कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भ्याक्सिन लगाऊँ कि नलगाऊँ ?

कोरोना भाइरसको भ्याक्सिन नयाँ र आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको हुँदा आफ्नो स्वास्थ्य सुरक्षाको चासो राखेर यसप्रति आशंका सिर्जना हुनु स्वाभाविक नै हो । समाजका प्रतिष्ठित व्यक्ति, सेलेब्रिटी, राजनीतिज्ञ, उच्च ओहोदामा बसेकाहरुले नै लगाउन सुरु गरिदिए सर्वसाधारणको भ्याक्सिनप्रतिको विश्वास थप बढेर जाने थियो कि ?
शेरबहादुर पुन

नेपालमा आधिकारिक रूपमा कोरोना भाइरस देखिएको एक वर्ष पुगेको छ। त्यसको दुई महिनापछि कोरोना संक्रमणको दोस्रो केस पुष्टि भएको थियो । लगत्तै लामो लकडाउन सुरु भयो। त्यस बेला नेपालमा कोरोना भाइरस व्यापक नहुँदा पनि सबैमा मनोवैज्ञानिक त्रास थियो ।

कोरोना भ्याक्सिन लगाऊँ कि नलगाऊँ ?

उक्त समयमा कोरोना पहिचान गर्ने प्रविधि (पीसीआर) पर्याप्त थिएन । उपचारमा औषधि प्रयोगको सीमित जानकारी थियो । जनस्वास्थ्यका मापदण्ड सबैका लागि नौलो तर अत्यासलाग्दो थियो । यसको अर्थ हामीसँग कोरोना भाइरसको जटिलता/मृत्युबाट बच्ने निर्विकल्पक उपाय खोप मात्र हुन सक्ने सोचिएको थियो ।

चीन, युरोप, अमेरिका, ब्राजिल तथा भारतमा जनस्वास्थ्यका मापदण्ड तथा लकडाउन लगाउँदा–लगाउँदै पनि कोरोनाले गरेको/गर्दै गरेको ठूलो मानवीय क्षतिलाई रोक्न नसकिएको अवस्थामा भ्याक्सिन नै आशा र भरोसाको ठूलो आधार बनेको छ।

भ्याक्सिन विकासमा फाइजर/ बायोएनटेक, अक्सफोर्ड/एक्स्ट्राजेनेका, सिनोफार्म, सिनोभ्याक, गमालेया रिसर्च इन्स्टिच्युट (स्पुत्निक भी), भारत बायोटेक जस्ता संस्था/कम्पनी/ विश्वविद्यालय अगाडि देखिन्छन् । बेलायत, अमेरिका, चीन, रुस, भारतलगायत विभिन्न देशले आपत्कालीन प्रयोगका हाल उपलब्ध भएका कोरोना खोपलाई स्वीकृति दिएर पनि आफ्ना नागरिकलाई लगाउन सुरु गरिसकेका छन् ।

नेपालमा पनि खोप उपलब्धताबारे बहस हुँदै गर्दा भारतले नेपाललाई दस लाख डोज सहायतास्वरुप दिएको छ। नेपालमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका फ्रन्टलाइनरलाई खोप लगाउने सरकारले घोषणा गरिसकेको छ । खोप कार्यक्रमको घोषणासँगै स्वास्थ्यकर्मीहरुबीच भित्रभित्रै एक प्रकारको बहस र जिज्ञासाले तीव्रता पाएको छ। त्यो हो 'भ्याक्सिन लगाऊँ कि नलगाऊँ ?'

भ्याक्सिन आफैँमा नयाँ भएकाले यस्तो दुबिधा देखिनु अनौठो होइन । भारतमा केही दिनअघि मात्र भ्याक्सिन लगाउने अभियान सुरु भएपछि आएका सकारात्मकभन्दा नकारात्मक समाचारले सामाजिक सञ्जाल भरिएका थिए । यस्ता प्रतिक्रियाले स्वाभाविक रुपमा प्रभाव पारिहाल्छन् । भारतले एकैसाथ कोभ्याक्सिन र कोभिसिल्ड गरी दुई भ्याक्सिन प्रयोगमा ल्याएको छ । तर यी दुईमध्ये कुन भ्याक्सिनका कारणले नकारात्मक असर देखा परिरहेको हो भन्ने स्पष्ट छुट्याइएको छैन ।

भारत आफैँले उत्पादन गरेको कोभ्याक्सिनको हालसम्म भएका क्लिनिकल ट्रायलहरुको तथ्यांकहरु सार्वजनिक गरिएको छैन।कोभिसिल्ड भ्याक्सिन अक्सफोर्ड/एक्स्ट्राजेनेकाद्वारा विकास गरी तेस्रो चरणको क्लिनिकल ट्रायलको नतिजासमेत प्रकाशित भइसकेको छ । जसमा यो भ्याक्सिन समग्रमा ७०% प्रभावकारी र प्रयोगका लागि सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । तर ती ट्रायलहरु कुनै पनि दक्षिण एसियाली देशहरुमा नगरिएकाले (गरिएको भए पनि सार्वजनिक नहुँदा) सो भ्याक्सिनको प्रभावकारिता वा नकारात्मक प्रभावको नतिजा तेस्रो चरणको क्लिनिकल ट्रायलमा देखिएजस्तै हुबहु हुनैपर्छ भन्ने छैन ।

