कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
नाटक समीक्षा - पल्पसा क्याफे

युद्धका डोब सम्झाउने कथा

'युद्ध भयो तर त्यसलाई पूर्ण रूपमा बिसाउन अझै सकिएको छैन । द्वन्द्व व्यवस्थापनका काम १५ वर्षदेखि अल्झेका अल्झियै छन् । टुप्लुक दैलोमा आफन्त आउलान् कि भन्ने पर्खाइमा बेपत्ताका परिवारले अझै बसेका छन् । नाटकमा रुपान्तरित चर्चित उपन्यास 'पल्पसा क्याफे'ले तीनै युद्धका डोबहरुलाई फेरि एकपटक सम्झाएको छ ।
रीना मोक्तान

काठमाडौँ — 'तिमी किन एक्लै बसेको, मजस्तै कसैलाई कुरिबसेको त होइन नि?' सामान्य भलाकुसारीमै हजुरआमा गम्भीर प्रश्न गर्छिन् । 
'होइन, हजुरआमा,'पुस्तक खोज्दै गरेका दृश्यले जवाफ फर्काउँछ,'गाउँ नगएको धेरै भयो ।' 
'घर जाँदै गर्नु, घरले पर्खिन्छ…' चर्खामा धागो मिलाउँदै हजुरआमा बोल्छिन् । 

युद्धका डोब सम्झाउने कथा

जेलिएका धागो मिलाउन हजुरआमालाई सघाउन थाल्छन्, दृश्य । आफ्नो ग्यालरीमा आएकी एक युवतीले उनका चित्र(पेन्टिङ)का रङ कालो भएको प्रतिक्रिया दिएपछि पुरानो कलासंस्कृतिका सन्दर्भ पुस्तक खोज्दै दृश्य हजुरआमाकहाँ पुगेका हुन् । ती युवतीले चिसो पेन्टिङका पछाडि भित्ताका रङ कारक बनेको सुनाएपछि नै हो दृश्य त्यहाँ पुगेको । हजुरआमा धागो मिलाउँदै हुन्छिन्, दृश्यले पुस्तक खोतल्न थाल्छ । अनि खोतल्न थाल्छन्, कसैको पर्खाइमा बसेकी हजुरआमाका नखोतलिएका कुरा । त्यसपछि हजुरआमा र दृश्यको त्यो मिठो भेटबारे लेखिएको चिठी पार्श्व धून बनेर गुञ्जिन्छ । मण्डला थिएटरमा मञ्चनरत नाटक पल्पसा क्याफेको दृश्य हो यो ।

लेखक नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे'लाई नाट्य रुपान्तरण गरेका हुन् सुरज सुवेदीले । युद्ध र प्रेमको सम्मिश्रण उपन्यासको नाममा विमल सुवेदीले नाटक निर्देशन गरेका छन् । पाठकले मानसपटलमा कोरिसकेका उही पुरानै पात्र, परिवेश र घटनाक्रमलाई उनले मञ्चमा उतार्ने प्रयास गरेका छन् । उपन्यासका पात्रलाई मञ्चमा उभ्याउँदा पाठक आफूले बाँचेको पात्र अनि परिवेशलाई दुरुस्तै देख्न रुचाउँछन् । त्यही पात्र र परिवेश मिल्दोजुल्दो नभइदिँदा पाठक हुँदै दर्शक बनेकाहरुलाई दृश्यमा भनिएका कथा खल्लो लाग्न सक्छ । तर, यो नाटकका लेखक अनि निर्देशकद्वय सुवेदीले भने 'पल्पसा क्याफे'का पाठकलाई केही हदसम्म उही पुरानै दृश्य, पल्पसा, सिद्धार्थसँग भेटाउने प्रयास गरेका छन् । नेपालको राजनीतिको महत्त्वपूर्ण कालखण्डमा उभिएर भनिएको दृश्य र पल्पसाबीचको प्रेम अनि युद्धका डोबहरुमा नाटकले दर्शकलाई डोहोर्‍याउँदै लान्छ ।

पुस्तकमा पल्पसा र दृश्यको प्रेममार्फत युद्धका परिवेश र घटनाहरू लेखिएका छन् । नाटकमा भने प्रेमभन्दा बढी द्वन्द्वका विषय समेटिएका छन् । नाटकको सुरुमै कलाकारहरु बेलुनलाई बेस्सरी मुसार्छन्, त्यसबाट निस्कने कर्कशपूर्ण आवाजले नै युद्ध कस्तो थियो भन्ने झल्को दिन्छ । बम पड्किन थाल्छ । पृष्ठभूमिमा युद्ध भूमिका चित्राकार सुनिन्छन् । युद्धको नमिठो धुनसँगै पृष्ठभूमिमा बज्ने बन्दुक, युद्धको कोलाहलले दर्शकको मुड युद्धतिर तानिन थाल्छ । त्यसपछि मञ्चमा देखा पर्छन् पल्पसा अनि दृश्य । गोवामा संयोगले भेटिन्छन् यी दुई । दृश्य पेशाले चित्राकार । काठमाडौंको कोलाहलबीच शान्त चित्र कोर्न सक्ने चित्रकार ।

