मिलापत्र व्यवसायी- विविधा - कान्तिपुर समाचार

मिलापत्र व्यवसायी

जागिर छैन । राज्यले हेर्दैन । केटाहरुले पकेटखर्च निकाल्न एक–दुईवटा रमाइला भिडियो बनाए भने तपाईं–हाम्रो के बिग्रन्छ ?
शरच्चन्द्र वस्ती

दारूको अड्डाबाट धर्खराउँदै घर फर्किरहेको श्यामलालको आधा नशा चीसो स्याँठले उडाइसकेको थियो । पुसको घाम डुब्न लागेको थियो र उखुबारीको छायाले बाटो ढाकिसकेको । पिसाब फेर्न भनेर उखुबारीभित्र पस्ता कोही चिच्याउन खोजे जस्तो सुनेर उसका कान ठाडा भए । उसले आवाज आएतिर मुन्टो घुमायो । अलिक पर उखुबारीमै अस्वाभाविक हलचल भइरहेको देखेपछि उसको दिमागमा एकाएक बिजुली चम्कियो र बाँकी नशा पनि उत्रियो ।

उखुका पात र बोट पन्छाउँदै त्यहाँ पुग्दा उसले देख्यो, मुसहर टोलकी १८ वर्षे संगीता चार जनाको आक्रमणमा परेकी छ । एउटा उसमाथि घोप्टिएर मच्चिँदैछ र दुई जना दुईतिरबाट मोबाइलमा भिडियो खिचिरहेका छन् । चौथो पछाडि उभिएको छ, पालो पर्खिएर ।

तपाईं ठान्नुहोला, श्यामलालले ‘के गरेको यो ?’ भनेर उनीहरूलाई झम्टियो र उनीहरू संगीतालाई छोडेर कुलेलम ठोके । तर अहँ, त्यस्तो केही भएन । श्यामलाल भिडियोमा नपर्ने गरी अलि वरै उभियो । तीन जनाले उसलाई पुलुक्क हेरे र नहडबडाई आफ्नो काममा लागिरहे । पछाडि उभिएको केटो उसको नजीक आयो र ‘पाय लागूँ चाचाजी’ को पारामा उसका खुट्टा छोयो ।

‘क्या हो बेटा, फेरि धन्दा शुरू ?’ श्यामलाल मुस्कुरायो । केटो केही बोलेन । श्यामलाललाई जवाफ चाहिएको पनि थिएन । उसले ‘भोलि बिहान चारै जना मेरो घरमा आउनू’ भन्यो र जताबाट आएको थियो, उतै फर्क्यो ।

भोलिपल्ट बिहान सातै बजे उनीहरू उसको घरमा हाजिर भइसकेका थिए । ‘मामाघर जान मन लाग्यो ?’ भन्दै उसले दपेटे जस्तो गर्‍यो र उनीहरूका लागि चिया मगायो । अनि भन्यो, ‘जरिवाना त छँदैछ, आम्दानीको हिस्सामा घोटाला नगर्नू नि । नत्र ठीक हुनेछैन ।’

‘जो आज्ञा चाचाजी,’ उनीहरूले खुट्टा छोए र बिदा भए ।

तपाईं भन्नुहोला, श्यामलालले कस्तो आम्दानीको कुरा गरेको ? त्यो पनि सुन्नोस् । गाउँमा बलात्कार त पहिले पनि हुन्थ्यो, तर केही वर्ष यता केटाहरूले त्यसलाई बकाइदा आफ्नो धन्दा बनाएका थिए । त्यो तिनका लागि कमाइको माध्यम थियो । उनीहरू आवेश र उत्तेजनावश होइन, ससाना समूह बनाएर योजनाबद्ध रूपमा बलात्कार गर्थे र प्रायः गरीब परिवारका युवतीलाई आफ्नो शिकार बनाउँथे । कम्तीमा एक, नत्र दुई जनाले मोबाइलबाट भिडियो खिच्थे र त्यसलाई इन्टरनेट मार्फत बिक्री गर्थे । छिमेकी मुलुकहरू मात्र होइन, कतार, मलेसिया, इन्डोनेसिया, युएई, साउदी अरेबिया जस्ता देशमा समेत त्यसको उच्च माग थियो । त्यही आम्दानीको हिस्सा मागेको थियो श्यामलालले ।

