कुराकानी

‘ललितपुर महानगरलाई प्लास्टिक झोलामुक्त सहर बनाउँछौं’

ललितपुर महानगरपालिकामा यतिबेला करिब ३ अर्ब रुपैयाँ बेरूजु फर्छ्यौट गर्न बाँकी छ । गत ५ वर्षमा महानगरले कहिल्यै पनि समयमा बजेट ल्याउन सकेन । करछली गरिरहेका स्कुल, कलेज, सपिङ मलदेखि ठूला घरधनीहरूलाई कानुनी दायरमा ल्याउन पनि सकेन । महानगरको बोर्ड बैठकका निर्णय पनि अधिकांश अधुरै छन् ।

‘ललितपुर महानगरलाई प्लास्टिक झोलामुक्त सहर बनाउँछौं’

यस्तो अवस्थामा दोस्रो पटक पनि मेयर जितेका चिरिबाबु महर्जनका महानगर सुधार र विकासका आगामी योजनाहरु के-के छन् ? यसबारे नवनिर्वाचित मेयर महर्जनसँग कान्तिपुरका प्रशान्त मालीले गरेको कुराकानीको सम्पादित अंश:

पहिलेभन्दा पनि यसपालि धेरै मतान्तरले निर्वाचित हुनुभयो । तपाईंलाई मतदाताले रूचाउनुको कारण के होला ?

मैले विगत ५ वर्षमा गरेको कामको महानगरवासीले राम्रैसँग मूल्यांकन गर्नुभएको रहेछ भन्ने कुरा यो निर्वाचनमा मलाई प्राप्त मतले देखाएको छ ।

तपाईंका अधुरा योजनाहरु पनि छन् । ती अधुरा काम पूरा गर्नेबाहेक थप नयाँ योजनाहरु के-के छन् ?

विगत कार्यकालमा वाचा गरिएका धेरै योजनाहरु सम्पन्न गरेका छौँ । यद्यपी, ५ वर्षअघि चुनावका बेला मैले ललितपुर महानगरपालिकालाई प्लाष्टिक झोलामुक्त सहर बनाउने वाचा गरेको भए पनि त्यो पूरा गर्न सकिन । टेन्डर प्रक्रिया ढिला हुन जाँदा त्यो कार्य पूरा हुन सकेन । अब महानगरवासीको साथ र सहयोगमा हामी ललितपुरलाई प्लास्टिक झोलामुक्त सहर बनाउँछौं ।

महानगरको आन्तरिक स्रोत वृद्धि गर्ने योजना के छन् नि ?

आन्तरिक राजश्व वृद्धिका लागि ठूला करदाताहरूलाई सकेसम्म खुसी पारेर राजश्व तिर्न लगाउने सोचमा छौँ । यही सोचअनुसार लविम मलसँग तीन चरणको बैठक गरेर करिब ४ करोड २५ लाख रुपैयाँ भुक्तानी लिइसकेका छौँ । यसरी नै ‘एप्रोच’ गरेर महानगरको कर वृद्धि गर्न लागि पर्ने हाम्रो योजना रहेको छ ।

महानगरपालिकामा अर्बौं रुपैयाँ बेरुजु रहेको छ । कसरी फर्छ्यौट गराउने सोच्दै हुनुहुन्छ ?

यो संस्थागत बेरुजु हो, व्यक्तिगत होइन । फर्छ्यौटका लागि हामीले पहल गरिरहेका छौँ । यसमा बेरुजु फर्छ्यौट समितिले पनि काम गरिरहेको छ । हरेक आर्थिक वर्ष सकिएपछि बेरुजुचाहिँ थपिँदै जाँदोरहेछ । अब हामी यसलाई घटाउन प्रयास गर्नेछौं । स्थानीयको अवरोधले गर्दा पनि विनियोजित बजेट खर्च नहुने स्थिति आउँदोरहेछ । त्यसैले बजेट खर्चमा स्थानीय सहभागिता र सहयोग बढाउन हरसम्भव प्रयास गरिनेछ ।

संघीयता कार्यान्वयनसँगै स्वास्थ्य र शिक्षा स्थानीय तहमा आएको छ । सुधारका योजना के छन् ?

