जताततै महाराज- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जताततै महाराज

लच्छुलाई लाग्यो, महाराज चुरोट तान्दै चिया खाइरहेका छन् । पछि थाहा भयो, त्यो त उसकै गाउँको गुन्डा रहेछ ।
शरच्चन्द्र वस्ती

सत्तारूढ पार्टीको एउटा गुटको आमसभा ‘विशाल’ देखाउन रातभरि बसमा हालेर बिहान काठमाडौं झारिएको लच्छु चौधरीलाई आमसभा शुरू भएपछि चियाको उग्र तलतल लाग्यो । ऊ स्वयंसेवकहरूको आँखा छलेर सुस्तरी छेउ लाग्यो र लुसुक्क एउटा चियापसलमा पस्यो ।

अरू टेबुल आफूजस्तै आयातित ‘जन’ ले भरिभराउ देखेपछि ऊ कुनाको टेबुलतिर लम्कियो, जहाँ एकजना बूढो मानिस एक्लै बसेको थियो । झुस्स दारी पालेको, आँखामा गाजल लगाएको, प्रभावशाली अनुहार र गठिलो जीउको ।


लच्छु कुर्सीमा बस्नै लाग्दा महाराजको नाम लिएर आमसभामा कुनै नेता चिच्यायो, ‘उनी जंगबहादुर बन्न चाहन्छन् ।’ त्यो सुनेर बूढो मुसुक्क हाँस्यो र आमसभातिर हेर्दै बर्बरायो, ‘महाराजलाई मात्र के भन्छौ, तिमीहरू पनि त जंगबहादुर नै बन्न चाहन्छौ नि । त्यही बन्न नपाएर यत्रो रुवाबासी चलेको छ !’

आठ कक्षा पास गरेको लच्छुले धेरै अघि स्कूलमा जंगबहादुर र राणा शासनका बारेमा पढेको थियो । तर के पढेको थियो, उसलाई याद थिएन । बूढाको कुराले उसको उत्सुकता जाग्यो । सोध्यो, ‘जंगबहादुर भनेको के हो ? राम्ररी बुझाइदिनोस् न ।’

‘यिनीहरूले भनेको जंगबहादुर त्यस्तो व्यक्ति हो, जसले आफूलाई कानून भन्दा माथि ठान्छ । जो शक्तिको भरमा कानून तोड्न हिचकिचाउँदैन,’ बूढाले हाँस्तै भन्यो, ‘सुन्छौ उसको कथा ?’

‘भन्नोस् न,’ लच्छुले बूढालाई पनि चिया मगायो ।

बूढो भन्न थाल्यो : आज भन्दा पौने दुई सय वर्ष अघि देशको सत्ता कब्जा गरेपछि जंगबहादुरले आफ्ना भाइहरूलाई एकान्तमा बोलाएर भने, ‘अब यो देशको मालिक म हुँ । मेरो हुकुम नै यहाँको ऐन, कानून हो । कानून मैले दिने हो, त्यसैले म कानून भन्दा माथि छु । मलाई कानूनले छुँदैन । ऐन–कानून लाग्ने रैतीलाई मात्र हो ।’

उनी भन्दैगए, ‘तिमीहरू मेरा भाइ हौ । हामीमा एउटै रगत बगेको छ । त्यसैले तिमीहरू पनि कानून भन्दा माथि हुनेछौ ।’

‘तर दाजै, हजूर श्री ३ महाराज होइबक्सन्छ । हामी श्री १ मात्र छौं । कानूनले हामीलाई कसरी चिन्ला ? माइला भाइले चिन्ता जाहेर गरे ।

जंगबहादुरले भने, ‘अब उप्रान्त मेरो नामलाई नै आफ्नो थर बनाऊ । थरको सट्टा जंगबहादुर राणा लेख्न थाल । त्यसपछि मेरो आत्मा तिमीहरूमा प्रवेश गर्नेछ । तिमीहरूको अनुहारमा म उपस्थित हुनेछु । अनि ऐन–कानून तिमीहरूबाट डराउनेछ । त्यसले तिमीहरूलाई छुनेछैन ।’

यसप्रकार जंगबहादुरले अनेक अनुहारमा एक शताब्दी चानचुन ऐन–कानून भन्दा माथि रहेर देशको शासन चलाए ।

लच्छु हाँस्यो, ‘कसरी थाहा पाउनुभयो तपाईंले, जंगबहादुरले आफ्ना भाइहरूलाई एकान्तमा भनेको कुरा ? आफैंले सुनेजस्तो गरी भन्नुहुँदैछ त ?’

