कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
कुराकानी

‘पाँच वर्षमा विराटनगरलाई आत्मनिर्भर र समृद्ध बनाउँछु’

भ्रष्टाचार गर्नेलाई सहँदै सहन्न
नयाँ उद्योगहरु स्थापना गरेर रोजगारी दिन सकिने अवस्था बनाउँछु

विराटनगर — महानगर विराटनगरको मेयर पदका लागि जिल्लादेखि केन्द्रसम्म आकांक्षीहरुको तँछाडमछाड चलेको थियो । ठूलो रस्साकस्सीका बीच सबैलाई उछिन्दै मोरङका कांग्रेस उपसभापति ४९ वर्षीय नागेश कोइरालाले बाजी मारे । तरुण दलको पूर्वजिल्ला सभापति उनी मोरङ कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै उपसभापतिसम्म भएका हुन् ।

‘पाँच वर्षमा विराटनगरलाई आत्मनिर्भर र समृद्ध बनाउँछु’

आगामी पाँच वर्षे कार्यकालको सम्भावित रणनीति बारेमा कोइरालासँग कान्तिपुरका विनोद भण्डारीले गरेको कुराकानी:

आफ्नो जीतलाई कसरी लिनुभएको छ ?

यही माटोमा जन्मिएँ, हुर्किएँ । सबैथोक आफ्नो जस्तो लाग्छ । यहाँको सबै चिजले मलाई पनि आफ्नो जस्तो देख्छ । मेरो जित अस्वाभाविक होइन । सुरु देखि नै मलाई विराटनगरवासीले जिताउनु हुन्छ भन्ने थियो र अन्तिम परिणाम यही नै आयो ।

पद ग्रहण गर्दा करको दर घटाउने र दायरा बढाउने भन्नुभएको छ । यसले आम जनतालाई कस्तो प्रभाव पार्ला ?

यो सिरियस म्याटर हो । जसको व्यापार/व्यवसाय छैन । पुर्ख्यौली घर मात्र छ । उहाँहरुको आम्दानी छैन भने कर कसरी तिर्छन् ? एक कठ्ठामा घर बनाएर बसेकालाई २०–२५ हजार रुपैयाँ कर तोकिएको छ । घर अगाडि सटर छैन, जागिर खाँदैन र खेतको आम्दानीबाट कर तिर्न गाह्रो हुन्छ । त्यसकारणले यो कुरालाई बुझेर करको दायरा बढाउने र कर घटाउने कुरा गरेको हुँ । अहिले बैंकिङ कारोबार गर्नेले मात्र कर तिरेको देखिन्छ । यी बाहेकका विराटनगरवासीलाई हामीले पनि कर तिर्नुपर्छ भन्ने महसुस गराएर कर तिर्न लगाएर त्यही करको दायरा बढाउने भनेको र अनि त्यही तिरेको करबाट घटाउने निर्णय गरेर अगाडि बढ्न खोजिएको हो ।

विराटनगरलाई महानगर भनिएको छ । यहाँ १९ वटा वडा छन् । अधिकांस वडामा सामान्य आधारभूत सुविधा पनि छैन । स्वास्थ्य, शिक्षा, सडक, बिजुली र पानीको व्यवस्था छैन यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

मैले के सोच बनाएको छु भने विराटनगर ७७ सय स्क्वायर किलोमिटर छ । यसभित्र अधिकांश ठाउँमा विकास निर्माण, सामाजिक कार्य लगायत स्वास्थ्य, शिक्षा पहुँच बाहिर रहेको पाइएको छ । महानगरको बजेट एउटा कुरा भयो । त्यसले सबै तिर भ्याउँदैन । सातसय किलोमिटर सडकको नेटवर्क छ । नाला र ढल पनि त्यति नै छ । त्यसका कारण दातृ संस्था खोज्ने । जसले लगानी गर्न तयार हुन्छ । सक्दो अनुदान लिने प्रयास गर्ने र त्यही अनुदानले सबै काम गर्ने हो ।

