‘वाम गठबन्धनको चक्करमा एमाले लाग्दैन’- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

‘वाम गठबन्धनको चक्करमा एमाले लाग्दैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत र गठबन्धनभित्र पनि अलगअलग पार्टी छन् भन्ने मान्दा अहिले पनि ठूलो र स्थानीय तह निर्वाचनले प्रमुख राजनीतिक दलहरुको शक्ति अदलबदल गरेको छ । पहिलो पार्टी बन्ने घोषणा गर्दै सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा होमिएको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । 

शक्ति सन्तुलनमा हेरफेरपछि संघ र प्रदेशको आउँदो चुनावमा वामपन्थी दलहरु एक भएर जान्छन् कि अहिलेकै जस्तो छिन्नभिन्न रहन्छन् ? के एमाले सत्ता गठबन्धन भत्काउन सक्रिय हुन थालेको हो ? यस्तै प्रश्नको जवाफ खोज्न एमाले उपाध्यक्ष विष्णु पौडेलसँग कान्तिपुरका दुर्गा खनालबबिता शर्माले गरेको कुराकानी:

स्थानीय तह निर्वाचनमा एमाले दोस्रो स्थानमा पुग्यो । तपाईंहरूले यो परिणामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

गठबन्धनलाई एउटा र एमालेलाई अर्को पार्टी मान्दा एमाले दोस्रो स्थानमा आएको हो । तर जनमत र गठबन्धनभित्र पनि अलगअलग पार्टी छन् भन्ने मान्ने हो भने अहिले पनि ठूलो र बलियो पार्टी एमाले हो ।

सबै ठाउँमा त गठबन्धन भएको थिएन । आफ्नो पोजिसन बदलिएको त स्वीकार्नुहुन्छ नि ?

अघिल्लो पटक हामीले धेरै सिट ल्याएका थियौं । यस पटक केही घट्यो । तर जनमत र सबै पार्टीलाई अलगअलग रूपमा हेर्दा एमाले पहिलो पार्टी हो भन्ने बिर्सनु हुँदैन ।

चुनावअघि त तपाईंहरू पहिलो पार्टी नै हुन्छौं भन्नुहुन्थ्यो । त्यसअनुसारको परिणाम नआएको विषयमा समीक्षा गर्नुभएको छ ?

हामी समीक्षा गर्दै छौं । अघिल्लो चुनावमा हाम्राविरुद्ध गठबन्धन थिएन । चुनावी तालमेल मात्र थियो । यस पटक उहाँहरूले देशव्यापी गठबन्धन गर्नुभयो । गठबन्धन एक ठाउँमा हुँदा स्वाभाविक रूपमा प्रभाव पर्‍यो । उहाँहरूले खासखास ठाउँमा राज्यसत्ता र शक्ति पनि प्रयोग गर्नुभयो । त्यसैले निर्वाचनको नतिजाको जे प्रक्षेपण थियो, त्यसभन्दा केही तल आएका छौं ।

कम पालिकामा नेतृत्व जित्नुमा तपाईंहरूका के–के कमजोरी रहे ?

एमाले र माओवादी केन्द्रबीच एकतापछिका तीन वर्ष हाम्रो संगठनात्मक जीवन निष्क्रिय थियो । त्यस्तो संगठनात्मक जीवनलाई हामीले पछिल्लो समयावधिमा गतिशील बनाउने प्रयास गर्‍यौं । तर जुन ढंगमा हुनुपर्ने थियो, त्यो हुन सकेन । हाम्राविरुद्ध जुन ढंगको शक्ति केन्द्रित गर्ने कोसिस गरियो, त्यसको पनि केही प्रभाव छ । केही ठाउँमा हाम्रो संगठनात्मक जीवनलाई अनुशासित र व्यवस्थित बनाउन सकेनौं ।

दोस्रो पोजिसन आउनुको कारणमा अघिल्लो चुनावपछि तपाईंहरूले खेलेका भूमिकालाई जनताले नरुचाएको पनि त हो नि ? तपाईंकै आफ्नै गृहनगर बुटवलमा समेत एमाले हार्‍यो । सहरी मतदाता रुष्ट भएका होइनन् ?

