२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पालिका हाँक्ने २५ महिला

अघिल्लो निर्वाचनमा १८ पालिकाको नेतृत्वमा महिला पुगेका थिए, यसपालि संख्यामा सामान्य मात्र वृद्धि तर चेतना र हस्तक्षेप निकै बलियो हुने अपेक्षा
झापाको गौरीगन्ज र दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै महिला
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तहको निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । स्थानीय सरकारको नेतृत्वमा महिलाको संख्या पहिलेभन्दा बढेको हो । अघिल्लो निर्वाचनमा १८ पालिकाको प्रमुख/अध्यक्षमा महिला थिए ।

पालिका हाँक्ने २५ महिला

संवैधानिक प्रावधानअनुसार राजनीतिक दलहरूले पालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमध्ये एक महिला उम्मेदवार बनाउनुपर्छ । तर दलहरूले प्रायः उपप्रमुख/उपाध्यक्षमा मात्रै महिलालाई उठाउने गरेका छन् । गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा पुरुषलाई अघि सारेका थिए, जसका कारण यसपालि निर्वाचित महिला उपप्रमुख/उपाध्यक्षको संख्या घटेको छ । बुधबार साँझसम्म ७ सय ४१ स्थानीय तहको मतगणना सकिँदा करिब ५ सय ५० पालिकामा मात्रै महिला उपप्रमुख/उपाध्यक्ष चुनिएका छन् । यसअघि करिब ७ सय पालिकामा महिला उपप्रमुख/उपाध्यक्ष थिए । तीन पालिकामा भने प्रमुख र उपप्रमुख दुवै महिला निर्वाचित भएका छन् ।

पाँच वर्ष स्थानीय सरकार हाँक्ने जिम्मेवारी पाएका २५ महिलामध्ये एमालेका १०, कांग्रेसका ९, माओवादी केन्द्रका ४ र एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादीका १–१ जना छन् । प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ६ वटामा महिलाले नेतृत्व पाएका छन् । झापाको बिर्तामोडमा एमालेकी पवित्रादेवी महतरा र खोटाङको हलेसी तुवाचुङमा कांग्रेसकी विमला राई नगर प्रमुख निर्वाचित भएका छन् । यस्तै, मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेबाट राजमती इङ्नाम, सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की, खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई र झापाको गौरीगन्ज गाउँपालिका अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशीले नेतृत्व लिएका छन् ।

मधेस प्रदेशमा नगर प्रमुखमा चार महिला निर्वाचित भएका छन् । सप्तरीको सुरुंगा नगरपालिकामा कांग्रेसकी गीता चौधरी, सर्लाहीको बरहथवा नगरपालिकामा एमालेकी कल्पना कटुवाल, रौतहटको ईशनाथ नगरपालिकामा लोसपाकी कौशल्या देवी र मौलापुर नगरपालिकामा एमालेकी रीनाकुमारी साह प्रमुखमा निर्वाचित भएका हुन् । ०७४ मा प्रदेशभर मौलापुर नगरपालिकामा माओवादी केन्द्रकी रीनाकुमारी साह मात्रै महिला प्रमुख थिइन् ।

उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक नतिजा घोषणा भएका वाग्मती प्रदेशका १० जिल्लाका ९८ स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ५२ वटामा उपप्रमुख महिला निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा माओवादीकी रेनु दाहाल प्रमुखमा निर्वाचित भइन् । चितवनकै माडी नगर प्रमुखमा एमालेबाट ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीबाट मीना लामा चुनिएकी छन् । सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार, सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहरा दाहाल, काभ्रेको चौरीदेउराली गाउँपालिकामा माओवादी केन्द्रकी रेणुका चौलागाईंले नेतृत्व लिएका छन् ।

०७४ मा चार पालिकाले महिला नेतृत्व पाएको गण्डकी प्रदेशमा यस पटक तीन पालिकामा मात्रै प्रमुखमा महिला छन् । गण्डकीका ८५ स्थानीय तहमध्ये नवलपुरको हुप्सेकोट गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र बागलुङको बडिगाड गाउँपालिकाले महिला नेतृत्व पाएको छ । हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे दोस्रो पटक अध्यक्षमा निर्वाचित भएकी छन् । मोदीमा एमालेकी हीरादेवी शर्मा र बडिगाडमा कांग्रेसकी गण्डकी थापा अधिकारी चुनिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी गण्डकी प्रदेशभर पालिका प्रमुखमा ४१ महिलाले उम्मेदवारी दिएका थिए ।