अमेरिकाबाट नेपाल फर्किएकी पल्पसा दृश्यका चित्रका फ्यान । अमेरिकाको कथामा डकुमेन्ट्री बनाए पश्चिमा कथाहरुको दास बन्ने सोचले पल्पसालाई काठमाडौं फर्काएको हो । डकुमेन्ट्री फिल्ममेकिङमार्फत उनी आफ्नै देशका कथा भन्न चाहन्छिन् । गोवामा एकअर्कासँग ठोक्किएका यी दुई काठमाडौं फर्केपछि पनि भेटिरहन्छन् । अव्यक्त कुराहरुलाई चिठ्ठीमार्फत आदानप्रदान गर्छन् । चित्रमार्फत नजिक भएका उनी दुईको प्रेमलाई चिठ्ठीहरुले जोडदिन्छ । चिठ्ठीहरु अनि एकाध भेटबाट मौलाउँदै गएको पल्पसा र दृश्यको प्रेममा दुईको प्रेमबीच सशस्त्र संघर्ष मिसिँदै जान्छ । उत्कर्षमा पुग्दै गरेको युद्ध अनि पलाउँदै गरेको यी दुईको प्रेम 'पल्पसा क्याफे'मा प्रस्तुत छ ।

कृतिलाई दृश्यमा परिणत गर्दा कथाको मर्म मर्ने खालका थुप्रै प्रयासहरु विगतमा असफल बने । तर 'पल्पसा क्याफे'मा हजुरआमासँगको भेट, युद्धमा होमिन तयार किशोरी, दृश्यकहाँ सेल्टर माग्न आउने साथी सिद्धार्थ, मीत बा र आमालाई भेट्न जाँदाका घटनाक्रम छुटेका छैनन् । उपन्यासको मर्म समेटिएकै कारण मञ्चमा पल्पसा क्याफे अधुरो लाग्दैन । तर, दृश्य र पल्पसाबीचको प्रेमलाई उपन्यासमा झैं बलियो रूपमा प्रस्तुत गरिएको छैन । तर, युद्धकालको एउटा समय, परिवेश अनि त्यसबेलाका पात्रहरुले बाँचेको जीवनलाई भने नाटकले बोलिदिएको छ ।

थाल फ्याँक्दै गरेको बिम्बात्मक दृश्य निकै सशक्त पूर्ण ढंगले देखाइएका छन् । थालहरू एकापसमा ठोक्किन्छन् । चर्को आवाज गुञ्जिन्छ । दुई विचारको ठक्कर, दुई सिद्धान्तको द्वन्द्व, युद्धमा लडेका दुई पक्षको प्रतिनिधित्व गर्ने उक्त दृश्यमा थालहरू ठोक्किँदाको आवाजले युद्धको कोलाहल देखाइदिन्छ । त्यही दृश्यलाई निकै कलात्मक ढंगले युद्धका लागि तयार भएकी किशोरीसँग जोडिदिएको छ । शब्द जति सशक्त हुन्छन्, दृश्य त्यो भन्दा बढी शक्तिशाली हुन्छ भन्ने कुराको उदाहरण हो यो । युद्धका कमान्डर सिद्धार्थको मृत्युलाई पनि कलात्मक रुपले प्रस्तुत गरिएको छ ।

सेना र जनयुद्धका लडाकुबीचको द्वन्द्वलाई गीतहरुमार्फत निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । स्टेजको दायाँपट्टि उभिएका जनयुद्धका लडाकुहरु गाउँछन्,'हातमा कलम हुनेहरु कलम लिएर उठ। बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ । गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ । यो देशको मुहार फेर्नलाई उठ…।' त्यसपछि सेनाहरु गाउँछन्,'रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो…।'

नाटकले द्वन्द्वकालले छोडिदिएको आघात, घाउहरुलाई सम्झाइदिन्छ । हुर्कँदै गरेको छोरीलाई जनयुद्धमा पठाउँदा एक बुवाले झारेको आँसु र पीडालाई देखाइदिन्छ । बारुदका आवाज । पर्दामा देखाइने थोत्रा गोल्डस्टार । आफ्नाहरुलाई गुमाउनेहरुको त्रास । दुई पक्षको युद्धका बीचमा पिल्सिएका जनता । मारिएकाहरुको लास । परिवर्तनका लागि क्रान्ति गरेका सिद्धार्थहरु । गलत व्यवस्था सच्याउन हिँडेकाहरुको अनुहार नाटकमा प्रस्तुत गरिएको छ । युद्ध केका लागि र कसका लागि गरियो, कस्ता व्यवस्थाको विरुद्ध थियो युद्ध ? अनुत्तरित यीनै प्रश्नहरूमाथि सोच्न बाध्य पार्छ नाटकले ।