चुनावले सहरी जनमत वा आम जनमत के हो भन्नेमा समीक्षा गर्नुपर्ने अवस्थामा त हामीलाई पुर्‍याएको छ ।

सानो पालिकामा जित्दा र महानगर–उपमहानगर जस्ता धेरै मतदाता भएका ठाउँमा हार्दा तपाईंहरूलाई ठूलो जनमतले रुचाएन भन्ने पुष्टि त भयो नि ?

सिट संख्याको कुरा गर्नुहुन्छ कि मत संख्याको ? मत संख्याको कुरा गर्नुहुन्छ भने हामी ठूलो पार्टी हौं । सिट संख्यामा हामी दोस्रो पार्टी भएका छौं । जनमतका हिसाबले एमाले कमजोर भयो भन्ने कुरा तथ्यले बोल्दैन । जनाधार र एमालेको अग्रतालाई यो चुनावले खण्डित गरेको छैन ।

तपाईंकै गृहजिल्लामा पनि एमालेको पक्षमा परिणाम ल्याउन सक्नुभएन । पार्टीभित्रको अन्तरविरोधले पनि केही भूमिका खेलेको हो ?

आन्तरिक खटपट त होइन तर कतिपय ठाउँमा यसको सट्टा अर्को उम्मेदवार भए राम्रो हुन्थ्यो कि भन्ने छ । तर आम रूपमा पार्टीको आन्तरिक खटपट थियो भन्ने होइन । निर्वाचनका बेला एकताबद्ध थियौं । नेतृत्वको खटपटका हिसाबले समस्या भएको होइन ।

तपाईं र महासचिव शंकर पोखरेलबीच खटपट छ भन्ने सुनिन्छ । तपाईंको गृहनगरमा धेरै हार्ने, पोखरेलको गृहनगर दाङमा एमालेले जित्ने भयो । यसमा पार्टीभित्रको घात–अन्तरघातको भूमिका छैन त ?

घात अन्तरघातका रूपमा म बुझ्दिनँ । बुटवलमा पराजयका पछाडि एउटा कारण छ । सातमध्ये ६ वटा प्रदेशमा राजधानी पुरानै ठाउँमा कायम रह्यो । लुम्बिनीको हकमा प्रदेश राजधानी सारियो । त्यसलाई बुटवलका जनताले प्रिय मानेका छैनन् । मैले आफैंले पनि त्यहाँका जनताको मनोविज्ञान पढेको छु । यसका लागि जनताले एमालेलाई बढ्ता जिम्मेवार ठाने । शंकरजी र मबीच अन्तरविरोध, असहयोग र अस्वीकार भन्ने छैन ।

तपाईंहरू चुनावअघि माओवादी केही होइन । एकीकृत समाजवादी त पार्टी नै होइन भन्नुहुन्थ्यो । चुनावमा त माओवादीको स्थिति झन् सुधार भयो, एकीकृत समाजवादी पनि महानगर/उपमहानगरसहितमा आउने अवस्था बन्यो नि ?

तपाईंहरू सिटको कुरा त गर्नुहुन्छ तर माओवादीले प्राप्त गरेको र एकीकृत समाजवादीले प्राप्त गरेको मतको पनि हिसाब गर्नुपर्छ । यस पटक माओवादीका केही कार्यकर्ता रूख चिह्नमा समेत चुनाव लड्नुभयो । त्यसैले माओवादी र कांग्रेसबीच भिन्नता नै देख्न छाडिएको छ । माओवादी कांग्रेसको सहयोगी शक्ति, पछिपछि लाग्ने अनुयायीमा रूपान्तरित भएको छ । हिजो आफूलाई क्रान्तिकारी दाबी गर्ने माओवादी कांग्रेसको सहयोगी शक्तिका रूपमा खुम्चिएको छ । कांग्रेससँग मिलेर केही सिट संख्या बढायो होला तर राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका र औचित्य के ? अब प्रश्न उठेको छ । माओवादीको अलग पार्टीको अस्तित्व किन चाहियो ? कांग्रेस छँदै छ नि !

एकीकृत समाजवादीका हकमा तपाईंहरूको बुझाइ के छ ?