भारतमा हाल सो भ्याक्सिन दैनिक लाखौँले प्रयोग गर्दैगर्दा यसबारे थप नकारात्मक प्रभावहरुको नतिजा/जानकारीबारे नेपालले सूक्ष्म अध्ययन/विश्लेषण गर्नुपर्छ । त्यसपछि मात्रै सोहीअनुसार योजना बनाउँदै भ्याक्सिन अभियानलाई अगाडि बढाउन सहयोग पुग्ने थियो । हाल नेपालीको सबैभन्दा ठूलो चासो, जिज्ञासा वा चिन्ता भनेको पनि भ्याक्सिनको नकारात्मक असरबाट आफू कति सुरक्षित हुन्छु भन्ने हो । यस्तो जानकारीले नेपालको 'भ्याक्सिन प्रयोग तथा सुरक्षा' सम्बन्धी निर्देशिका पनि परिमार्जन गर्दै लैजान सहज हुनेछ।

भ्याक्सिन लगाउने/नलगाउने दुबिधासँगै कस्तो व्यक्ति भ्याक्सिन लगाउन योग्य हुने/नहुने भन्ने प्रश्न पनि व्यापक बन्दै गइरहेको छ । धेरैभन्दा धेरै प्रयोगकर्ताहरुमा समस्या वा जटिलता हुन नदिनु वा हुनबाट रोक्न सकिए मात्र भ्याक्सिन लगाएको सार्थक हुनेछ। अर्थात् क्लिनिकल ट्रायलमा कुन स्वास्थ्य समस्या भएका समूहमा भ्याक्सिनको नकारात्मक असरहरु बढी देखिएको थियो वा कुन समूहका मानिसहरुलाई क्लिनिकल ट्रायलमा समावेश गरिएको थिएन भन्ने जानकारीका आधारमा भ्याक्सिन दिने/नदिने निर्क्योल गरिनुपर्छ ।

वास्तवमा, आगामी दिनहरुमा भ्याक्सिन प्रापकमध्ये कुन समूहमा थप समस्या देखिनेछ भन्ने र भ्याक्सिनले दिने सुरक्षा अवधिबारे थाहा पाउन सकिनेछ । कोरोना भाइरसको उतारचढाव निरन्तर देखिँदै गर्दा यसलाई आपत्कालीन प्रयोगका लागि विभिन्न देशहरुले स्वीकृति दिएका हुन् ।

नेपालमा कोरोना भाइरस देखिएको वर्ष दिन पार हुँदा पनि औसतमा दैनिक ५-७ जना संक्रमितहरुको मृत्यु भइरहेको छ । हाल सबै मृतकको कोरोना परीक्षण नहुने हुँदा यो संख्या अझै बढी हुन सक्ने अनुमान गर्न सकिन्छ । आगामी दिनमा कोभिसिल्ड भ्याक्सिन भारतमा प्रयोग हुँदै गर्दा कुन समूहमा जोखिम बढी हुन्छ भनेर विस्तृत जानकारीहरु आउने नै छन् ।

नयाँ भेरिएन्टको कोरोना भाइरस बेलायतमा आक्रामक देखिँदा अर्को लहर सुरु भएको छ । यो भाइरस स्वरुप परिवर्तन हुनुभन्दा अगाडिको कोरोनाभन्दा थप संक्रामक रहेको पत्ता लागेको थियो । तत्पश्चात् नेपाललगायत विभिन्न देशले बेलायत आवतजावतमा प्रतिबन्ध लगाएका थिए । तर केही दिनअघि मात्र यो भाइरस नेपाल पनि भित्रिएको प्रमाणित भइसकेको छ । नेपालमा जनस्वास्थ्यका मापदण्डहरु बिस्तारै बिर्सिइँदै जाँदा र राजनीतिक घटनाक्रमले गर्दा देखिएको भीडभाडले कोरोनाको जोखिम थप बढाएको देखिन्छ ।

यस्तो अवस्थामा तीव्र गतिमा फैलने नयाँ स्वरूपको कोरोना भाइरस देखिन सुरु भए त्यो नेपालका लागि चुनौती हुनेछ । नेपालमा कोरोनासँग जुध्न एक वर्षमा थप जनशक्ति, भौतिक स्रोतसाधन तथा संरचना बढाइएको छैन । हाल नेपालमा कोरोनाको पहिलो लहर केही मत्थर भएको त छ तर अर्को लहर आउँदैन भनेर ठोकुवा गर्न सकिँदैन । भ्याक्सिनको प्रयोग गरियो भने पहिलो लहरमा देखिएको जस्तो कोरोनाको वेगलाई धेरै हदसम्म कम गर्न सकिने भन्नेमा चाहिँ वैज्ञानिक तथा नीतिनिर्माताहरु विश्वस्त देखिन्छन् ।

अन्त्यमा, नेपालमा प्रयोगमा आउन लागेको भ्याक्सिनले (कोभिसिल्ड) तेस्रो चरणको क्लिनिकल ट्रायल सफलतापूर्वक पार गरिसकेको छ जुन प्रभावकारी र सुरक्षित भनिएको छ । कुनै पनि भ्याक्सिन प्रयोग गर्दा कसै-कसैलाई सामान्य साइड इफेक्ट देखिन सक्छ । तर भ्याक्सिन प्रापकलाई स्वास्थ्यमा असहजता महसुस भए तुरुन्त परामर्श/उपचार गर्न सकिने वातावरण भने सम्बन्धित निकायले बनाइदिनुपर्छ ।

कोरोना भाइरसको भ्याक्सिन नयाँ र आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको हुँदा स्वास्थ्य–सुरक्षाको चासोलाई लिएर आशंका सिर्जना हुनु स्वाभाविक नै हो। समाजका प्रतिष्ठित व्यक्ति, सेलेब्रिटी, राजनीतिज्ञ, उच्च ओहोदामा बसेकाहरुले नै लगाउन सुरु गरिदिए सर्वसाधारणको भ्याक्सिनप्रतिको विश्वास थप बढेर जाने थियो कि ?

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : माघ १३, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?