‘किनभने, म स्वयं जंगबहादुर हुँ ।’

बूढो गम्भीर थियो । तर लच्छुलाई लाग्यो, ऊ जिस्किंदैछ । उसले पनि जिस्केरै गम्भीरताको अभिनय गर्‍यो, ‘तपाईं मरेकै डेढ सय वर्ष हुन लाग्यो...’

‘म मरेर सिद्धिने प्रजाति होइन । त्यही भएर आज पनि मेरो श्राद्ध गर्दैछन् । पिण्ड खान आइरहन्छु । आएपछि एक दुई दिन यतै बसिन्छ । हाम्रो एक दिन तिमीहरूको एक महीना हो भन्ने त तिमीलाई थाहै होला ।’

लच्छुले पत्याउने कुरै थिएन । तर उसलाई बूढाको कुरा रमाइलो लागिरहेको थियो । बूढाले कुरा अगाडि बढायो, ‘राणा शासन सिद्धिएपछि छ दशक जति राजाको राज चल्यो । तर राजवंशमा मेरै रगत प्रवाहित भइरहेको थियो । त्यसैले राजाहरू मेरै भाका दोहोर्‍याइरहन्थे, ‘संविधान र कानून हामीले दिने हो, त्यसैले हामी तीभन्दा माथि छौं । हामीलाई तिनले छुँदैनन् । ऐन–कानून लाग्ने प्रजालाई मात्र हो, राजा र राजपरिवारलाई होइन ।’

‘अब त राजा पनि छैनन् । गणतन्त्र आएकै १५ वर्ष हुन लागिसक्यो,’ लच्छुले प्रश्न गर्‍यो, ‘अब कोही जंगबहादुर कसरी बन्न सक्छ ?’

‘पहिले एउटा राजा हुन्थे । तिनलाई लखेटेपछि थुप्रै राजा पैदा भएका छन्,’ बूढाले भन्यो : ती सबैको टाउकामा तिम्रा महाराज छन् । उनी भन्छन्, ‘म संविधान भन्दा माथि छु । कानून मैले दिने हो, त्यसैले म कानून भन्दा माथि छु । मलाई संविधान, कानून केहीले छुँदैन । कानून लाग्ने जनतालाई मात्र हो ।’

उनी बिहान उठ्नासाथ ऐना हेर्छन् । त्यसमा आफ्नो होइन, मेरो अनुहार देख्छन् र दंग पर्छन् । तर आफूलाई मभन्दा शक्तिशाली ठान्छन् । भन्छन्, ‘जंगबहादुर त श्री ३ मात्र थिए । उनीभन्दा माथि श्री ५ हुन्थे, जसलाई राजा भनिन्थ्यो । अहिले दुवै छैनन् । त्यसैले दुवै मै हुँ । श्री ३ पनि, श्री ५ पनि । दुवैलाई जोडेर म श्री ८ महाराज हुँ । संविधान र कानूनले मेरो इच्छा अनुसार सास फेर्छन् । मैले जे भन्छु, त्यही संविधान हो । त्यही कानून हो । त्यही ऐन हो । त्यही नियम हो ।’

तिम्रा महाराज मेरा नयाँ संस्करण हुन् । उहिले मेरो अनुहार राणा खलकमा मात्र देखिन्थ्यो, अहिले उनको अनुहार जोसुकैमा पनि देखिन्छ ।

लच्छुले बूढालाई उडाउने हिसाबले भन्यो, ‘खोइ, मैले त आजसम्म कसैमा महाराजको अनुहार देखेको छैन । तपाईंका कुरा कसरी पत्याऊँ ?’

‘तिम्रा आँखा आधा टालिएका छन् । पख है त, म तिनलाई पूरै खोलिदिन्छु । अनि छर्लंग देख्नेछौ छोटे महाराजहरूलाई ।’ बूढाले भन्यो र आफ्नो आँखाबाट साइँली औंलाले अलिकति गाजल निकालेर लच्छुका आँखामा लगाइदियो ।

साँच्चै चमत्कार भयो । टाउको घुमाएर पल्लो टेबुलतिर हेर्दा लच्छुलाई लाग्यो, महाराज चुरोट तान्दै चिया खाइरहेका छन् । पहिले त ऊ झस्क्यो, तर ध्यान दिएर नजर लगाउँदा थाहा पायो, त्यो त उसकै गाउँको गुण्डा रहेछ, जो ऊसँगै बस चढेर काठमाडौं आएको थियो । नजाने कतिलाई लुटेको, पिटेको थियो उसले, तर कहिल्यै कानूनको पन्जामा परेको थिएन ।