एकीकृत समाजवादी त एमालेबाट चोइटिएको एउटा झुन्ड हो । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘माधवजीले मलाई धेरै सहयोग गर्नुभएको छ त्यसैले सहयोगको गुन बिर्सिन सक्दिनँ’ भन्नुभएको छ । माधवजीले केपी ओलीको सरकार गिराउन र शेरबहादुर देउवाको नेतृत्वको सरकार बनाउन गुन लगाउनुभएको हो, त्यो गुन केही सिटमा देखिन्छ । आउने दिनमा एकीकृत समाजवादीको कुनै राजनीतिक अस्तित्व हुन्छ जस्तो लाग्दैन ।

चुनावी परिणामपछि वामपन्थी दल एक हुन्छन् भन्ने आकलन छ । एमालेको सिट खुम्चेको अवस्थामा अब तपाईंहरू तीनवटा वाम दल मिलेर जाने सम्भावना छ कि छैन ?

दक्षिणपन्थीहरूको पछि लाग्ने दलहरूलाई वामपन्थी भन्नु संगतिपूर्ण छैन । कांग्रेस यथास्थितिवादी दक्षिणपन्थी शक्ति हो । दक्षिणपन्थी शक्तिको पछि लागेर वामपन्थी शक्तिलाई कमजोर पार्नेहरूलाई के अर्थमा वामपन्थी भन्ने ? नामले मात्र वामपन्थी भन्ने कि काम आचरण र मूल्यमान्यतालाई ? दक्षिणपन्थीको पछि लाग्नेलाई वामपन्थी भनिँदैन र ती होइनन् । हामी अब त्यस्ता प्रवृत्तिलाई गोलबद्ध गर्ने चक्करमा छैनौं । यो स्थानीय तह चुनावमा जुन प्रकारको जनमत आर्जन गरेका छौं, त्यसले हामीलाई उत्साहित तुल्याएको छ । हामी पहिलो र प्रमुख पार्टी हौं भन्ने जनादेश प्रकट भएको छ । यो जनादेशमा टेकेर हामी आउने निर्वाचनको तयारी गर्छौं । आउने निर्वाचनमा सम्भवतः हामी बहुमत हासिल गर्छौं । मिश्रित निर्वाचन प्रणाली भएकाले ५० प्रतिशत मत हामी समानुपातिकमा पुर्‍याउँछौं र प्रत्यक्षतर्फ हामी खास–खास ठाउँमा केन्द्रित भएर संसद्को पहिलो पार्टी हुन्छौं । गठबन्धनको ल्याकत देखिइसकेको छ । एमाले आउने निर्वाचनसम्म कुनै गठबन्धनको चक्कर लाग्दैन । एक्लै अघि बढ्छ । आउने चुनावसम्म वामपन्थी जनमत एमालेको पक्षमा केन्द्रित हुन्छ । अहिले भ्रमवश माओवादीको पक्षमा लागेको जनमत पनि एमालेको पक्षमा आउँछ । दक्षिणपन्थी र यथास्थितिवादीको मत कांग्रेसको पक्षमा जान्छ । त्यसैले अब हामी गठबन्धन बनाउने नाममा समय अपव्यय नै गर्न चाहँदैनौं ।

माओवादी, एकीकृत समाजवादी कसैसँग गठबन्धन हुँदैन ?

कम्तीमा आउने निर्वाचनसम्म माओवादी, एकीकृत समाजवादी कसैसँग गठबन्धन हुँदैन ।

तपाईंले यो दाबी गर्दै गर्दा एमाले र माओवादीका नेताहरूबीच अनौपचारिक संवाद सुरु भएका छन् भन्ने छ नि ?

संवादको चर्चा चलाएर ‘बार्गेनिङ’ गर्ने चलन हाम्रोमा छ । संवाद भइरहेको छ भनेर गठबन्धनभित्र आपसमा ‘बार्गेनिङ’ गर्न यस्ता खालका चर्चा गर्ने गर्छन् । म स्पष्ट भन्न चाहन्छु, आउने निर्वाचनसम्म यो गठबन्धनको पटाक्षेप हुन जरुरी छ । यो कुनै सिद्धान्त, उद्देश्य, आदर्श केन्द्रित गठबन्धन हो र ? केवल भागबन्डाको स्वार्थको गठबन्धन हो । यो गठबन्धनको वरिपरि कोही प्रगतिशील जनमत छ भन्ने सच्चाइ बुझेर अलग हुन जरुरी छ ।

तपाईंहरूको बुझाइमा यो गठबन्धनको ‘मिसन’ के हो त ?