स्वास्थ्य र शिक्षा सुधारका लागि हामीले धेरै योजनाहरु बनाएका छौं । तीमध्ये हामीले भक्तपुर नगरपालिकाले विगत ५ वर्षमा यस क्षेत्रमा कसरी काम गरेछ भनेर अध्ययन गरेका छौं । अब भक्तपुरकै मोडलमा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार गर्ने कि भन्ने सोच पनि बनाउँदै छौं ।

पुल्चोकको पलेस्वाँ पोखरी निर्माण र शंखमूलको विद्युतीय शवदाह गृह निर्माणमा देखिएको विवाद कसरी सुल्झाउने सोच्दै हुनुहुन्छ ?

पलेस्वाँ पोखरी निर्माणका लागि डीपीआर तयार गर्न पैसा छुट्याएका छौं । त्यसैअनुसार काम अगाडि बढिसकेको छ । शंखमूलको शवदाह गृहबारे स्थानीय जसले विरोध गरेका छन् उहाँहरुलाई यसबारे बुझाउने प्रयास भइरहेको छ । अहिले त्यहाँ खुलारूपमा दिनको ३/४ वटा शव जलाइन्छ । त्यसले वातावरण प्रदूषण भइरहेको छ । गन्ध फैलिइरहेको छ । त्यसको नियन्त्रण गर्नको लागि पनि विद्युतीय शवदाह गृह बनाउन आवश्यक छ । हामीले शवदाह गृह बनाउन लाग्दा केही स्थानीयले मुद्दा हाल्नुभयो । त्यो मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ । मलाई विश्वास छ अदालतबाट हामीले शंखमूलमा विद्युतीय शवदाह गृह बनाउन स्वीकृति पाउने छौँ ।

पुस्तौँदेखि बस्दै आइरहेका स्वबासी, बेनिसा, छुट जग्गा दर्ता नखुल्दा महानगरवासीले लालपूर्जा पाउन सकेका छैनन् । यो समस्या सम्बोधन गर्ने तपाईंको योजना के छ ?

अघिल्लो कार्यकालमै स्वबासी जग्गाको लालपूर्जा वितरण निम्ति समिति बनाएर काम अगाडि बढाउन प्रयास गरेको थिएँ । तर, त्यो पुरा हुन सकेन । त्यसलाई हामी फेरि अगाडि बढाउँछौं । अधिकांश खोकनाबासीको लालपूर्जा नहुँदा दुःख पाइरहेका छन् । यसबारे ध्यान दिनेछौं । अहिले हाम्रो पार्टीले महानगरमा काम गर्ने स्पष्ट बहुमत पाएको छ ।

सार्वजनिक र गुठी जग्गा संरक्षण, उपत्यका नगर विकास प्राधिकरण खारेज र जग्गा प्लटिङ रोक्ने के कस्ता योजना छन् ?

उपत्यका नगर विकास प्राधिकरण खारेज गर्ने भन्ने अघिल्लो कार्यकालमा काठमाडौं उपत्यका मेयर फोरमको पहिलो बैठकले निर्णय गरेको थियो । तर, त्यो काम भएको छैन । अब फेरि काठमाडौं उपत्यका मेयर फोरमको नयाँ बैठकले त्यसलाई कसरी लिन्छ, त्यसमा हाम्रो असहमति रहँदैन । जहाँसम्म जग्गा प्लटिङको कुरा छ महानगरपालिकाभित्र प्लटिङ गर्न महानगरपालिकाको अनुमति लिनुपर्ने छ । त्यस्तो अनुमति सम्बन्धित वडाले दिनेछ ।

विगत ५ वर्षसम्म बोर्ड बैठकले निर्णय गरेका तर कार्यान्वयन नभएका राजकुलो पाटन ल्याउने, खोकना, बुङ्मती, हरिसिद्धिलाई मूर्त र रातो मत्स्येन्द्रनाथ, पाटन दरबारक्षेत्रमा सञ्चालन हुने जात्रापर्वलाई अमूर्तअर्न्तगत विश्वसम्पदामा सूचीमा सूचिकृत गर्ने योजना अब सफल होला ?