दलीय गठबन्धनका कारण महिला नेतृत्वसँगै उपप्रमुख पदमा पनि पुरुष नै हाबी देखिएको कांग्रेस गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारी बताउँछिन् । स्याङ्जाको वालिङ नगरपालिकाकी निवर्तमान उपप्रमुखसमेत रहेकी उनी नगर प्रमुखकी आकांक्षी थिइन् । पार्टीले साविककै मेयरलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि उनी पछि हटेकी हुन् । ‘गठबन्धन भएपछि सबै दल समेट्न खोज्दा महिला पछाडि परे,’ उनले भनिन्, ‘गठबन्धनले चुनाव त जितियो, महिला पछाडि पर्नुपर्‍यो ।’ माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले पनि चित्तबुझ्दो तरिकाले नेतृत्वमा महिला पुर्‍याउन नसकिएको बताइन् । गठबन्धनले महिलालाई तल्लो तहमै सीमित बनाएको उनको निष्कर्ष छ ।

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहबाट दुई जना महिला मात्र प्रमुखमा निर्वाचित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका र पाल्पाको बगनासकाली गाउँपालिकामा मात्र महिला निर्वाचित भएका हुन् । लुम्बिनीमा एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपासहितका दलले ११ स्थानीय तहमा महिलालाई प्रमुखमा उठाएका थिए । स्वतन्त्रबाट ७ महिला प्रतिस्पर्धामा थिए । तीमध्ये सुनवल नगरपालिका प्रमुखमा एमालेकी विमला अर्याल निर्वाचित भएकी छन् । उनी यसअघि पनि नगर प्रमुख पदमा उम्मेदवार थिइन् । ‘पराजित भए पनि म सामाजिक कामबाट कहिल्यै बाहिर बसिनँ,’ उनले भनिन्, ‘त्यसैले पार्टीले विश्वास गरेर फेरि टिकट दियो, मैले मतदाताको माया पाएँ ।’

पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेकै सरस्वती दर्लामी अध्यक्षमा विजयी भएकी छन् । यसअघि उनी उपाध्यक्ष थिइन् । उपाध्यक्षमा लुम्बिनी प्रदेशभर २ सय ३ जना महिला उम्मेदवार थिए । तीमध्ये ८४ जना निर्वाचित भएका छन् । एक स्थानको मतगणना जारी छ । कांग्रेस, माओवादीसहितका ठूला ५ दलले गठबन्धन गरेका कारण उपप्रमुखमा महिला उम्मेदवार कम थियो । एमालेले १ सय ९ स्थानमै महिला उम्मेदवार बनाएको थियो । गठबन्धनले भने ६१ स्थानमा महिला उम्मेदवार बनाएको माओवादी प्रदेश नेता तुलाराम घर्ती मगरले बताए ।

उपप्रमुखमा सबैभन्दा धेरै रूपन्देहीका १६ पालिकामा महिला निर्वाचित भएका छन् । तिलोत्तमाको मतगणना जारी छ । त्यहाँ एमालेकी जगेश्वरदेवी चौधरी निर्वाचित हुने निश्चित जस्तै छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा दुई महिला निर्वाचित भए । एक स्थानीय तहमा एमाले–माओवादी गठबन्धनबाट पुरुष उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै, ९ स्थानीय तह रहेको प्यूठानमा पनि ७ पुरुष र २ महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