लच्छु पुलकित भएको देखेर बूढाले भन्यो, ‘ल हिंड अब, तमाशा हेर्न ।’

दुवै जना चियापसलबाट निस्के र यस्सो आमसभातिर दृष्टिपात गरे । लच्छुले देख्यो— मञ्चमा आसीन पाँचै जना परम–वरिष्ठ नेता, जो हरेक सभामा पानी पिई पिई महाराजलाई गाली गर्न नामूद थिए, भाइ–महाराज देखिन थालेका थिए । तिनको गर्जन आफ्नै कर्महरूबाट डराएर गरिएको आर्तनाद जस्तो सुनिन्थ्यो । कोही मारिएकाहरूले, कोही घाइतेहरूले, कोही होली वाइन पिलाउनेहरूले, कोही नोटका सुटकेसहरूले, कोही सुन तस्करहरूले लखेट्लान् भनेर डराए जस्तो ।

अर्को सडकमा २० जना जतिको जुलूस थियो, थरीथरीका प्लेकार्ड बोकेर महाराजविरुद्ध नारा लगाउँदै हिंडेको । उनीहरू आफूलाई आफैंले अगुवा घोषित गरिरहेका थिए, स्वतन्त्रता पक्षधर बताइरहेका थिए र आफ्नो समर्थन नगर्नेलाई प्रतिगामीको उपाधि वितरण गरिरहेका थिए । रमाइलो त के भने, तिनीहरूको मुहारमा पनि महाराज नै हाँसिरहेका थिए ।

बूढाले लच्छुलाई भन्यो, ‘यसरी सडक नापेर हुँदैन । अब विभिन्न कार्यालय र मन्त्रालयतिर लागौं ।’

उनीहरू जहाँ पुगे, महाराज त्यहीं उपस्थित थिए । लच्छुले देख्यो— शक्तिको आडमा कानून मिच्ने र आफूलाई कानून भन्दा माथि ठान्ने हरेक व्यक्तिमा उनै क्रियाशील रहेछन् । कहीं व्यापारीको भेषमा एक करोडको सामान दिएर २२ करोडको बिल बनाइरहेका थिए त कहीं २२ करोड कर तिर्नुपर्नेमा एक करोड तिरिरहेका थिए । कर्मचारीको भेषमा दुवैको काम फत्ते गराइदिने पनि उनै थिए । कहीं अर्बौंको ऋण नतिरेर बैंक डुबाइरहेका थिए त कहीं समयमा पुल नबनाएर लागत दोब्बर बनाइरहेका थिए । कतै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराइरहेका थिए भने कतै राजनीतिक कार्यकर्ता बनेर बजेट पचाइरहेका थिए । भ्रष्टाचार गर्ने उनै थिए र भ्रष्टाचारीलाई उन्मुक्ति दिन पनि उनै सक्रिय थिए ।

मन्त्रालयमा मन्त्री र सांसदबीच सौहार्दपूर्ण संवाद चलिरहेको थियो । मन्त्री ‘यो त नियमले मिल्दैन यार’ भन्दैथियो । सांसद ‘नियमले मिल्ने भए तिमीकहाँ किन आउँथें ?’ भनेर पेल्दैथियो । सांसदले ‘एउटा हस्ताक्षर धस्काउँदा दुई करोड आउँछ, यस्तोमा पनि नियम खोज्ने ?’ भनेपछि मन्त्रीले ‘पैसा चाहिं सालीको खातामा हालिदेऊ नि’ भन्दै तत्काल सही गर्‍यो । सांसदले ‘यो हो नि मन्त्रीको पावर भनेको’ भनेर फुर्क्यायो भने मन्त्रीले ‘कानून नतोडेसम्म आफूसँग पावर भएको अनुभूति नै हुँदैन यार’ भनेर ङिच्च गर्‍यो । दुवैले अट्टहास गरे । दुवैको अनुहारमा महाराज झुल्किसकेका थिए ।

अन्त्यमा उनीहरू सरकारी अस्पताल छिरे । डाक्टरको कोठाबाहिर १२ जना बिरामी प्रतीक्षा गरिरहेका थिए । एउटाले गेटपालेलाई अलि पर लगेर के खासखुस गर्‍यो कुन्नि, उसले सात जनाको पालो मिचेर त्यसलाई भित्र छिराइदियो । अरू बिरामी गेटपालेलाई गाली गरिरहेका थिए, तर उसको अनुहार मलिन होइन, प्रफुल्लित थियो । लच्छु जिल्ल पर्‍यो, उसको काँधमाथि त महाराज पो मुस्कुराइरहेका रहेछन् । सोच्यो, ‘ऊ पनि आफ्नो ढोकाको महाराजै त हो नि !’