उसले सित्तैं केही मागेको थिएन । केटाहरूलाई कानूनको पञ्जामा फस्न नदिने र पीडितसँग मिलापत्र गराएर उन्मुक्ति दिलाउने जिम्मा श्यामलाल जस्ताकै हुन्थ्यो, जसले आफूलाई भद्रभलादमी घोषित गरेका थिए र गाउँमा पञ्चायती बसाउँथे । बलात्कार केटाहरूको धन्दा बने जस्तै मिलापत्र गराउनु उनीहरूको धन्दा बनेको थियो । ती मिलापत्र व्यवसायी थिए । बलात्कार मात्र होइन हत्या, कुटपीट, जग्गा विवाद, अंश झगडा, साँध–सीमाना, घरेलु हिंसा लगायत गाउँका हरेक मामिलामा उनीहरू टाउको घुसार्थे र मिलापत्रका नाममा दुवै पक्षबाट सक्तो रकम झारेर आफ्नो खल्ती पोटिलो पार्थे ।

संगीता सामूहिक बलात्कारमा परेको बारे उसको बाबुले रोइकराइ गर्न थालेपछि पञ्चायती बस्यो । निर्णायक भद्रभलादमी पाँच जना थिए । तीमध्ये एउटा श्यामलाल स्वयं थियो, जो धेरैपल्ट बलात्कारमा फेला परिसकेको थियो । जोगेन्दरले आफ्ना दुई बुहारीलाई दहेजको निहुँमा जलाएको थियो । इकवाल सुपारी लिएर मानिसको हत्या गराउँथ्यो । रञ्जितले अंशको जग्गा हडपेर आफ्नै दाजुको उठिबास लगाएको थियो । रहीम जिल्लाभरि गुण्डाका रूपमा चिनिन्थ्यो । तर, उनीहरूको कुनै पनि मामिला कहिल्यै प्रहरीमा पुगेको थिएन । त्यसैले तिनको मानार्थ ‘भद्रभलादमी’ उपाधिमाथि प्रश्न उठाउने कसैको हिम्मत थिएन ।

पञ्चायतीमा दुवै पक्षलाई उपस्थित गराइयो र केरकार गरियो । बजारबाट नून, तेल र मसला किनेर घर फर्कन लाग्दा आफूलाई बीच बाटोमै समातेर लछारपछार पार्दै उखुबारीभित्र लगेर चार जनाले पालैपालो बलात्कार गरेको र भिडियो खिचेको संगीताले बयान दिई । ऊ चारै जनालाई राम्ररी चिन्दथी । उनीहरूले संगीताको कुनै कुरा प्रतिवाद गरेनन् र आफ्नो अपराध विना हिचकिचाहट स्वीकार गरे । संगीता रोइरहेकी थिई । उनीहरूको अनुहारमा भने ग्लानिको रेखासम्म थिएन ।

सबैका कुरा सुनेपछि भद्रभलादमीले एक छिन छलफल गरेजस्तो गरे र उनीहरूका तर्फबाट श्यामलालले निर्णय सुनायो, ‘जवानीमा केटाहरूबाट कहिलेकाहीं गल्ती भइहाल्छ । यिनीहरू नासमझ छन् । जवान भइसकेकी संगीताले पनि एक्लै हिंडडुल गर्न हुँदैनथ्यो । तर जे हुनु भइहाल्यो । अब कुरा बढाएर कसैलाई फाइदा छैन । गाउँमा सबैले मिलेर आआफ्नो ठाउँमा बस्नुमै कल्याण छ । आजको मुद्दामा हाम्रो निर्णय यो छ कि संगीतामाथि बुरा काम गर्ने चारै जनाले २०–२० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । आधा रकम समाज सुधारका लागि खर्च गर्न राखिनेछ र आधा संगीतालाई दिइनेछ ।’

मिलापत्रको कागज उसले घरबाटै तयार पारेर ल्याएको थियो । त्यसलाई गोजीबाट निकालेर भन्यो, ‘पञ्चायतीको निर्णय अनुसार यसमा दुवै पक्षले सही गर ।’

चार जना केटाहरूले त फटाफट सही गरे तर संगीताको बाबुले सही गर्न मानेन । उसको भनाइ थियो, ‘मेरी छोरीको जिन्दगी बर्बाद भयो । यसले न्याय पाउनुपर्छ ।’

भद्रभलादमीले उसको कुरा सुनेनन् । ‘न्यायको बखेडा निकालेर ठूलाबडालाई सजाय दिलाउन खोज्ने ?’ भनेर हप्काए र हात तानेर मिलापत्रमा जबर्जस्ती ल्याप्चे ठोकाइदिए ।