शिक्षाको हकमा एक वडामा एक सामुदायिक विद्यालय निजीस्तरको बनाउने । स्वास्थ्यको हकमा वाडको क्लिनिक बनाउने । त्यो नि:शुल्क हुनेछ । आफ्नो वडा नम्बर ९ वटा सुरुवात गर्ने । यो सफल भयो भने सबै वडामा सुरु गरिने छ । औषधि किन्नुपर्ने र ल्याब परिक्षण गराउनुपर्ने हुन्छ । त्यसका लागि पैसा हुन्न । महानगरपालिका स्तरीय अस्पताल स्थापना गरेर निजी अस्पताल र निजी क्लिनिकले दिने बराबरको सेवा सुविधा नगरवासीलाई सहुलियत दरमा दिइने छ । यसको व्यवस्था आफ्नो कार्यकाल भरीमा गर्ने तयारी गरेको छु ।

महानगरका अधिकांस सडकको ढलमाथि पेटी छ । त्यो पेटी पनि अतिक्रमण गरेर पैदल यात्रीलाई हिँ डडुल गर्न समस्या छ । फोहोर उस्तै छ, यसलाई कसरी व्यवस्थापन गर्ने ?

फोहोर उठाउने ठेक्का लिएको कम्पनीले सालमा दुई चोटी फोहोर उठाउने कन्ट्रयाकमा साइन गर्दो रहेछ । पद सम्हालेको आज चार दिन भयो, मलाई यसबारे खासै आइडिया त छैन । मैले के भनेको छु भने सरसफाइवाला र सरोकारवाला विभागकालाई बोलाएर सबै नालाहरु सफा गर्न र नगर प्रहरीलाई कडा निर्देशन दिएर राजनीतिक प्रेसर चल्दैन यहाँ जसले बाटो अतिक्रमण गरेर कारोबार गरेको छ सब रोकदेउ, बाटोमा भएका सबै सामान निकाल, तेस्रो वा दोस्रो लेन प्रयोगमा आएका छैन भने त्यसलाई पनि सरसफाइ गरेर प्रयोगमा ल्याउन तयारी गर, कसैले राजनीतिक दबाब दिन्छ भने त्यो हामी थाम्छौं अगाडि बढ भनेका छौं ।

ढल निकास र डुबानको सबैभन्दा बढी र ठूलो समस्या छ । त्यसकालागि महानगरका सबै इन्जिनियरलाई बोलाएर शुक्रबारसम्ममा एउटा खाका लिएर आउन भनेको छु । डुबानबाट अहिले अल्पकालिन रुपमा कसरी मुक्ति पाउन सकिन्छ भनेर सोधेको छु । किनभने अब बर्खा लाग्यो । नाला सफा गर्ने टोली खटाई सकिएको छ । सँगसँगै इन्जिनियरहरुलाई खाका लिएर आउ, त्यो खाका अनुसार कही बनाउनुपर्ने छ भने बनाउन र भत्काउनु पर्नेछ भने भत्काउन निर्देशन दिइसकेको छु ।बाढी विराटनगरमा पस्नु भएन भनेको छु । अहिले सतप्रतिशत नहोला २०–४० प्रतिशत काम भए पनि नगरवासीले राहत पाउँछन् ।

विराटनगरलाई राजनीतिको उर्वर भूमि पनि भनिन्छ । तर पछिल्लो समय विराटनगरको साख गुम्दै छ भन्ने तमामको गुनासो छ यसलाई कसरी रिकभर गर्नुहुन्छ ?

