लोमा पुगेपछि दोस्रो बास हुन्छ । तेस्रो बास जुगेडी ।

चौथो बास ? चौथो बास बस्न भने बहस चल्छ । ‘समय’ नापजाप बहस । कारण, चारकोसे झाडीवासीको आक्रमणबाट बच्नु छ । झाडीमै रात परे बासको समस्या त छँदै छ, त्योभन्दा चर्को समस्या छ, जंगली जनावरको आक्रमण । उज्यालो नबिलाउँदै घना जंगल पार गर्न नसकिए सबेरै सही, झुवानीमा बास बस्छ । झाडीमै रात झरे झर्ला भन्न त हटारु ‘जम्बो’ हूल चाहिन्छ । जुन हूल पंक्तिबद्ध भएर राँको बालेर हिँड्छ, जनयुद्धकालीन माओवादी मसाल जुलुसजस्तो । राँकोले दुई काम गर्छ । एक, अँध्यारोमा बाटो देखाउने । दुई, जंगली जनावरको सम्भावित आक्रमण टार्ने ।

पाँचौं बास ठोरीमा हुन्छ ।

झन्डै एक दर्जन दिनलाई पुग्ने सामल सामा गरी ठोरी पुगेको हटारु लर्कोले डोको बिसाउँछ । डोकोबाट झिकेको फापर, माससित नुन, मट्टितेल, परिवारको आङको रङ फेर्ने लुगासँग साट्छ । त्यसपछि बल्ल हटारु पाइला घरतिर फर्कन्छ ।

हर्मीबाट नुन हाट गएका पिता पाइला पछ्याउँदै पुगेको ठोरी स्मरणरत साहित्यकार मोदनाथ मरहट्टाको हटारु सिलुक जारी छ । तनगाडीले गोर्खा छाडे पनि हर्मी–ठोरी गर्ने मरहट्टा मनगाडीमा ब्रेक लागेको छैन ।

नुनथलो

चितवनमा बसोबास व्यवस्थाका लागि हजारौं बिगाहा जग्गा खोलिनुअघि ठोरी चितवनको मुख्य बजार हो । ...हेटौंडा–भरतपुर सडक बन्नुअघि तोरी र खाद्यान्नको अधिकांश ठोरी भएर भारत लाने हो । ...ठोरी चितवनको सबभन्दा बढी जनसंख्या (७६३०) भएको पञ्चायत हो (मेचीदेखि महाकाली, २०३१) ।

यही ठोरी त हो, गोर्खाका महरहट्टा पितासहित लमजुङ, कास्की, तनहुँ, चितवन, धादिङ, नुवाकोटवासी नुन जोहो गर्ने नुनथलो । देसी (भारतीय) नुन नेपाल भित्रने मुख्य ढोका नै ठोरी हो । ढिके नुन पाइने ठोरीमा नुन व्यापार गर्न पुगेका पहिलो व्यवसायी हुन्छन्, बन्दीपुरे नेवार ।

भारतबाट नुन कहिलेदेखि आउन थालेको हो ? यसबारे पक्का यकिन भन्न सकिन्न तापनि अनादिकालदेखि दक्षिणको तराई क्षेत्र र भित्री मधेससम्म आउने भारतीय नुनको हिसाब नगर्ने हो भने काठमाडौं निवासीले हविष्य खाने बेला प्रयोग गर्ने सिधेनुनको आयात मल्लकालदेखि नै भएको मान्नुपर्ने हुन्छ । ...चन्द्रशमशेरको पालामा भोटसँग कचकच उठिरहेको थियो । ...भोटेनुन बन्द भए नुनको आपूर्ति कम भई दुःख हुने छ भन्ने भई भारतबाट नुन झिकाउन थाल्नुको साथै नेपालले नेपालभित्रै पनि नुन खानी खोजी गराउन थाल्यो (कमलमणि दीक्षित, नुनको खोजीमा, पेज ३) ।

ठोरीमा कहिले देसी नुन आउन थालेको हो ? खोज हुँदै जाला । तर, ठोरीमा नुन बोक्ने हटारु लर्को लागेको भने भोटेनुन बन्द भएपछि हो ।