चार मध्ये दुई जनाले २०–२० हजार रुपैयाँ तत्काल बुझाए । ‘यो समाज सुधारका लागि’ भन्दै त्यो रकम पाँचै जना भद्रभलादमीले बराबरी बाँडेर लिए । ‘बाँकी पैसा आएपछि तिमीलाई दिउँला,’ श्यामलालले संगीताको बाबुलाई भन्यो ।

बाँकी दुई जनाले दुई दिन पछि आआफ्नो भागको जरिवाना बुझाए । तर संगीताको बाबुले एक महीना बित्दा पनि पैसा पाएन । पैसा माग्दा पहिले त श्यामलालले आलटाल गर्‍यो, पछि ‘बढी किचकिच गरे घरमा ताल्चा ठोकेर गाउँबाटै निकालिदिने’ धम्की दिन थाल्यो । संगीता भने दुब्लाएर सिठ्ठी हुन लागेकी थिई ।

तपाईंलाई लागिरहेको होला, संगीताको बाबु प्रहरीकहाँ किन नगएको ? कानूनी कारबाहीतिर नलागेर पञ्चायतीका पछाडि किन दौडिएको ? तर, प्रहरीकहाँ जान सजिलो थिएन । पञ्चायतीको निर्णय नमानेर प्रहरीकहाँ पुग्दा एक त भद्रभलादमीले थप दण्डसजाय गर्ने डर हुन्थ्यो, अर्को, प्रहरीले उजूरी नै दर्ता गर्दैनथ्यो । ‘गाउँको कुरा गाउँमै मिलाऊ’ भनेर फर्काइदिन्थ्यो ।

तैपनि ‘मर्नुपरेपछि खुट्टै तन्काएर’ भन्दै संगीताको बाबु एक दिन प्रहरीकहाँ पुग्यो । प्रहरीले हप्कायो, ‘मिलापत्र गरिसकेको होइन ? फेरि किन यहाँ आएको ?’ त्यसपछि ऊ सिडियो अफिस पुग्यो । सिडियोले ‘हेरिदिनू’ भनेर उसको निवेदनमा तोक लगाइदिएपछि प्रहरीले उनै भद्रभलादमीलाई खबर गरेर आफ्नो कार्यालयमा अर्को पञ्चायती बसायो, जसमा राजनीतिक पार्टीका प्रतिनिधि र मानव अधिकारकर्मी समेत उपस्थित थिए । बैठक शुरू हुनै लाग्दा त्यही क्षेत्रबाट चुनिएको प्रदेश सभा सदस्य पनि आइपुग्यो ।

‘खुरुक्क कानूनी कारवाही नगरेर पञ्चायतीको नाटक किन ? नयाँ कानून आएको थाहा छैन ? यो सरासर गैरकानूनी हो,’ मानव अधिकारकर्मी पड्कियो ।

सबै जना हाँसे । गाउँपालिका अध्यक्षले चेतावनी दियो, ‘यो हाम्रो परम्परा हो । समाजको विवाद समाजमै मिलाउनुपर्छ । नत्र गाउँको इज्जत रहँदैन । कानूनको कुरा गरेर तपाईं यसमा हस्तक्षेप गर्ने कोशिश नगर्नोस् ।’

तीन राउन्ड चिया र एक सेट खाजा छलफल गरेपछि प्रहरी कार्यालयको पञ्चायतीले पनि गाउँकै पञ्चायतीको निर्णय सदर गर्‍यो । अनावश्यक कुरामा निवेदन हालेर सबैलाई दुःख दिएको भन्दै संगीताको बाबुलाई तीन हजार रुपैयाँ जरिवाना गरियो, तीन दिनभित्र नबुझाए हिरासतमा पठाइने गरी । गाउँपालिका अध्यक्ष ‘गाउँको इज्जत जोगिएकोमा’ खुशी देखिन्थ्यो ।

पञ्चायती सकेर फर्कन लाग्दा बाटोमा प्रदेश सभा सदस्यले भन्यो, ‘बलात्कार नै पेशा हुन थाल्यो भने त अति हुन्छ । होश गर्नोस् है अध्यक्षज्यू, गाउँको इज्जत जाला नि ।’

उनीहरूको पछि लागेको श्यामलाल बोल्यो, ‘जागीर छैन । आफ्नै पार्टीको सरकार भए पनि राज्यले हेर्दैन । अनि युवाहरूले पकेट खर्च निकाल्न यसो एक–दुईवटा रमाइला भिडियो बनाए भने तपाईं–हाम्रो के बिग्रन्छ ? गाउँको कुरा गाउँमै मिलाएकै छौं क्यारे !’

