कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो कलासिर्जनाबाट सबल छन्

सुशीला तामा‌ङ, सीमा तामाङ

काठमाडौँ — क्यानभासमा उनी थोरै रङ पोत्छिन् । त्यसैमा अनेक रङहरू थप्दै जरा, पात र सिंगो लहरासहितको रूखको आकृतिमा ढाल्छिन् । एउटा लहरे रूखलाई त अस्तित्व जताउन केहीको आधार चाहिन्छ भने मानिसलाई पनि आफ्नो पहिचान बाहिर ल्याउन केही न केहीको सहारा चाहिन्छ भन्ने मान्यतामा अडिग छिन् सुरक्षा वाग्ले । 

जो कलासिर्जनाबाट सबल छन्

लामो समयदेखि कलाकर्मलाई जीवनको आधार बनाउँदै आएकी सुरक्षालाई सामान्य मानिसलाई झैं क्यानभासमा समाज र आफ्नै जिन्दगीका कथा उतार्न सजिलो छैन । जन्मजात नै उनका खुट्टा र हातका औंला सग्ला छैनन् तर पनि तिनै हातका आधा औंला र बूढीऔंलाका सहाराले कुचीलाई चलाउने कोसिस नछाड्दा उनमा आत्मविश्वास छ । कलाकृति बेचेरै मासिक राम्रै कमाइ गर्छिन् ।

तनहुँको आँबुखैरेनीमा जन्मिएकी उनलाई कलाबाटै आत्मनिर्भर हुन सक्छु भन्ने साहस थियो । स्कुले जीवनपछि नै उनले ललितकला अध्ययन थालेकी हुन् । ‘कापी र घरका कपडामा सानैदेखि ससाना एनिमेसन गर्ने, बुट्टा भर्ने गरे पनि मेरो रुचि संगीतमा बढी थियो,’ उनले भनिन्, ‘जब संगीत अध्ययनमा तबला अनिवार्य भएको थाहा पाएँ, म त्यत्तिकै रोकिएँ ।’ औंलाले तबला बजाउन नसक्ने भएकाले आफूले कुची समाउने निर्णय लिएको उनले सुनाइन् ।

उनलाई लाग्छ जिन्दगी भन्नु नै अनेक रङको मेल हो । ‘मानिसलाई शरीर होइन, आत्मबलको खाँचो छ,’ उनको बुझाइ छ । आफ्नो सिर्जनशीलतालाई जीवन्त राख्न लहरायुक्त रूखको प्रतिबिम्बलाई जोडेर अगाडि बढेकी सुरक्षाले जीवन धान्न भने मुहार चित्रहरूलाई आधार बनाएकी छन् ।

एक जनाको मुहारचित्र उतार्न उनी ३ हजार ५ सयदेखि २० हजारसम्म लिन्छिन् । ललितकलामा स्नाकोत्तर उनी हालसम्म एक दर्जनभन्दा बढी सामूहिक प्रदर्शनीमा सहभागी भइसकेकी छन् । कोरोनाको महामारीपछि कीर्तिपुरस्थित एउटै कोठामा सीमित रहेको उनको सिर्जना यात्रा आफ्नै ग्यालरीमा पुर्‍याउने उनको योजना छ ।

एकल प्रदर्शनी पनि गर्ने सोच बनाएकी छन् । सुरक्षाजस्तै गोरखाकी दृष्टिविहीन खुसी आलेमगर हस्तकलामार्फत आफूलाई सबल बनाउन लागेकी छन् । ललितपुर महानगर परिसरमा सञ्चालित हस्तकला मेलामा उनले आफ्नै स्टलमा ऊनबाट मफलर बुनिन् । जन्मजात दृष्टिविहीन भए पनि उनी सामान्य मान्छेले झैं कुरुस चलाएर फरक–फरक रङका ऊनबाट स्विटर, टोपी, मफलर बनाउन सक्छिन् ।

नले शिक्षा संकायबाट स्नातक गरेकी छन् । उनको दुई वर्षकी छोरी छन् । सरकारले सामाजिक सुरक्षाका नाममा उपलब्ध गराउने मासिक १६ सय रुपैयाँ उनले पनि पाउँछिन् तर त्यसको सट्टामा अपांगता भएका महिलाको क्षमता हेरेर रोजगारीको व्यवस्था तथा बिनाधितो ऋण उपलब्ध गराए जीवन निर्वाह गर्न सजिलो हुने उनको बुझाइ छ । ‘काठमाडौंमा १६ सय रुपैयाँले मासिक तरकारीका लागि पनि भ्याइनभ्याइ हुन्छ,’ उनले भनिन्, ‘सरकारले भत्ता लिएर घरमै बस्नु जस्तै गरेको छ ।’

अहिले उनी फाउन्ड द लिप्रोसी मिसन नेपालको सहयोगबाट स्टलमा आफ्नो सामान लिएर आएकी हुन् । आफूले बुनेका मफलर, टोपीलगायत सामग्री मेलामा वा घर घर गएर बेच्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखिन् । सरकारले शारीरिक रूपमा अशक्तहरू छुट्याई सीपका आधारमा अनुदान दिनुपर्ने उनको माग छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?