यो गठबन्धनले दुई कुराको पुष्टि गर्‍यो । एउटा, एमाले यस्तो शक्तिशाली राजनीतिक पार्टी हो, जसलाई एक्लै सामना गर्न सकिँदैन भन्ने हो । गठबन्धनमा सामेल सबैको साझा स्वीकारोक्ति एमाले देशको सबैभन्दा शक्तिशाली पार्टी हो । गठबन्धन गरेर मात्रै एमालेसँग आमनेसामने हुन सकिन्छ भन्ने सच्चाइ गठबन्धनका दलहरूले स्वीकार गरेका छन् ।

स्थानीय तहको निर्वाचनअघि अध्यक्ष केपी ओलीले हामीले चाह्यौं भने एक हप्तामा गठबन्धन तोड्न सक्छौं भन्नुभएको थियो । गठबन्धन तोड्ने त्यस्तो अचुक उपाय छ तपाईंहरूसँग ?

अध्यक्षले भन्नुभएको छ, त्यो सत्य हो । म अहिले पनि भन्छु एमालेले चाह्यो भने एक हप्तामा गठबन्धन टुट्न सक्छ । यो कुनै लुकेको कुरा भएन नि, यो स्वार्थको गठबन्धन हो । सिद्धान्त, उद्देश्य र आदर्शको गठबन्धन भए तोड्न गाह्रो हुने हो । स्वार्थको गठबन्धन तोड्न गाह्रो छैन । जसले धेरै स्वार्थ पस्किन्छ, स्वार्थीहरू त्यतै लाग्छन् । हामी गठबन्धन तोड्ने गल्ती गर्दैनौं । यो गठबन्धन आउने चुनावसम्म रहिरहोस् । गठबन्धनले जनतालाई के दिन्छ ? एमालेको नेतृत्वको ठाउँमा यो परमादेशी सरकार बनेको छ । यो सरकारले गरेको एउटा राम्रो काम बताउनुस् त ? आउने निर्वाचनसम्म पुग्दा एमालेले आफ्नो हैसियत के हो, प्रदर्शन गर्छ । यो गठबन्धन के हो, त्यो पनि देखिन्छ ।

विगतमा पनि तपाईंहरूले यस्तै भन्दै गर्दा अध्यक्षको तहबाट छलफल प्रक्रिया भित्रभित्रै अगाडि बढाएर एकतासम्मै पुग्नुभएको थियो । अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन वा एकताको प्रस्ताव लिएर आउनुभयो भने गठबन्धन र एकता नगर्ने भनेर तपाईंहरू बस्न सक्नुहुन्छ ?

अहिले एमाले कुनै पनि प्रस्ताव सुनेर यो अवसरवादी गठबन्धन भत्काएर अर्को अवसरवादी गठबन्धन निर्माण गर्ने पक्षमा छैन, हुँदैन ।

एकताको प्रस्ताव आयो भने नि ?

केका आधारमा एकता ? कांग्रेसको पछि लाग्नका निम्ति एकता ? वामपन्थी शक्तिलाई कमजोर पार्नका निम्ति एकता ? कम्युनिस्ट पार्टीको छँदाखाँदाको सरकार गिराएर दक्षिणपन्थीको पछि लाग्नका निम्ति एकता ? एकताको अभ्यास, अनुभव गरिसकियो । स्वाभाविक रूपमा त्यतिबेला हामीले जुन उद्देश्यका साथ एकता गरेका थियौं, त्यो उद्देश्यअनुरूप आन्दोलन, पार्टी, सरकार अघि बढिरहेको थियो । त्यो एकता भंग गर्नुपर्ने कुनै कारण छ ? त्यो एकता भंग गर्ने निर्णयको औचित्य इतिहासले पुष्टि गर्न सक्छ ? सक्दैन ।

तपाईंले गठबन्धन हुँदैन भन्नुभयो तर स्थानीय तहको निर्वाचनको मतपरिणामले एमालेका लागि ‘चेतावनीयुक्त साइरन’ बजिसक्यो नि ?

मैले दोहोर्‍याएँ, आउने निर्वाचनमा एमाले संसद्को ठूलो शक्ति हुन्छ । यो गठबन्धनको विकल्प एमाले हो । एकातिर गठबन्धन, अर्कोतिर एमाले । जनताले गठबन्धनभन्दा एमाले उपयुक्त हो भनेर रोज्नेछन् भन्नेमा आत्मविश्वास छ ।

स्थानीय चुनावको परिणामबाट दलहरूले गरिरहेका गतिविधि मन नपराएर मतदाता विकल्पमा जान खोजेको हो कि भन्ने संकेत देखिएको छ । जस्तो स्वतन्त्र व्यक्तिले धेरै मत ल्याउँदा तपाईंहरूको पुरानो गढ भत्किने स्थिति देखापरेको छ । यो परिस्थितिलाई मूल्यांकन गरिराख्नुभएको छ कि छैन ?

