कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जातको प्रश्‍न’को दोस्रो सिजन असोज २२ देखि

काठमाडौँ — चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउने भएको छ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले जानकारी दिए । 

‘जातको प्रश्‍न’को दोस्रो सिजन असोज २२ देखि

जातको प्रश्नको दोस्रो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी सञ्चालकका रुपमा रहनेछन् । यो सिजनमा पनि कार्यक्रमको निर्देशन शान्ता नेपालीले नै गर्नेछिन् । तर, यसपटक मधेस र अन्तरजातीय विवाह सम्बन्धका कथाहरु प्रस्तुत गरिने अध्यक्ष परियारले बताए । यो सिजनमा पनि कार्यक्रमका १२ वटा श्रृंखला प्रसारणमा आउनेछ ।

‘जात व्यवस्थाले उत्पन्न गरेको सामाजिक द्वन्द्वले हामी कसैलाई पनि छाडेको छैन । कुनै पनि प्रकारका जातीय भेद्‌भाव र असमानता सबै तह र तप्कामा व्यक्तिको साझा समस्या हो । त्यसैले, सबै किसिमका भेद्‌भावमुक्त समाजको निर्माणमा सबै वर्ग, जात–जाति र लिंगका सदस्यको योगदान आवश्यक छ,’ अध्यक्ष परियारले भने । उनले जातको प्रश्नलाई जात व्यवस्थाले सिर्जना गरेको संरचनागत विभेदविरूद्ध सीमान्तकृत समुदायको प्रतिरोधलाई अझ सशक्त बनाउने एउटा अभियानको रुपमा अघि बढाउन चाहेको बताए ।

गत वर्ष पनि जातको प्रश्नका १२ श्रृंखला प्रसारण भएको थियो । जसले वर्ल्ड जस्टिस च्यालेन्ज, २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको थियो । ‘दलितविरूद्ध हुने हिंसा, अत्याचार र विभेद कहिले रोकिएला ? यो नेपाल राज्यमा दलितले नागरिक हुनुको अनुभव कहिले गर्लान् ? जातको आधारमा हुने विभेद कहिले अन्त्य होला ? सबै जात–जातिका व्यक्तिले समान अधिकार भएको नागरिक तथा समावेशी, समतामूलक र न्यायपूर्ण समाजमा बाँच्नुको अनुभव कहिले गर्लान् ?,’ परियारले विज्ञप्तिमार्फत भनेका छन्, ‘यी र यस्तै प्रश्नका उत्तरको खोजी नै ‘जातको प्रश्न’ हो ।’

यो श्रृंखलामा नेपाली दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू प्रस्तुत हुने निर्देशन नेपालीले बताइन् । कार्यक्रमले संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउने अपेक्षा रहेको उनले बताइन् ।

०६५ सालमा स्थापना भएको फाउन्डेशनले दलित तथा सीमान्तकृत समुदायको क्षेत्रमा अध्ययन-अनुसन्धान र नीतिगत पैरवी गर्दै आएको छ ।


प्रकाशित : भाद्र २६, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?