सेल्टर लिन आएको सिद्धार्थले पहिरेको सफा चिट्टिक्क लुगालाई खोलिँदा देखिने रगतका दागहरुले युद्धमा बगेका रगत झल्को दिन्छ । उक्त दृश्यमा क्रान्तिका लागि लड्दै गरेको सिद्धार्थलाई दृश्यले भन्छ,' तिम्रो यो युद्धमा जनता मर्दैछन् । निर्दोष जनता मारेर आएको व्यवस्थामा केही नयाँ चिज हुन सक्दैन । युद्ध हिँड्ने बाटोमा को-को हराए, को-को डराए, को-को पुरिए, विश्व नै हतियारबद्ध छ । यहाँ मान्छेको हिसाब, मान्छेको हिसाब कसले गर्ने ?'

युद्धको समयमा बिहान घरबाट हिँडेकाहरू फर्केर आएनन् । आउँछु भनेर पर्खाउनेहरू फर्किएनन् । उनीहरूलाई पर्खिरहेकाहरूको आवाजमा दृश्यले बोल्छ, 'हो त हजुरआमा एउटा सिंगै मान्छे त्यसै कहाँ हराउँछ । उ हराउन त, धेरै मान्छेहरू चुप बस्नुपर्छ । उ हराउन त धेरै चिजहरु चुप बस्नुपर्छ । हराउँदै गरेको उसलाई कसै न कसैले त देखेको होला । हराउँदै गरेको उसलाई कसै न कसैले त सुनेको होला ?

युद्धमा बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६० हजारभन्दा बढी उजुरी परे । तर निकै थोरै घटनामा मात्र छानबिन भएको छ । युद्धमा विद्रोही शक्ति, प्रहरी/सेना र सर्वसाधारण गरी १७ हजारभन्दा बढी मारिए, सयौं बेपत्ता पारिए । करिब १ दशक चलेको राज्य र विद्रोही शक्तिबीचको युद्ध २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएपछि टुंगियो । विद्रोही शक्ति पटक-पटक सरकारमा आए । तर द्वन्द्वका अवशेष अझै बाँकी छन् ।

नाटकमा भनिएझैं युद्ध सुरु गरियो, तर त्यसलाई पूर्ण रूपमा बिसाउन अझै सकिएको छैन । द्वन्द्व व्यवस्थापनका काम अझै बाँकी छन् । टुप्लुक दैलोमा आफन्त आउलान् कि भन्ने पर्खाइमा बेपत्ता परिवार अझै बसेका छन् । आफन्त गुमाएकाहरू न्याय निरुपणको पर्खाइमा छन् । युद्धमा घाइते भएका व्यक्तिहरू शरीरमा गोली र छर्रा बोकेर बसिरहेका छन् । अनि युद्धमा होमिँदै गरेकी छोरीलाई बाबुले सम्झाएको नाटकको एक संवाद समयसान्दर्भिक लाग्छ, 'छोरी शरीरमा गोली बोकेर कहिल्यै नहिँड्नु । त्यसले जीवनभर पोलिरहन्छ ।'

अडियोमा वाचन हुने चिठ्ठी, डिजिटल प्रोजेक्सनमा देखाइने चित्र अनि जीवन्त लाग्ने पात्रहरुमार्फत मञ्चमा द्वन्द्वको वास्तविक स्वरूप र दु:ख देखाइदिएको छ । 'ल्यामपोस्टमुनि आगो तापिरहेछन् नानीहरु । युगौंदेखि छ जाडो…'बोलको गीत, मिठा संवाद, बिम्बको बेजोड प्रयोग गरिएको यो नाटकमा दर्शकहरूका लागि अवसर हो, युद्धलाई फर्केर हेर्ने । अनि प्रश्न गर्ने, व्यवस्था फेरिए, क्रान्ति सकियो के युद्धले खोजेको परिवर्तन आयो ? ।नाटकमा प्रप्सहरुका प्रयोग प्रशंसालायक पक्ष हुन् ।

हजुरआमासँगको भेटमा दृश्यले प्रयोग गर्ने पुस्तकहरू त्यसका उदाहरण हुन् । आफ्नो अभिनयमार्फत संगीता थापाले सबैभन्दा बढी दर्शकको ध्यान तानेकी छन् । उनले हजुरआमाको अभिनयलाई सशक्त ढंगले प्रस्तुत गरेकी छन् । सानी 'फुच्ची' को भूमिकामा पूर्णिमा आचार्यले गरेको अभिनय उम्दा लाग्छ । पल्पसाको भूमिकामा सृष्टि श्रेष्ठ र दृश्यको भूमिका निर्वाह गरेका निर्देशक विमल सुवेदीको अभिनय पनि प्रशंसनीय नै छ ।

प्रकाशित : वैशाख १९, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?