विराटनगरबाट सातजना प्रधानमन्त्री गए देश बनाउनलाई । उनीहरुले देश मात्र बनाए विराटनगर बनाएनन् । अब हामी आएका छौं विराटनगर बनाउनलाई र बनाउने पनि हो । हामीले जसरी घोषणापत्रमा लेखेर जनताको बीचमा गएर चुनाव जितेर आएका छौं, त्यही अनुसार काम गर्छौं । आज जुन विराटनगर छ, हिजोको विराटनगर समस्यामा थियो । दुई तिहाइ बहुमतको एमालेको सरकारले विरानगरलाई महानगरका रुपमा हेरेको थिएन । महानगरपालिका राजनीतिक दबाबमा जर्बजस्ती बनाएको जस्तो देखिन्छ । बन्दै गर्दा के गरेको देखिन्छ भने प्रदेश सरकार पनि एमालेको अनि स्थानीय तह चाहीँ कांग्रेसको । अनि सरकारले महानगरलाई उप–महानगरपालिकाको नजरले ट्रिट गरेपछि कसरी महानगरपालिका बनोस् । त्यसका लागि खुला मनले महानगरपालिका बनाउन दिनुपर्‍यो । अब त्यो नियती महानगरले भोग्दैन, काम हुन्छ ।

विराटनगरको अर्को पहिचान छ औद्योगिक नगर । तर विस्तारै यहाँका उद्योग धमाधम पलायन हुँदै गएका छन् नी ?

उद्योगका हकमा के छ भने पुराना र सरकारी उद्योगको एउटा कुरा भयो । समस्या यहाँ १२–१३ हजारवटा कटेज उद्योगहरु दर्ता भएका रहेछन् । तीमध्ये ५–६ हजारवटा मात्र चलेका रहेछन् । ती कसरी विस्थापित भए र विराटनगर छाडेर गए भन्ने हेर्नुपर्ने परिस्थिति छ । हाम्रो नीति, नियम र करको विषयमा कमिकमजोरी रहेछ भने त्यसलाई सुधार गरेर उद्योगीको चित्त बुझाएर ती उद्योगहरु पुन: सञ्चालन गर्न र नयाँ उद्योग स्थापना गर्ने वातावरण बनाइने छ । सरकारी क्षेत्रका उद्योगका हकमा जुट मिलका मेसिन सबै पुराना भइसके, नयाँ मेसिन ल्याएर चलाउने स्थिति छैन । संघीय र प्रदेश सरकारसँग पहल गरेर त्यही उद्योग चलाउने वा नयाँ उद्योगहरु स्थापना गरेर हजारौंको संख्यामा जागिर दिन सकिने अवस्था छ ।

विगतमा कर्मचारीले सहयोग नगरेको, नगरमा भ्रष्ट कर्मचारीको बाहुल्यता रहेको र संघीय सरकारले पटकपटक कार्यकारी अधिकृत सरुवा गरेर काम गर्न नदिएको पूर्व जनप्रतिनिधिको गुनासो थियो नी ?

एकै परिवार भएर काम गर्नुपर्छ । मुहानमा म छु । मुहान नै सफा छ भने त्यहाँबाट निस्केको सग्लो पानी तलसम्म पुग्ला नि ! आज नजाला, भोली नजाला एकदिन त मुहानबाट निस्केको सग्लो पानी तल पुग्ला नि । माथि मुहानमा पिउने पानी छ भने तल पनि पुग्ला नी कति दिन छेकेर छेकिन्छ र !

मैले वचन दिएर आएको छु त्यो मेरो एजेन्डा भन्दामाथिको कुरा हो यो भ्रष्टाचार गर्दा पनि गर्दिन र गर्न पनि दिन्न र गर्नेलाई सहँदा पनि सहन्न । यो कुरा मिटिङमा पनि राखिसकेको छु । सबै स्टाफ र महानगरका परिवारका सदस्यलाई राखेर यो कुरा भनिसकेको छु । त्यही अनुरुप महानगर अगाडि बढ्छ । अब समय नपुगी कार्यकारी अधिकृतको सरुवा नगर्न संघीय सरकारलाई दबाब दिन्छु ।

अहिलेको र पाँच वर्ष पछिको विराटनगरमा नगरवासीले के फरक देख्न पाउँछन् ?

विराटनगरले धेरै सम्भावना बोकेको छ । हामीले प्रयोग गर्न सकेको छैनौं जस्तो लाग्छ । अबको पाँच वर्ष पछि पर्यटकीय विराटनगर, स्वच्छ, सुरक्षित, हरियो, आत्मनिर्भर र समृद्ध विराटनगरवासीले पाउने छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?