कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपेन्द्रजीले राम्रो काम गर्नुभएन : राजेन्द्र महतो

काठमाडौँ — जनता समाजवादी पार्टीमा एकीकरणपूर्वका राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी पक्षधरबीच ध्रुवीकरण बढ्दै गएको छ । दुवै पक्षले अलग–अलग निर्णय गर्न थालेका छन् ।

उपेन्द्रजीले राम्रो काम गर्नुभएन : राजेन्द्र महतो

प्रतिनिधिसभा पुनःस्थापनापछि नै केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने वा हटाउने विषयमा विभाजित जसपाको विवाद लुम्बिनी प्रदेशको सत्ता समीकरणले उत्कर्षमा पुर्‍याएको छ । यसै सन्दर्भमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरिएको कुराकानी :

तपाईंहरूको उपस्थितिबिनै कार्यकारिणी समितिको बैठक बसेको कुरा आयो, के हो ?

पार्टीको कार्यकारिणी समिति बैठकको आह्वान भएको थिएन । औपचारिक बैठक पनि भएको छैन । बैठकबारे हामीलाई थाहा पनि छैन । कसरी त्यो बैठक भयो ? साथीहरूसँग कसरी हस्ताक्षर गराइयो ? केही थाहा छैन ।

तपाईंहरूबीच बैठक बस्ने छलफल त भएको थियो नि ?

नेताहरू बसेका बेला कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा कुरा चलेको हो । तर, बढ्दो कोरोना संक्रमण र काठमाडौंमा निषेधाज्ञा लगाउने तयारीका बीच बैठक सम्भव थिएन । एक दिनको समय थियो । त्यही भएर लुम्बिनी प्रदेशको वा अन्य सन्दर्भमा उपयुक्त समयमा बैठक बस्नुपर्छ भनेका थियौं । तर, हठात् रूपमा चोर बाटो प्रयोग गरेर त्यही दिनको मितिमा बैठक बसेको कुरा बाहिर आएको छ । त्यो किर्ते काम हो । त्यसले पार्टीलाई हित गर्दैन ।

लुम्बिनी प्रदेशमा पार्टीको निर्णय नमान्ने सांसदलाई कारबाही गरिएको विषयलाई कसरी लिनुभएको छ ?

पहिलो, औपचारिक बैठक नै भएको छैन । दोस्रो, लुम्बिनी प्रदेशको सरकारमा सहभागी सांसद र मन्त्रीलाई हटाउने निर्णयको प्रक्रिया पनि गलत छ । पार्टी प्रदेश कमिटीलाई अधिकार दिएको र त्यहाँबाट सिफारिस आएको विषय नै त्रुटिपूर्ण छ । जसपाको पार्टी प्रदेश कमिटी नै बनेको छैन । छुट्टाछुट्टै प्रदेश कमिटी छन् । त्यस्तो कमिटीको सिफारिस र कारबाही नै अवैधानिक छ ।

तेस्रो, लुम्बिनी प्रदेशको सरकारका सन्दर्भमा पार्टी केन्द्रले कुनै निर्णय गरेको छैन । प्रदेशमा आधिकारिक बडी भनेको संसदीय दल मात्रै हो । प्रदेशसभामा ६ जना सदस्य छन् । उनीहरू अधिकार प्राप्त छन् । बहुमतले कुनै पनि निर्णय लिन सक्छन् । त्यसैले अहिले जुन कारबाहीको कुरा भनिएको छ, त्यो गलत हो । आग्रह, पूर्वाग्रह र गलत तरिकाबाट किर्ते काम गरिएको छ । बैठकका नाममा किर्ते गरिनु दुर्भाग्यपूर्ण छ । यसले पार्टीको एकतालाई धक्का पुर्‍याएको छ । अध्यक्ष उपेन्द्रजीले राम्रो काम गर्नु भएन । यसले पार्टीलाई नोक्सान पुर्‍याएको छ ।

अब गरिसकेको निर्णय स्विकार्नु हुन्छ ?