मूल्यांकन गरिरहेका छौं । नयाँ पार्टी निर्माण गरेर स्थापित पार्टीलाई ‘रिप्लेस’ गर्ने कोसिस यसअघि पनि भएको थियो । त्यो कोसिस काम लागेन । अहिले एक प्रकारले केही ठाउँमा स्वतन्त्र व्यक्तिले जित हासिल गरेका छन् । यसले हामी मतदाताको मनोविज्ञानसँग अविच्छिन्न जोडिनुपर्छ भन्ने शिक्षा दिएको छ । तर पार्टीको विकल्पमा स्वतन्त्र व्यक्तिले केही गर्न सक्दैन । एउटा स्वतन्त्र व्यक्तिले चुनाव जित्दैमा मुलुक ट्र्याकमा हिँड्छ भन्ने हुन सक्दैन । पार्टीको विकल्प स्वतन्त्र व्यक्ति होइन । तर मतदाताको यो मनोविज्ञानलाई सूक्ष्म ढंगले हेर्नुपर्ने, जनताको मनोविज्ञानसँग जोडिएर हिँड्नुपर्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने अनुभूति गरेका छौं ।

गठबन्धनलाई दक्षिणपन्थी शक्ति हो त भनिनै सक्नुभयो । चुनावी परिणाममा देशी–विदेशी शक्तिको पनि भूमिका हुँदो रहेछ ?

त्यतातिर अहिले नजाऔं । हाम्रो मुलुकमा कसले के गर्दै आएको छ, कसले के गर्न सक्छ भन्ने ‘ओपन सेक्रेट’ नै छ । कसैको केही भूमिका भयो भने पनि हाम्रो संगठनात्मक शक्ति र हामीले आर्जन गरेको जनमतका आधारमा सामना गर्ने हो । त्यसकारण मूलतः जनताको समर्थनमा अगाडि बढ्ने पार्टी भएकाले हाम्रो ध्यान जनताको समर्थन, जनताको संगठित शक्तिमा बढ्ता केन्द्रित हुन्छ । सबै प्रकारका अवाञ्छित क्रियाकलापलाई जनमतकै बलमा परास्त गर्ने नीति रहन्छ ।

चुनावी परिणाम आउन थालेको दुई दिनपछि पार्टी महासचिवले वक्तव्य जारी गर्दै चुनावमा धाँधली भयो भन्नुभयो । त्यो वक्तव्य हतारमा थियो कि त्यस्ता धाँधली भएका थिए ?

तपाईंहरूले प्रकाशन गरेका समाचारमा आएका छन्– कहाँ बुथ कब्जा भएको छ, कहाँ लाठी चार्ज भएको छ, कहाँ गोली चलेको छ, कहाँ मान्छेले मतदान गर्न पाएका छैनन् ।

पोखरालगायत केही ठाउँमा पार्टीभित्रको अन्तरविरोध छताछुल्ल भयो । त्यसलाई कसरी हेर्नु भएको छ ?

पोखराको घटनालाई गम्भीर रूपले अध्ययन गरिरहेका छौं । प्रारम्भिक रिपोर्टअनुसार केही ठाउँमा पार्टीमा अनुशासनहीनता र स्वेच्छाचारिता प्रकट भएका छन् । त्यसलाई सूक्ष्म ढंगले विश्लेषण गरेर ठीक ढंगले पहिचान गर्छौं र ठीक ढंगको उपचार गर्छौं । कोही दोषी देखिए दण्डित हुन्छन् ।

ती दोषी पदाधिकारी तहकै नेता देखिए भने के गर्नुहुन्छ ?

दोषी छन् भने जोकोही पनि दण्डित हुन्छन् ।

तपाईंहरूले लामो समय संसद् अवरुद्ध गर्नुभयो । अहिले बिनासर्त बजेट अधिवेशन चल्न दिनुभयो । पहिला केका लागि अवरुद्ध गर्नुभएको थियो र अहिले केका लागि खोल्नुभयो ?