कर्णालीका ७९ स्थानीय तहमध्ये दुई वटाको प्रमुखमा महिला आएका छन् । दैलेखको भैरवी गाउँपालिकामा कांग्रेसबाट रीताकुमारी शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेकी मोहनमाया ढकालले नेतृत्व पाएका छन् । २४ स्थानीय तहका उपप्रमुख र उपाध्यक्षमा पनि पुरुष नै छन् । जबकि ०७४ को स्थानीय निर्वाचनमा ७६ जना उपप्रमुख महिला थिए । त्यति बेला पनि २ पालिका प्रमुख महिला थिए । कालीकोटकी माओवादी केन्द्रकी नेत्री मनशोभा बुढाले गठबन्धनका नाममा महिलालाई उम्मेदवारीबाटै पन्छाइएको बताइन् । ‘जिल्लामा पनि सामूहिक छलफल गरेर महिलाको प्रतिनिधित्व सुनिश्चित हुने वातावरण बनाइनुपर्थ्यो,’ कालीकोटको नरहरिनाथ गाउँपालिकाकी पूर्वउपाध्यक्ष बुढाले भनिन्, ‘महिलाले पनि सामूहिक रूपमा दबाब दिन सकेनौं ।’ गठबन्धनका नाममा महिलाको अधिकार खोसिएको उनको भनाइ छ ।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये दुई वटाको प्रमुखमा महिला निर्वाचित भएका छन् । कैलालीको लम्कीचुहा र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा महिला चुनिएका छन् । लम्कीचुहा नगरपालिकामा सुशीला शाही र पञ्चदेवल विनायक नगरपालिकामा अम्बिकाकुमारी चलाउने प्रमुख भएका हुन् । उनीहरू दुवै कांग्रेसबाट निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले ०७८ चैत १२ मा स्थानीय तहको प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये कुनै एकमा मात्र उम्मेदवारी दिने दलले महिलाको मनोनयन व्यवस्था गर्न भनेको थियो । तर, चैत २९ मा आयोगले ‘मनोनयनमा प्राथमिकता दिनुपर्ने’ हुनुपर्नेमा अन्यथा भएको भन्दै सच्याएसँगै दलहरूको गठबन्धनबाट स्थानीय तहको नेतृत्वमा महिलाको उपस्थिति कमजोर भएको हो । एक पदमा मात्रै उम्मेदवारी दिएका गठबन्धन दलले पुरुषलाई प्राथमिकता दिएर उम्मेदवार बनाएका थिए ।

राजनीतिक विश्लेषक प्राध्यापक भेषप्रसाद धमलाले प्रत्येक पालिकाको प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एक महिला उम्मेदवार हुने संवैधानिक व्यवस्थाको मर्मलाई राजनीतिक दलहरूले उल्लंघन गरेको आरोप लगाए । ‘लैंगिक समानताको सिद्धान्त अंगीकार गरेका दलले महिलालाई नेतृत्वबाट वञ्चित गराएको प्रस्ट छ । यसले राम्रो सन्देश दिएन,’ उनले भने, ‘अहिलेका महिला सक्षम भइसकेको अवस्थामा प्रोत्साहित र उत्साहित गर्दै लग्नुपर्नेमा राजनीतिक दलले विपरीतको काम गर्नु उचित भएन ।’

तीन पालिकामा प्रमुख–उपप्रमुख दुवै महिला

झापाको गौरीगन्ज गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । गौरीगन्जमा कांग्रेसकी फूलवती राजवंशी तथा उपाध्यक्षमा एमालेकी पुजन न्यौपाने कुँवर निर्वाचित भएका हुन् । फूलवती जिल्लामा आदिवासी राजवंशी समुदायबाट गाउँपालिका अध्यक्षमा चुनिने पहिलो महिला पनि हुन् ।

भैरवी गाउँपालिकामा रीताकुमारी शाही अध्यक्ष र देवी भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् । दुवै कांग्रेसबाट उम्मेदवार बनेका थिए । यस्तै, कैलालीको लम्कीचुहामा नगर प्रमुखमा कांग्रेसकी सुशीला शाही र उपप्रमुख एमालेकी जुना चौधरी निर्वाचित भएका छन् ।

अर्जुन राजवंशी (झापा), देवनारायण साह (मोरङ), सन्तोष सिंह (धनुषा), प्रतीक्षा काफ्ले (कास्की), सुवास बिडारी (मकवानपुर), घनश्याम गौतम (रूपन्देही), कृष्णप्रसाद गौतम (सुर्खेत), डीआर पन्त (डडेलधुरा), तुलाराम पाण्डे (कालीकोट), नारायण शर्मा (पूर्वी नवलपरासी), अगन्धर तिवारी (पर्वत), प्रकाश बराल (बागलुङ), हरिराम उप्रेती (गोरखा) र सम्झना रसाइली (तनहुँ)

प्रकाशित : जेष्ठ १२, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?