घाम अस्ताउन लागेको थियो । एउटा सेल्फी खिचिहाल्नुपर्‍यो भनेर लच्छुले बूढालाई आफ्नो पछाडि उभ्यायो र मोबाइल समातेर दाहिने हात अगाडि तन्कायो । बूढो मान्छे फ्रेममा परेन । मोबाइल दायाँ–बायाँ सार्दा पनि ऊ देखिएन । ‘नछेकिने गरी उभिनोस् न’ भन्दै लच्छु पछाडि फर्कंदा बूढो गायब भइसकेको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

अस्ताए मित्रसेन

मुटुको नियमित परीक्षणका लागि गंगालाल अस्पताल जाने तयारीमा थिए तर गाडीमा चढ्न नभ्याउँदै हृदयाघात भई भुइँमा ढलेका उनी फेरि उठेनन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — बिहान ९ बजे घरमा गाडी तयार थियो । कोट लगाएर आउँछु भनेर उनी भित्र पसे । तल झर्दा सवा ९ भएको थियो । एकाएक रिंगटा लाग्यो भने । गाडीमा चढ्न नभ्याउँदै उनी भुइँमा ढले । कपनस्थित घरबाट तीन जनाले हतार–हतार उनलाई ओम अस्पताल पुर्‍याए तर उनी फेरि उठेनन्  ।

ओखलढुंगामा जन्मेका ५८ वर्षीय मित्रसेन दाहाल तिनै व्यक्ति हुन्, जसले काठमाडौंदेखि २३ किमिपूर्व शंखरापुर नगरपालिका–४ स्थित लप्सीफेदीमा भव्य मैत्री सेवा आश्रम बनाइरहेका थिए ।

राजनीतिलाई समाज सेवासँग जोड्ने बिरलै नेतामा उनी पर्छन् । राजनीतिमा उनी बाल्यकालदेखि नै लागे । खासगरी कांग्रेसले घोषणा गरेको २०४२ सालको सत्याग्रह आन्दोलनताका पञ्चायती शासकले उनलाई जिल्लामा टिकिबस्न दिएनन् । उनी आफ्नो थातथलो छाडेर काठमाडौं आए । सत्याग्रहका बेला तीन महिना जेलसमेत बसे । राजनीतिमा उनी धेरै सफल हुन सकेनन् । ओखलढुंगा कांग्रेसको जिल्ला सचिव र २०७४ को निर्वाचनमा कांग्रेसबाट प्रदेश ‘क’ को उम्मेदवार भए । सांसद बन्न नसकेकामा उनलाई कुनै पछुतो थिएन, बरु मानव सेवा आश्रमलाई देशकै नमुना बनाउने उनको चिन्ता भने सदावहार थियो ।

उनले बिहीबार मात्रै जेपी प्रतिष्ठानकी आजीवन सदस्य धनदेवी भण्डारीले आश्रम निर्माणका लागि दुई लाख सहयोग गरेकामा लामो पृष्ठभूमिसहित बधाई दिएको स्टाटस फेसबुकमा राखेका थिए । शनिबारै उनले आश्रममा बैठकसमेत राखेका थिए । भाइ नाताका लेखनाथ दाहालका अनुसार उनले गंगालालमा मुटुको परीक्षण गरेर शुक्रबारै आश्रम जाने बताएका थिए । ‘तिमीहरू भोलि बिहान खाना उहीं खाने गरी आओ, म आजै जान्छु भन्नुभएको थियो,’ उनले भने, ‘थप ४६ वटा कोठा बनाउनेबारे छलफल गर्न बैठक बोलाउनुभएको थियो ।’

४२ रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा अहिलेसम्म साना–ठूला गरी ३५ वटा भवन बनिसकेका छन्, जसमा ६० जना बढी वृद्धवृद्धा बस्छन् । पूर्ण क्षमतामा चल्दा आश्रममा डेढ सय ज्येष्ठ सदस्य राख्न सकिन्छ । काठमाडौंको धूलोमैलोबाट अलि टाढा रमणीय वातावरणमा बनेको आश्रम सुविधासम्पन्न छ । त्यहाँ बस्ने वृद्धवृद्धाले आश्रममै उत्पादन गरेको अर्गानिक तरकारी खान पाउँछन् ।