‘ठोरीबाट टाँडी निस्कन ८ घण्टाभन्दा बढी लाग्थ्यो,’ पाँच वर्षअघि कान्तिपुरकर्मी विमल खतिवडा स्थानीय ६० वर्षीय पूर्णप्रसाद अर्याललाई उद्धृत गर्छन्, ‘जंगलैजंगलको बाटो भएर टाढा–टाढादेखि नुन र मट्टितेल लिन ४/५ दिन लगाएर सर्वसाधारण आउँथे ।’ त्यसपछि अर्याल आफ्नो जुगको नुनतेलको भाउ सम्झन्छन्, ‘नुन रुपैयाँ पाथी र मट्टितेल रुपैयाँ लिटर थियो । बोरा र डोकोमा नुन बोकेर हिँड्नेको ताँती लाग्थ्यो ।’

भारतले सीमा क्षेत्रसम्म रेल चलाएपछि त ठोरी १६ वर्षे जवान बन्छ । ठोरी रेल र नुनथलोले कहलिन्छ । खतिवडा ठोरी गाविस पूर्वअध्यक्ष उद्धव सापकोटालाई उद्धृत गर्छन्, ‘५० वर्षअघि अहिलेको वाग्मती प्रदेशको नुन खरिद गर्न जाने ठाउँ थियो ठोरी । ठोरीको नुनले लगाएको गुनलाई अहिले पनि जो कोहीले भुल्न सक्दैन ।’

थारूथलो

नुनथलो ठोरी त थारूथलो हो । अनुसन्धाता एवं स्थानीय प्रेम लामाका अनुसार, ठोरीसहित सिकारीबास र माडीका बगौडा नै त्यस क्षेत्रका सबभन्दा पुराना बस्ती हुन् । तीनवटै बस्तीका मूलवासी थारू हुन् ।

२०२१ तिर राजा महेन्द्रले चितवनका बस्ती उठाई ठोरीमा बस्ती बसालेका हुन् ।

सरकारले ठोरीमा बस्ती बसाल्न जंगल फँडानी अनुमति दिन्छ ।

कृष्णप्रसाद रिमालको परिवार धादिङ पण्डितपौवाबाट चितवनको पुरानो पदमपुरमा बसाइँ सरेको वर्ष दिन नपुग्दै सरकारले २०२१ मा सिंगो बस्तीलाई ठोरी सार्छ । जंगल फाँड्न सरकारले ५० रुपैयाँ नगदसहित १०/१० पाथी गहुँ र चामल दिन्छ । फँडानी गरेपछि घैया धान फल्छ । धान एक मनको ४/५ रुपैयाँमा बेच्छन् । खतिवडा ७२ वर्षीय स्थानीय रिमाललाई उद्धृत गर्छन्, ‘सुरुमा सरकारले हाम्रो परिवारसहित ६१ घरधुरीलाई ठोरीमा राखेको हो । नाताले नाता तान्यो । ठोरी आउनेले आफ्ना ज्वाइँछोरी, काकाकाकी, भाइभतिजा बोलाए । त्यसपछि त जनसंख्या बढ्यो ।’ रिमालकै लयमा पत्रकार एवं स्थानीय प्रेम लामा आफ्ना बाबाले सुनाएको बसाइँसराइ सम्झन्छन्, ‘सिन्धुपाल्चोकबाट बाबा फँडानी गर्न आउनुभएको रे, २०२२ तिर ।’ यसैगरी, बाग्लुङ बलेवाबाट कार्कीनेटा, पोखरा, नारायणघाट, भीमपुर जंगल हुँदै एक कुँवर परिवार ठोरी पुग्छ । बलेवाबाट भैंसी डोर्‍याउँदै १९ दिन हिँडेर २०२४ मा बसाइँ सरेको हजुरबा कथन रामप्रकाश कुँवर सम्झन्छन् । ठोरी गाउँपालिका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष कुँवरले ‘भारतीय सामान सस्तो पाइने’ भएकाले बसाइँ सरेको सुनाउँछन् । खास नुनथलो ठोरी अहिले १ र २ नम्बर वडामा पर्छ ।