त्यसपछि कोही बोलेन ।

साँझ श्यामलाल घर पुग्दा चार मध्ये एउटा केटो हाजिर थियो । उसले श्यामलाललाई खुट्टा छोएर ‘पायलागी’

गर्‍यो र एउटा खाम हातमा राखिदियो । खामभित्र हजारका पाँच नोट थिए ।

‘कति छिटै त ?’ श्यामलालको मुखबाट निस्कियो ।

‘यसपालिको भिडियो निकै सफा र उत्तेजक बनेछ । राम्रो डिमान्ड छ । निकै आम्दानी होला जस्तो छ । हजूरको हिस्सा पुर्‍याउन आइराख्छु,’ ऊ मुस्कुरायो ।

संगीताको बाबु सबैतिरबाट निराश भएर घर पुग्यो । जरिवाना तिर्ने उपाय थिएन, तीन दिन पछि हिरासतमा पुगिने पक्का थियो । ऊ खुइय सास फेर्दै शून्यतिर हेरेर टोलाइरह्यो । बाबुको हालत देखेपछि संगीताका आँखाबाट बगिरहेका आँसु एकाएक रोकिए ।

बिहान घाम झुल्कँदा संगीता घर अगाडिको रूखमा झुण्डिएकी थिई ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

म्यान्मारमा प्रदर्शन चर्कियो

चिकित्सकहरूको प्रदर्शनमा गोली प्रहार, एक जनाको मृत्यु
राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, कडाखालको प्रतिबन्ध लगाइने सम्भावना
एजेन्सी

यांगुन — म्यान्मारमा सैनिक ‘कु’ विरुद्धको आन्दोलन थप चर्किएको छ । प्रहरीको बल प्रयोगबाट गत आइतबार र बुधबार क्रमश: १८ र ३८ जना प्रदर्शनकारी मारिएपछि मुलुकका विभिन्न सहर र ग्रामीण भेगमा हजारौं आन्दोलनकारी सडकमा उत्रिएका हुन् ।

तस्बिर : रोयटर्स


आन्दोलनकारीले सैनिक शासनविरुद्ध नाराबाजी गर्दै ढुंगे युग अब समाप्त भइसकेको उद्घोष गरेका छन् । ‘हामी डराएका छैनौं, किनकि तिमीहरूले दमन गरिरहेका छौ,’ आन्दोलनकारीको भनाइ छ ।

आन्दोलनमा सुरक्षाकर्मीले आफ्नो दमनलाई समेत निरन्तरता दिएको छ । म्यान्मारको मुख्य सहर यांगुनमा शुक्रबार सयौंको संख्यामा चिकित्सकहरू सडकमा उत्रिए । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको रोयटर्सले लेखेको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न रबरका गोली, स्टन ग्रिनेड र व्यापक अश्रुग्यास प्रयोग गरेको समाचारहरूमा जनाइएको छ । म्यान्डले, पाथेन, मियांगेनलगायत सहरमा पनि लोकतन्त्रवादी नेत्री आङ सान सुचीको रिहाइको माग गर्दै प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमा राखिएका तस्बिर र भिडियोहरूमा सुरक्षाकर्मीले व्यापक बल प्रयोग गरेको र नियन्त्रणमा लिइएका प्रदर्शनकारीलाई बन्दुकको नाललगायतले निर्घात कुटपिट गरिएको देखिन्छ ।

गत फेब्रुअरी १ मा सेनाले जननिर्वाचित सत्ता हत्याएपछि त्यसको विरोधमा म्यान्मारका सबैजसो गाउँ र सहरमा लगातार प्रदर्शन र नागरिक अवज्ञा भइरहेको छ । शान्तिपूर्ण प्रदर्शनहरूमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा हालसम्म कम्तीमा ५५ जनाको मृत्यु भइसकेको राष्ट्रसंघीय मानवअधिकार आयोगकी प्रमुख मिचेल ब्याचलेटले बताइन् । उनका अनुसार १७ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्, जसमा २९ जना पत्रकारसमेत छन् । अन्तर्राष्ट्रिय रेडक्रसले घाइते प्रदर्शनकारीको उद्धारमा खटिएका आफ्ना केही सदस्य घाइते भएका र केहीलाई पक्राउसमेत गरिएको जनाएको छ । केही एम्बुलेन्स तोडफोड पनि गरिएको उसको भनाइ छ ।

