अन्तर्वार्ता

'जित-हारको मनोविज्ञान त्यागेर काठमाडौंको विकास र समृद्धिमा लागौं'

कान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका मतदाताले यस पटक युवा रोजेका छन् । दलका उम्मेदवारलाई अस्वीकृत गर्दै मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहलाई रोजे । उपमेयरमा भने नेकपा एमालेबाट उम्मेदवार बनेकी २९ वर्षीया सुनिता डंगोललाई निर्वाचित गराए । तर महानगरका धेरैजसो वडाहरुमा भने नेपाली कांग्रेसका उम्मेदवारहरुले जितेका छन् ।

त्यसैले मेयर र उपमेयर बनेका साह र डंगोललाई आफ्ना योजनाहरू पूरा गराउन कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई साथ लिएर हिँड्नुपर्ने चुनौती छ । आगामी योजना र चुनौतीका सन्दर्भमा काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलसँग ईकान्तिपुरका लागि गोविन्द पोखरेलले गरेको कुराकानी :

काठमाडौं महानगरपालिको उपमेयरमा निर्वाचित हुनुभयो ।आगामी दिनहरुमा तपाईं कसरी अघि बढ्नुहुन्छ ?

सर्वप्रथम म सम्पूर्ण मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मैले जितमा उत्साहित हुनेभन्दा पनि तपाईंहरुले म माथि गर्नुभएको परीक्षामा सफल हुनै पर्ने महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु । तपाईंहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु । म मेरो कार्यकालमा तपाईंहरुले दिनुभएका कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई पूरा गर्न लागिपर्नेछु ।

स्वतन्त्रबाट निर्वाचित मेयर वालेन्द्र साह र तपाईंले काठमाडौंको विकास र प्रगतिका लागि निर्वाचनकै घोषणापत्रमा उल्लेख योजनाहरु हुन्छन् कि नयाँ ल्याउने तयारीमा हुनुहुन्छ ?

मैले आफ्ना योजनाहरु निर्वाचनका दौरानमा नै गरेको प्रतिबद्धतापत्रमा सार्वजनिक गरिसकेकी छु । ती योजनाहरु नै काठमाडौं महानगरपालिकाको योजना तथा बजेटमा समावेश गर्नेछु ।

तपाईं पार्टीबाट निर्वाचित हुनुहुन्छ, स्वतन्त्रबाट निर्वाचित मेयरलाई 'असहयोग हुनसक्ने' आशंका छ नि !

निर्वाचनपछि मतगणना सम्पन्न भई परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई त्यही अन्त्य गर्न म सबैमा आग्रह गर्दछु । जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौं महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु । साथै निर्वाचित सबै जनप्रतिनिधिहरु पनि तत्‌अनुरुप अघि बढौं भन्ने पनि अनुरोध गर्न चाहन्छु ।

काठमाडौंको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक बन्ने छैन ।निर्वाचनमा मैले जनतासामु गरेका प्रतिबद्धताहरू पूरा गर्न पनि सम्बन्धित सबैसँग सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तअनुसार काम गर्नेछु र सबै मिलेर यो काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त, व्यवस्थित र सांकृतिक नगरका रुपमा थप विकास गर्न दत्तचित्त भई लागि परौं भन्ने पनि आह्वान गर्न चाहन्छु ।

तपाईंहरु जनप्रतिनिधि निर्वाचित भएर जनताले प्रत्यक्ष अनुभूति गर्ने काम कहिलेबाट महानगरवासीले देख्न पाउनेछन् ?

काठमाडौं महानगरपालिकाको बजेटमा मेरा योजनाहरु समावेश भएपछि जनताले प्रत्यक्ष अनुभूति गर्ने कामहरु यही आर्थिक वर्षदेखि नै देख्न पाउने हुनेछ ।

उपमेयर भइरहँदा न्याय निरुपणको जिम्मेवारी पनि तपाईंलाई आउनेछ । यसका लागि के-कस्ता तयारीहरु गर्नुभएको छ ?

न्याय निरुपण सम्पादन गर्ने जिम्मेवारी न्यायिक समितिको हुन्छ । उक्त समितिमा मेरो नेतृत्वमा म सहित ३ जना सदस्य रहन्छन् । यस समितिको स्थानीय तहमा भएका विवादहरुलाई समाधान गर्ने मुख्य दायित्व हुन्छ । विवाद निरुपण गर्दा सर्वप्रथम मेलमिलापलाई नै प्राथमिकतामा राख्ने गरिन्छ । मेलमिलापबाट भएन भने सामान्य प्रकारको विवादहरुमा यस समितिले निर्णय पनि गरिन्छ । यदि जटिल प्रकारका विवादहरु छन् भने न्यायका लागि अदालत पठाउने गरिन्छ । त्यसैले सर्वप्रथम न्यायिक समिति नै गठन गर्नु पर्दछ । सो काममा म सुरुका दिनदेखि नै लाग्नेछु ।

प्रकाशित : जेष्ठ १४, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

तोकेको भाडादर नपाएको भन्दै जेठ २० देखि ट्रक थन्क्याउने व्यवसायीको घोषणा

सन्जु पौडेल

तिलोत्तमा — सरकारले समायोजन गरी तोकेको भाडादर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले सरकारले तोकेको भाडादर व्यवहारमा पाउनुपर्ने भन्दै यही जेठ २० गतेदेखि ट्रक‚ घर र ग्यारेजमा थन्क्याई ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिले सहकार्य गर्दै समायोजित भाडादर कार्यान्वयनका लागि शनिबार एक कार्यक्रम गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

एकातर्फ भारतीय ओभरलोडका गाडीहरूका कारण नेपाली यातयात व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ उचित भाडादर असुल नहुँदा पेशा नै संकटमा परेको गुनासो व्यवसायीको छ । आन्दोलनका कार्यक्रमसँगै व्यवसायी संस्थाले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरूको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीसँग पनि सहकार्य गर्ने निर्णय गरी अघि बढेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

उनले ट्रक व्यवसायीको पेशा रेड जोनमा पुगेकाले बाध्य भएर व्यावसायीलाई बचाउनका लागि आन्दोलनमा जानु परेको बताए ।

राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडादर कार्यान्वयन नहुँदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको जनाए । उनले ढुवानी व्यवसायीहरूले सहयोग गरेमा सरकारले तय गरेको भाडा असुलीमा सहयोग हुने धारणा राखे ।

प्रकाशित : जेष्ठ १४, २०७९ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×