थारूथलो ठोरीमा अहिले थारू, तामाङ, गुरुङ, मगर, क्षेत्री, दसनामी, बाहुन, दलितसहित लोपोन्मुख जाति प्रजा, बोटे जातिहरूको मिश्रित बस्ती छ ।

इतिहास भन्छ, भारतमा दमन खेप्न नसकी ठोरीको बाटो भएर लिच्छवि नेपाल पसेका हुन् । कुनै बेला ठोरी नाकाबाट व्यापार पनि चलेको हो । अनिल शर्मा ‘राष्ट्रियता र राप्ती दून’ मा राहुल सांङ्कृत्यायनलाई उद्धृत गर्छन्, ‘नेपालमा शिवालिक (चुरे) र महाभारत श्रेणीको बीचमा फैलने प्रशस्त फराकिलो ऊर्वर उपत्यका पाटलीपुत्र (पटना) बाट भिखनाठोरी हुँदै नेपाल उपत्यकासम्म जाने व्यापारिक मार्ग यहीँबाट गुज्रन्थ्यो ।’

भोटेनुन बन्द भएपछि नुन हटारु हूल ठोरीमा ओइरिन्छ । त्यसबेला वीरगन्ज–रक्सौल नाकाको रूपमा अहिलेजसरी विकास भएको हुन्न । बुद्धिनारायण श्रेष्ठ लेख्छन्, ‘चार दशकअघिसम्म भिखनाठोरी नेपालको ठोरी हुँदै पश्चिम नेपालका विभिन्न जिल्लामा नुन, तेल तथा आवश्यकीय सामान ल्याउने मुख्य नाका थियो ।’ यसैगरी, ‘मेचीदेखि महाकाली’ मा पनि ‘हेटौंडा–भरतपुर सडक बन्नुअघि यहाँबाट भारत निकासी हुने तोरी र खाद्यान्नको अधिकांश ठोरी भएर लाने’ उल्लेख छ ।

पछिल्लो भारतीय नाकाबन्दमा ठोरीले भरथेग गर्छ । अवैध ठोरी तेल गोडाले काठमाडौं हिँड्छ । नाकाबन्दकै बेला चीनले नेपालसँग आयात–निर्यात सहज बनाउन थप सात सीमानाका (ओलाङ्चुङ्गोला, किमाथांका, लामाबगर, लार्के, कोरोला, नग्चा र हिल्सा) खुलाउन सहमत हुन्छ । श्रेष्ठ थप्छन्, ‘गोरखा लार्के नाकाबाट सडक यातायात खुलाउन गोरखा सदरमुकामबाट उत्तर दरौंदी खोला किनार हुँदै बारपाक र लाप्राकनजिकबाट बूढीगण्डकी खोलैखोला सामागाउँ छोएर लार्केको लज्याङ भञ्ज्याङसम्म सडक पुर्‍याउन आवश्यक पर्छ । नेपालतर्फ गोरखाबाट दक्षिण मुग्लिङ, नारायणघाट, भरतपुरसम्म ६० किमि पक्की सडक छ । यसपछि यस सडकलाई पूर्वको वीरगन्ज तथा पश्चिमको बुटवलतर्फ नबढाई दक्षिणतर्फ माडी उपत्यका र चितवन राष्ट्रिय निकुञ्ज हुँदै भारतसँगको सीमानाका भिखनाठोरी जोडिए यसको आफ्नै ठूलो महत्त्व रहनेछ ।’

२००७ असोज २१ गते कांग्रेस नेता गणेशमान सिंह ठोरीमा समातिएका हुन् । सिंह भद्रगोल जेल तोडी ‘भेष बदलेर धादिङ, गोर्खा, चितवन हुँदै भारत पस्न लाग्दा (राष्ट्रियता र राप्ती दून)’ पक्राउ परेका हुन् । उनै सिंहको नाउँमा गणेशमान पार्क छ, ठोरीमा ।