यी काम सम्पन्न गर्न विज्ञ समूहलाई अगाडि सारिसकेका छौं । तर, यो निकै कठिन काम हो । त्यति सजिलो छैन । तसर्थ उहाँहरू (विज्ञ समूह) लाई एकैपटक ३/४ वटा काममा हात नहाल्नुस्, अचुक तरिकाले रामवाण शैलीमा काम गरौं भनेको छु । उहाँहरू यसमा लागि पर्नु भएको छ । आशा गरौं राम्रो परिणाम निस्कन्छ । कार्यान्वयनका लागि यो पटक बजेटमै व्यवस्था गर्ने छौं ।

महानगरको जल्दोबल्दो समस्याको रुपमा रहेको बेरोजगारी समस्या, ट्राफिक जाम, धूवाँ, धूलो र फोहोरमैला व्यवस्थापन गर्ने योजना के छन् ?

ललितपुर ‘मेट्रोपोलिटन सिटी ट्रान्सपोर्टेसन मास्टर प्लान’ बनाएका छौं। त्यसलाई एकैपटक कार्यान्वयन गर्न सकिँदैन । बिस्तारै कार्यान्वयन गर्दै जान्छौं । यो भनिरहँदा धेरै ठाउँमा सडक एकतर्फी अर्थात् ‘वान वे’ गरिसकेका छौं । धेरै ठाउँमा सवारी जान नपाउने बनाएका छौं । यस्ता योजनाहरु क्रमशः लागू गर्दै जाने छौं । जहाँसम्म धूवाँ र धूलोको कुरा छ । त्यसलाई नियन्त्रण गर्ने हाम्रो पहिलो प्राथमिकता रहन्छ । पुरा ध्यान दिएर अझै ललितपुरलाई सफा र सुन्दर बनाउन लागि पर्छौं ।

पाटनको कला, संस्कृति प्रवर्द्धन गर्न के गर्नुहुन्छ ?

पाटनको कला, संस्कृति, रितिथिति, जात्रापर्व संरक्षण गर्ने हाम्रो पहिलो प्राथमिकतामा पर्छ । यदि तपाईं पाटन दरबारको मूलचोकमा छिर्नुभयो भने भूकम्पले गर्दा त्यहाँ राखिएका टुँडालहरू कुनैमा चारवटा हात छन् भने कुनैमा हातै छैन । कुनैमा तीनवटा हात छन् भने कुनैमा एउटा मात्र हात छ । यसलाई कसरी पुरानै अवस्थामा फर्काएर बचाउन सकिन्छ भनेर हामी सल्लाह गरिरहेका छौं । अब यो कार्य पनि छिट्टै कार्यान्वयनमा जानेछ ।

उम्मेदवार नभएको कांग्रेसको उपमेयरमा १० हजार ७ सय २० मत खसेको छ । माओवादी केन्द्रले गठबन्धन धोका भयो भरिरहेको छ । माओवादी केन्द्रबाट जितेका वडाध्यक्षहरु छन् । उपमेयरमा प्रमुख प्रतिपक्षी एमालेले जितेको छ । उनीहरुलाई कसरी मिलाएर लैजानुहुन्छ ?

गठबन्धनबाट उपमेयरका उम्मेदवार बाबुराज बज्रचार्यलाई जिताउन मैले कुनै कसर बाँकी राखिन । उहाँलाई भोट माग्दामाग्दै पनि पराजित हुनुभयो । यो चुनावको कुरा हो । अब हामी जजसले जित्यौँ, जजसले हार्‍यौँ, यसलाई भुल्न म आग्रह गर्छु । अब हामी सबै मिलेर ललितपुर महानगरको उन्नतिमा जुट्ने हो । चुनाव सकिइसकेपछि अब कसैले कसैलाई दोषारोपण गर्नु हुँदैन । अब हार्ने, जित्ने, पक्ष, प्रतिपक्ष सबै मिलेर ललितपुर महानगरलाई सफा, सुन्दर र बस्नलायक बनाउने हो ।

प्रकाशित : जेष्ठ १२, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?