गाईको दूध खुवाउन गाई फार्म छ । शुल्क तिरेर आश्रममा बस्न सकिन्छ । बाँचुन्जेल बस्छु भन्ने कतिले एक बेड रुमको ‘ब्लक’ किनेर बस्ने गरेका छन् । एक बेड रुम, किचन, बैठक हल र भित्रै शौचालय भएको ब्लक छ । थोरै शुल्कमा मासिक भाडा तिरेर बस्छु भन्नेले पनि बस्न पाउँछन् । आश्रमको कोषमा एकमुष्ट रकम राखेर त्यसैको ब्याजमा बाँचुन्जेल बस्न पाउने सुविधा पनि छ । ‘पछिल्लोपटक उहाँले असहाय र दीनदुःखीहरूलाई सित्तैमा राख्नका लागि सरकारसँग हारगुहारसमेत गरिराख्नुभएको थियो, आश्रममा चिकित्सकीय सुविधा दिन अस्पताल बनाउने उहाँको सपना थियो,’ भाइ लेखनाथले भने, ‘त्यसका लागि दाता खोज्ने र सरकारसँग आग्रह गर्ने काम भइरहेको थियो ।’

जीवनमा उनी नजोडिएका क्षेत्र कमै छन् । जिल्लाबाट काठमाडौं हान्निएपछि उनले विज्ञापन एजेन्सी चलाउन सुरु गरे । २०४७ सालमा आयाम विज्ञापन सेवा दर्ता गरेर उनले एजेन्सी चलाएका थिए । त्यतिबेला धेरै एजेन्सी थिएनन् । उनी सबैभन्दा बढी विज्ञापन प्रिन्टमा दिन्थे । गोरखापत्रले उनलाई सम्मानसमेत गरेको थियो । २०५७ सालमा उनले आयाम विज्ञापन सेवालाई नेपाल प्रिन्टर्स एन्ड ट्रेडर्स सहकारी लिमिटेडमा बदले । एजेन्सीबाट निजी लाभ प्राप्त गर्दै आएका उनले त्यसपछि भने अरू सदस्यलाई पनि जोडे । मुलुकभर कार्यक्षेत्र रहने गरी स्थापना भएको सहकारीका माध्यमबाट एजेन्सी चलाए । एजेन्सीबाट प्राप्त लाभ सहकारीमा जोडिएका सबैलाई मिल्न थाल्यो । अहिले पनि सहकारी चलिरहेको छ । २०५१ सालमा राष्ट्रियस्तरको प्रतिष्ठान बनाउने अठोट लिए । सुरुमा स्कुल नजाने बालबालिकालाई पढाउने अभियान प्रतिष्ठानबाट थाले ।

२०५१ देखि २०६७ सालसम्म दूरदराजमा पुगेर दलित, उत्पीडित र विपन्नका छोराछोरीलाई वार्षिक १ हजार ५ सय छात्रवृत्ति दिएर पढाउने अभियान थाले । १० जनालाई आफैंले छात्रवृत्ति दिएर पढाए । एक हजार जनाभन्दा बढीलाई अन्य दाताको सहयोगमा स्कुलमा पढाउन थाले । २०६४ सालमा किड्नी प्रत्यारोपण गरेपछि उनी आफ्नो जीवनलाई ‘बोनस लाइफ’ भन्थे ।

त्यसपछि मैत्री सेवा आश्रमका माध्यमबाट समाज सेवामा आफूलाई समर्पण गर्ने अठोट गरेका थिए । समाज सेवाका लागि २०६८ साल वैशाखमा उनले पशुपतिमा संकल्प महायज्ञ लगाए । त्यसैमा ५५ लाख ५५ हजार रुपैयाँ बराबरको जग्गा दान गरे । त्यसबाहेक करिब २ करोड रुपैयाँ महायज्ञमा संकलन भयो । राज्यबाट १३ करोड रुपैयाँ प्राप्त भयो । आश्रमका ४९ सदस्यमध्ये २८ जनाले एक/एक लाख सहयोग हाले । त्यसबाट जग्गा किन्ने, भवन बनाउने काम भयो ।

उनको सपना अस्पतालसहितको संरचना विस्तार गर्ने थियो । आश्रम चलाउन राज्यबाट हारगुहार गरी गरिब र दीनदुःखीहरूका लागि निःशुल्क राख्ने सपनासमेत थियो । तीन वर्षअघि उनी मुटु रोगले पनि थलिएका थिए । त्यसैले ६/६ महिनामा नियमित मुटु परीक्षण गर्थे । नियमित परीक्षणका लागि बिहान सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी जाने तयारीमा थिए । ड्राइभरलाई गाडी रेडी बनाउनु भनेर तल झरेका उनी हृदयाघातकै कारण कहिल्यै नउठ्ने गरी अस्ताए । उनका श्रीमती, जुम्ल्याहा छोराछोरी छन् ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×