अहिले ठोरीमा छोटी भन्सार छ । छोटी भन्सारबाट ठूलो कारोबार हुन्न । उही छोटी भन्सार पनि माओवादी जनयुद्धकालमा वीरगन्ज सरेको हो । ठूलो नाका चलाउन ठोरीवासीले माग गर्न थालेको वर्षौं बितिसकेको छ । नेपाल सरकारचाहिँ कानमा तेल हालेर बसेको छ ।

सिकारथलो

राप्ती, लोथर, रेवा, कर्राजस्ता दर्जनौं साना–ठूला नदीका काख, समथर भूमिमा घना जंगल छ । जंगल रैथाने छन्, हात्ती, गैंडा, बाघ, भालु आदि । स्वदेशी तथा विदेशी राजाका साथै राणाजीहरू जनावरका ज्यान लिएर रम्न ठोरी पुग्छन् । राणाले त जहानियाँ राज टिकाउन तिनै जनावरका सहारा लिन्छन् । त्यसताका विश्वभर राजरत अंग्रेजलाई खुसी पार्न बेलायती राजा र फिरंगी शासकहरूलाई राणा शासकले ठोरीमा सिकार खेलाउँछ ।

श्री ३ चन्द्रशमशेरको पालामा अर्थात् सन् १९११ (डिसेम्बर १८ देखि २८) मा भिखनाठोरीदेखि नेपालको माडी क्षेत्रमा बेलायतका राजा जर्ज पञ्चम (१८६५–१९३६) सिकार खेल्छन् । त्यसबेला १८ गैंडा, ३९ बाघ र चार स्लथ बियरका ज्यान लिन्छन् (किज रुकम्याकर, बार्बरा नेल्सन र डारेल डोरिङ्टन, द रोयल हन्ट अफ टाइगर एन्ड राइनोसर्स इन द नेप्लिज तराई इन १९११) । जर्ज आएको चौध वर्षपछि बेलायतका तत्कालीन युवराज एडवर्ड सिकार खेल्दै ठोरीमा बस्छन् ।

सिकार खेल्न ठोरी आएका राजालाई चन्द्रशमशेरले हात्तीको बच्चा, गैंडा, दुईवटा साम्भर, बाख्रा, दुईवटा भालु, चितुवा, मृग, बाज, अजिंगरजस्ता जनावर तथा पक्षी उपहार दिन्छन् । त्यति मात्र होइन, हात्तीको दाँतबाट बनेका सामग्री र सुनले मोडेको खुकुरी पनि । युवराज सिकार खेल्दा १४ बाघ, सातवटा गैंडा, दुईवटा चितुवा र दुईवटा भालु मारिएका हुन् । एडबर्ड एट्थ, वेल्स प्रिन्स एडवर्ड अष्टम, (सन् १९२२ र २३), लर्ड लेन्लिथगो (विसं १९९५ र १९३७) ठोरी पुगेर नै सिकार खेलेका छन् । विसं १९१५ मा जंगबहादुरले हेटौंडामा ९७५ हात्ती जम्मा गरी ठोरीबाट सिकार खेल्दै नेपालगन्जसम्म पुग्दा २१ वनहात्ती, ३१ बाघ, ११ अर्ना र एउटा गैंडा मार्छन् (अनिल शर्मा, राष्ट्रियता र राप्ती दून, २८) । जनावरका ज्यान लिन नेपालका राजा कसरी छुट्नु ? जर्ज, राजा महेन्द्र सिकार खेल्दा बसेको भिखनाठोरीको घर अहिले जीर्ण छ । त्यसबेला बिजुली नभएकाले पंखाको काम गराउन ‘बाहिर डोरीले तानेर कोठामा हावा जाने’ गरी मिलाइएको छ (स्थानीय एवं पत्रकार प्रेम लामा) ।

थला परेको ठोरी

नेपालको ठोरी र भारतको भिखनाठोरीको दसगजामा ठुटेखोला र चिताखोला मिल्छन् । त्यसपछि बग्छ, पण्डई नदी । ठुटेखोला काटेर गाग्री बोकी पानी लिने भारतीय भीड लाग्छ । नेपालबाट दुईवटा कुलो बनाएर भारतले पानी लगेको छ ।

