कर्णालीमा पहिलोपटक मिस नेपालको अडिसन हुने- कला - कान्तिपुर समाचार

कर्णालीमा पहिलोपटक मिस नेपालको अडिसन हुने

कृष्णप्रसाद गौतम

सुर्खेत — मिस नेपालका लागि कर्णाली प्रदेशमा पहिलोपटक अडिसनको आयोजना गरिने भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबार र बिहीबार अडिसन गरिने भएको हो ।

नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक द हिडन ट्रेजरले जनाएको छ । आयोजकका अनुसार यो पटकदेखि मिस नेपाल पिजान्टमा केही परिवर्तन गरिएको छ । ‘प्रतियोगीको उचाइ ५ फिट ४ इन्चबाट घटाएर ५ फिट ३ इन्च उचाइको मापदण्ड बनाइएको छ,’द हिडन ट्रेजरका निर्देशक गीरेन्द्रमान राजवंशीले भने, ‘यसै वर्षदेखि प्रतियोगीको उमेर १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ ।’ उनका अनुसार यो वर्षको प्रतियोगिताका लागि वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको छ । त्यसका लागि नेपालगन्जमा अडिसन सकिएको छ भने शुक्रबारदेखि धनगढीमा र आइतबारदेखि धरानमा अडिसन हुनेछ ।

काठमाडौंमा भने जेठ ३ गते अडिसन हुने उनले जानकारी दिए । छानिएका प्रतियोगीलाई एक महिनाको बन्द प्रशिक्षण दिएपछि फाइनलमा सहभागी गराइनेछ ।

यो वर्ष मिस नेपाल-वर्ल्ड, मिस नेपाल-अर्थ र मिस नेपाल-इन्टरनेसनल गरी ३ वटा मुख्य ‘टाइटल’ रहनेछन् भने कान्तिपुर मिडिया ग्रुपले प्रायोजन गरेको ‘द काठमाडौं पोस्ट मिस इन्टिलेक्चुअल’सहित ७ वटा ‘सबटाइटल’ रहनेछन् । मिस नेपाल इन्टरनेसनल-२०२० सन्ध्या शर्माले कर्णाली चिनाउन पनि सुर्खेतमा पहिलोपल्ट अडिसन आयोजना गरिएको बताइन् । ‘यो यस्तो प्रतियोगिता हो‚ जहाँ जित्नका लागि आए पनि सबै प्रतियोगी हार्नसमेत तयार हुन्छन्,’ उनले भनिन्, ‘म पनि कुनै उपाधि जित्छु भनेर गएकी थिइनँ, केही सिक्नका लागि गएकी थिएँ तर उपाधि जितियो ।’

उनले आफैंले आफैंलाई विश्वास गर्न सके उपाधि धेरै टाढा नभएको बताइन् । ‘म मधेसी समुदायकी युवती, हाम्रो बाउन्डरी भनेको हाम्रो घर हो,’ उनले भनिन्, ‘घरलाई सकारात्मक बनाउन सके समाज आफैं बदलिन्छ ।’ नेपाली समाजले बिस्तारै ‘ग्ल्यामरस’ क्षेत्रबारे बुझ्दै गएको उनको भनाइ छ ।

मिस नेपाल वर्ल्ड-२०१५ इभाना मानन्धरले काठमाडौं र पोखरामा मात्र हुने प्रतियोगिताहरू कर्णाली आउँदा कर्णालीको महत्त्व झल्किएको बताइन् । ‘महिलालाई स्ट्रेन्थ बनाउन पनि यो प्ल्याटफर्म महत्त्वपूर्ण छ । म विदेशमा थिएँ; त्यही दौरानमा अडिसन दिएँ र सेलेक्सन पनि भएँ,’ उनले भनिन्, ‘ताज जितेपछि नेपालकै लागि केही गर्छु भन्ने सोच आयो; फेरि विदेश गएँ ।’ आफूमा क्षमता छ भन्ने आत्मविश्वास भए जुनसुकै परीक्षामा पनि उत्कृष्ट भइने उनको भनाइ छ । उनले यहाँका युवतीले आफ्नो इच्छालाई प्रष्फुटन गर्न सके आगामी मिस नेपाल कर्णालीले पाउन सक्ने बताइन् ।

प्रकाशित : वैशाख २१, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

एआईजीपी पोखरेलको रिट न्यायाधीश माथेमाको इजलासमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटको सुनुवाइ सुष्मलता माथेमाको इजलासमा हुने भएको छ ।

एआईजीपी पोखरेलले सिंहलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने मागदाबी गरेका छन् ।

रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् ।

पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गरेका छन् । पोखरेलले एआईजीसम्म आइपुग्दा आफूले कुनै विभागीय कारबाही नभोगेको तर महानिरीक्षकमा बढुवा भएका सिंहले पटक–पटक कारबाही भोगेको तथा एआईजीमा बढुवाविरुद्धको मुद्दा अदालतमै विचाराधीन रहेको अवस्थामा बढुवा भएकोमा पनि प्रश्न उठाएका छन् ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतामा अगाडि रहेका एआईजीद्वय पोखरेल र सहकुलबहादुर थापालाई पन्छाएर डेढ महिना अघि डीआईजीबाट एआईजी बनेका सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । २०७७ मंसिरमा पोखरेल एआईजी भएका थिए । त्यसको ७ महिना पछि थापा २०७८ असार र महानिरीक्षकमा बढुवा भएका सिंह गत चैत ७ मा एआईजी भएका थिए ।

प्रकाशित : वैशाख २१, २०७९ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×