संसद् अवरुद्ध गर्नुको कारण तपाईंहरूले थाहा पाउनुभएकै छ । अहिले बजेट अधिवेशनमा आइपुगेका छौं भन्ने पनि हो ।

त्यो बेला जुन सांसदलाई कारबाहीको कुरा उठाउनुभएको थियो, अब ती सांसदलाई स्वीकार गर्नुभएको हो ?

त्यो कुरा होइन । त्यो विषय अदालतले टुंग्याउला । दोस्रो, अनधिकृत रूपमा गरिएको विभाजन र गैरसांसदलाई सांसदका रूपमा मानियो भन्ने कुरा हुन सक्दैन । गैरसांसदलाई संसद्मा राखेर संसद् सञ्चालन गर्ने विषयमा हाम्रो असहमति छँदै छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

प्रिमियर गल्फमा नीरज अगाडि

कान्तिपुर संवाददाता

काठमाडौँ — नीरज तामाङ आठ अन्डर ६४ स्कोर गर्दै गोकर्ण गल्फ क्लबमा भइरहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन मंगलबार शीर्षस्थानमा उक्लिएका छन् । ३६ होल समाप्तिमा उनको कुल स्कोर १२ अन्डर १३२ भएको छ ।

नीरजभन्दा दुई स्ट्रोक पछाडि छन् शुक्रबहादुर राई र एमेच्योर वान्चेन ढोन्डुप । पहिलो दिन शीर्षस्थानमा रहेका वान्चेनले मंगलबार तीन अन्डर ६९ को कार्ड बनाए भने शुक्रले सात अन्डर ६५ स्कोर गरे । यी दुईको कुल स्कोर १२ अन्डर १३४ भएको छ । अर्का एमेच्योर सद्भाव आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ६ अन्डर ६६ स्कोर गरे । समग्रमा चौथोमा रहेका उनको कुल स्कोर ९ अन्डर १३५ भएको छ ।

नीरजले सुरुका ९ होलको स्कोर चार अन्डर ३२ मा राखेका थिए । बोगीरहित प्रदर्शन गर्ने क्रममा उनले पछिल्ला ९ होलमा पनि समान स्कोर गरे । दोस्रो, तेस्रो, पाँचौं, छैटौं, बाह्रौं र पन्ध्रौं होलमा बर्डी गरेका उनले पार ४ को १४ औं होलमा दुई स्ट्रोक बचाउँदै इगल खेलेका थिए ।

शुक्रले सुरुका ९ होलमा उत्कृष्ट प्रदर्शन गर्दै ६ अन्डर ३० स्कोर गरेका थिए । पछिल्ला ९ होलमा उनले उस्तै प्रदर्शन गर्न सकेनन् र एक अन्डर ३५ को कार्ड बनाए । वान्चेनले सुरुका ९ होलमा दुई अन्डर ३४ र त्यसपछि एक अन्डर ३५ स्कोर गरे । सुरुका ९ होलको स्कोर तीन अन्डर ३३ मा राखेका सद्भावले पछिल्ला ९ होल पनि ३३ स्ट्रोकमै टुंग्याएका थिए ।

लगातार दोस्रो दिन ४ अन्डर ६८ खेलेका भुवन नगरकोटी समग्रमा आठ अन्डर १३६ सहित पाँचौं स्थानमा छन् । पाँच अन्डर ६५ खेलेका पूर्ण शर्मा (कुल ६ अन्डर १३८), चार अन्डर ६८ स्कोर गरेका भुवनकुमार रोका (समग्रमा ५ अन्डर १३९), ६ अन्डर ६६ खेलेका धनबहादुर थापा (कुल ४ अन्डर १४०), तीन अन्डर ६९ स्कोर गरेका आरभ शाह (कुल चार अन्डर १४०), एक अन्डर ७१ खेलेका रामे मगर (कुल तीन अन्डर १४१) र इभन पार ७२ को कार्ड बनाएका एमेच्योर महेन्द्र फगामी (कुल तीन अन्डर १४१) शीर्ष दसमा छन् ।

सूर्य नपाल गल्फ टुर २०२१–२२ को अन्तिम प्रतियोगितामा दुई दिनको खेलपछि ६ ओभर १५० स्कोरसम्म रहेका २२ प्रो र आठ एमेच्योर खेलाडी ‘कट’ बनाएर फाइनल चरण प्रवेश गरेका छन् । कुल १४ लाख ६१ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा उनीहरूवीच अन्तिम दुई चरणको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×