अन्य भागमा जसरी भारतले ठोरीमा पनि सीमा मिचेको हो । बुद्धिनारायण श्रेष्ठ अनिल शर्माको ‘राष्ट्रियता र राप्ती दून’ को भूमिकामा लेख्छन्, ‘ठोरीमा अंग्रेजका पालामा स्थापना गरिएको सीमास्तम्भ नं.४३४/६ आधा किलोमिटर नेपालतर्फ हटाई नेपालको ठोरीको ७० हेक्टर भूभाग भारतको भिखनाठोरीमा गाभिएको छ । यसबाहेक ठोरीको ठुटेखोलामा नेपालले २०६५ सालमा पुल बनाउन खोज्दा भारतले रोकावट गरेकोबाट सीमा मिचिएको कुरा पुष्टि हुन पुगेको छ ।’

कुनै जुगको झिलीमिली ठोरी आज भने सुनसान छ । गुमनाम छ ।

ठोरी सुनसानिनुका केही कारण छन् ।

एक, पूर्व–पश्चिम राजमार्ग विसं.२०२६ मा बन्छ । २०२८/२९ तिर त नुनथलो ठोरी नै नारायणघाट सर्छ । नारायणघाटबाट नुन पहाड जाने चलन चल्छ । भरतपुरजस्ता सुक्खा ठाउँमा समेत बस्ती बस्छ । २०३४ तिर पोखरा जाने बाटो बनेपछि ठोरी झन् सुनसान हुन्छ ।

दुई, वीरगन्जमा सरकारी आँखा लाग्छ । वीरगन्ज–रक्सौल नाका विस्तार हुन्छ । ठोरी ओझेलिन्छ । यता, नुनथलो नारायणघाट सर्छ । ठोरी त दुई ठूला सल्ला बोटका बीचमा न गरिखाने न मरिजाने गरी झोक्राइरहेको धाइराको बोट बन्छ ।

तीन, ठोरीलाई तीनतिरबाट सी आकार बनाएर निकुञ्जले घेर्छन् । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज । दक्षिणबाट भारतको वाल्मीकि टाइगर रिजर्भ थपिन्छ । वातावरण, पर्यावरण आँखाले फाइदा पुगे पनि निकुञ्जमार्फत ठोरीजनका जीवनशैली र दैनिकी सहज बनाउन सरकार असफल हुन्छ । निकुञ्जका कारण ठोरीमा न खेती मौलाउँछ न वस्तुपालन न त स्थानीयजन आफूलाई सुरक्षित महसुस गर्छन् । ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ भन्छन्, ‘बारी बाँझा छन् । बाली लगाए कि जंगली जनावरले खाएर हैरान छ ।’

चार, ठोरीको आवाज सिंहदरबार पुग्ने बाटो छैन । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जिल्ला विकास समिति सदस्यसम्म भए । सांसद्, मन्त्री पदमा पुगेका छैनन् । कर्मचारीमा उपसचिव भएका छन् ।’ उसै त मधेसमा छ ठोरी । मधेसप्रति सिंहदरबारिय आँखाको ‘नानी’ फुला परेको छ । त्यसमाथि ‘चर्को आवाज’ समेत नसुन्ने सिंहदरबारले कसरी सुन्छ, ठोरी ठसठस ?

पाँच, ठोरी–नारायणघाट बाटो बन्न समयमा बन्दैन । वीरगन्ज–नारायणघाट अघि नै बन्छ । वीरगन्जबाट रक्सौल विस्तार हुन्छ । वीरगन्ज नाका हुन्छ । ठोरीवासी त सडकका कारण माडी भएर जानुपर्ने हुन्छ ।

छ, भारतले ठोरीसम्म आउँदा पर्ने भूभागलाई ‘वाल्मीकि बाघ संरक्षित क्षेत्र’ बनाएर रेल रोक्छ । रेल टाढिएपछि पर्साको पश्चिम कुनामा अवस्थित ठोरी थप सुनसानिन्छ ।