पार्टीले गरेको निर्णय त सबैले मान्नुपर्छ । तर गलत उद्देश्यले अपारदर्शी ढंगले गरिएका निर्णय मान्ने कुरा हुँदैन । किर्ते कामलाई समर्थन गर्न सकिन्न । केही दिन पर्खेर सबैलाई बोलाई व्यापक छलफल गरेर निर्णय गरिनुपर्थ्यो ।

अनुशासनमा राख्ने कुराले एकतामा असर गर्दैन : उपेन्द्र यादव

सर्वसम्मत वा बहुमतबाट जे निर्णय गरे पनि हुन्थ्यो । पारदर्शी, खुला र लोकतान्त्रिक तरिकाले भएका निर्णय सबैका लागि स्वीकार्य हुन सक्थ्यो । तर, जालसाजी ढंगले, घर घरमा पुगेर हस्ताक्षर गराएर बैठकको नाम दिनु पार्टीको हित र सञ्चालन प्रक्रियाविपरीत हो । पार्टी एकताका लागि कठोर परिश्रम गरेको थिएँ । यसमा धक्का पुर्‍याउने कामले दुःख पुगेको छ ।

एक पक्षले निर्णय गर्ने र तपाईंहरूले नमान्ने अवस्थामा पार्टी विभाजनको दिशामा जाला नि ?

पार्टी विभाजन हुँदैन । सबै सन्दर्भमा पार्टीभित्र व्यापक छलफल हुन्छ । पारदर्शी ढंगले छलफल चलाएर पार्टीको हितमा उपयुक्त निर्णय हुन्छ । दुईवटा पार्टीको एकीकरण खास उद्देश्यका लागि भएको हो । वैकल्पिक शक्ति निर्माण गरेर राष्ट्रिय मुक्ति आन्दोलनमार्फत यो देशलाई एकल राष्ट्रिय राज्यबाट बहुल राष्ट्रिय राज्यमा लैजान निर्माण गरिएको हो । सबै प्रकारको विभेद अन्त्य गर्दै अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि जसपा बनाइएको हो । पछिल्लो क्रियाकलापले त्यो उद्देश्यमा धक्का पुग्ने देखिएको छ । त्यो दुर्भाग्यपूर्ण हो ।

पार्टीभित्र सामूहिक छलफलको सम्भावना छ ?

छ, पार्टीभित्र सबै साथीसँग छलफल हुन्छ । गलत तरिकाले पार्टीलाई लैजान मिल्दैन । यो विगतको राजपा वा समाजवादी होइन । यो जसपा हो । त्यसको हेक्का राख्नुपर्छ । त्यो हिसाबको मनस्थिति सबैले बनाउनुपर्छ ।

बैठकमा पूर्वराजपा नेताको हस्ताक्षर पनि देखिन्छ नि ?

केहीले गर्नुभएको छ । केही समाजवादीकाले पनि गरेका छैनन् । सबैको हस्ताक्षर हो कि होइन भनेर पनि प्रश्न उठेको छ । त्यसको प्रमाणिकता देखिएन ।

सत्ता समीकरणको सन्दर्भमा तपाईंहरूको मनस्थिति के छ ?

सत्ता समीकरणको विषय हाम्रो एजेन्डा बनिसकेको छैन । कसैलाई सत्ताका लागि हतार होला, हामीलाई छैन । अहिले राष्ट्रिय राजनीतिमा जसपाले पाएको ताकतलाई वर्षौंदेखिका माग सम्बोधनका लागि अवसरका रूपमा प्रयोग गर्नुपर्छ । वर्तमान सरकारसँग हाम्रा माग, मुद्दा सम्बोधन गर्नतर्फ लागेका छौं । त्यसलाई बाधा पुर्‍याउने काम कसैबाट हुनुहुँदैन । अर्को समीकरण बनाएर सरकारमा जाने हतार गलत हो ।


प्रकाशित : वैशाख १८, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?