‘हामी निकै संकटको अवस्थामा छौं,’ लामो समयदेखि म्यान्मारमा रहेर काम गरिरहेका राष्ट्रसंघका लागि अमेरिकी राजदूत बिल रिचार्डसनले समाचार संस्था एपीसँग भनेका छन्, ‘म्यान्मारको सैनिक सत्तामाथि अन्तर्राष्ट्रिय समुदायले थप दबाब दिनु आवश्यक छ, तबमात्र यहाँ भइरहेको प्रदर्शन र सुरक्षकर्मीले गरिरहेको व्यापक बल प्रयोग रोकिन सक्छ ।’

तर सुरुदेखि नै संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा तथा म्यान्मारका छिमेकी राष्ट्रहरूले संयम अपनाउन सैनिक सरकारलाई दबाब दिइरहेका छन् । प्रमुख सैनिक अधिकारीविरुद्ध आर्थिकलगायतका प्रतिबन्धसमेत लगाएका छन् । नजरबन्दमा राखिएकी नेत्री सुचीसहित राष्ट्रपति विन मिन्ट तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूलाई रिहाइ गरी निर्वाचित सरकार पुन:स्थापनाको समेत उनीहरूले माग गरिरहेका छन् । तर प्रहरी दमन घट्नुको सट्टा बढेको देखिन्छ । सुचीविरुद्ध पनि सैनिक सरकारले हालसम्म चारवटा मुद्दा दायर गरिसकेको छ ।

म्यान्मारमा प्रदर्शनकारीमाथिको दमन बढेसँगै शुक्रबारै न्युयोर्कमा राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । उक्त बैठकले म्यान्मारको सैनिक सरकारविरुद्ध कडाखालको प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ । तर सुरुदेखि नै कानुनसम्मत राज्य व्यवस्था चल्नुपर्ने भन्दै घुमाउरो गरी सैनिक सरकारको पक्षमा देखिएका चीन र रसियाले उक्त प्रस्तावमा भिटो प्रयोग गरी असफल बनाइदिन सक्ने सम्भावनासमेत उत्तिकै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । सुरक्षा परिषद्को बैठक बस्नुअघि अमेरिकाले चीनलाई रचनात्मक भूमिका निभाउन आग्रह गरेको छ । उता चीनले भने म्यान्मारको स्थायित्व नै आफ्नो प्रमुख प्राथमिकतामा रहेको प्रस्ट पारेको छ ।

म्यान्मारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन बर्गेनरले यसै साता आफूले सैनिक सरकारलाई कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्न सक्नेबारे सचेत गराएको बताएकी थिइन् । ‘जसको प्रतिउत्तरमा मलाई भनियो कि केही मित्रराष्ट्रसँग मात्रै सहयात्रा कसरी गर्ने भन्नेबारे सैनिक जनरललाई राम्रोसँग थाहा छ ।’

पछिल्लो ५ दशकदेखि सत्ता वरिपरि रहेको म्यान्मारको सेनाको इतिहासलाई विश्लेषण गर्दा प्रदर्शनकारीमाथि थप बल प्रयोग हुन सक्ने आकलन गर्छन् लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका अन्तर्राष्ट्रिय अपराध विज्ञ रोनन ली । ‘यसअघि आफ्नो लक्ष्य प्राप्तिका लागि सैनिक सरकार नागरिक आन्दोलन दबाउन र हजारौं नागरिकलाई मार्नसमेत पछि नहटेको इतिहास छ,’ उनले भने ।

गत नोभेम्बरमा भएको निर्वाचनमा सुचीको दल एनएलडीले ८० प्रतिशत मत ल्याएको थियो । तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको हो । ‘संविधानअनुसार नै शासन सत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै सेनाले ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएको छ । फरक मत राख्नेहरूप्रति पनि सुरक्षाकर्मीले लोकतान्त्रिक व्यवहार गरिरहेको सेना प्रमुख मीन अङ ह्लयिङको दाबी छ ।

यसैबीच, अनलाइन भिडियो सेयरिङ कम्पनी युट्युबले म्यान्मार सेनासम्बद्ध ५ वटा च्यानललाई बन्द गरिदिएको छ । सामाजिक दिशानिर्देश र आफ्ना केही मापदण्डका आधारमा यस्तो निर्णय लिइएको युट्युबले जनाएको छ । हिंसा फैलाउने गरी भिडियो राखिएको भन्दै बन्द गराइएका च्यानलमा सरकारसम्बद्ध एमआरटीभी (म्यान्मार रेडियो एन्ड टेलिभिजन) समेत छ ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×