मिनी उपत्यका ठोरीको नुनथलो टहरेबजार छ । प्रवक्ता कुँवरका अनुसार, नेपालतिर ५०–६० र भारततर्फ ५०–६० वटा टहरा छन् । भारततिर प्रायः युरिया मल र चिनी किनमेल हुन्छ त नेपालतिर धान, मकै । ठोरीका पहिलो व्यवसायी बन्दीपुरे नेवार कति नारायणट पुगिसकेका छन् त कति बन्दीपुर फर्केका छन् । स्थानीय उनै रिमाललाई खतिवडा उद्धृत गर्छन्, ‘बत्ती छैन । बाटो राम्रो छैन । खहरे खोलाले बर्सेनि सताउँछ ।’

...

साबिक सुवर्णपुर, निर्मलबस्ती र ठोरी गाविसलाई समावेश गरी पाँच वडावाल ठोरी गाउँपालिका बनेको छ । चितवन माडीको अयोध्यापुरीनजिकैको ठोरीलाई राजधानीवाल वाग्मती प्रदेशको चितवन फर्कन मन छ । स्थानीय एवं पत्रकार प्रेम लामाका अनुसार, घना जंगल छिचोल्नुपर्ने र वन्यजन्तुको त्रासले २०३४ मा गाउँ पञ्चायतले नै निर्णय गरी चितवनबाट ठोरी पर्सा सरेको हो । राज्य पुनर्संरचनाका क्रममा ठोरीलाई वाग्मती प्रदेशमै राखिएको हो । तर, संशोधन गर्दा पर्सामा । पछि पर्सामा गाभेपछि स्थानीयले आन्दोलनसमेत गरेका हुन् ।

चितवन फर्कने ठोरी–तर्क यस्ता छन्–

एक, पर्सासँगको ठोरी सम्बन्ध सरकारी कार्यालय काममै सीमित छ । व्यापार व्यवसाय, अध्ययन र रोजगारका लागि चितवन जाने संख्या ठूलो छ । यसैगरी पहाडी मूल ठोरीको भेषभूषा चितवनसँग मिल्छ । सुवर्णपुरमा मात्र थोरै मधेसी छन् ।

दुई, राजधानीवाल वाग्मती प्रदेशबाट भारतसित जोडिने एक मात्र नाका बन्ने ठोरी आस छ, जुन नाका केरुङसित जोडिँदै छ । प्रवक्ता कुँवर ठोरी वाग्मती लैजानैपर्ने यस्तो जिकिर गर्छन्, ‘राजधानीसमेत रहेको वाग्मती प्रदेशको मुख्य नाका ठोरीलाई नै बनाउनुपर्छ ।’ दुई नम्बर प्रदेशमा वीरगन्ज, जनकपुरजस्ता चल्तीका ठूला नाका छन् ।

...

नुनथलो ठोरीले हटारु, मजदुर, राजा, राणा अनुहार देखेको छ । राजा, राणा ‘मस्ती’ का साक्षी बनेको छ भने हटारु, मजदुर, भरियाका आँसु, पसिना र स–साना सपनाका । तर, अब ती ठोरीबाट नुन बोक्ने पुस्तासँगै सकिन थालेको छ । ठोरीले साँचेका स्मृति अब सधैँलाई सुक्न लागेको हो कि पुनर्जीवन पाउने छाँट कतै छ ? छ भने केरुङ–ठोरी लोकमार्ग हो । जो दुई ठूला अर्थतन्त्र भएका चीन र भारत जोड्ने सबभन्दा छोटो (१९२ किलोमिटर, ठोरी–भण्डारा बने १ सय ६८) लोकमार्ग हो । जुन लोकमार्ग ठोरी हुँदै चितवनको माडी–भरतपुर–लोथर–मलेखु–गल्छी–विदुर–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी भएर केरुङ पुग्नेछ । लोकमार्गले ठोरी ‘इन्टरनेसनल ट्रान्जिट हब’ र चीन र भारतको पारवहन केन्द्र बन्न सक्छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×