नृत्य केन्द्रमा पुस्तकालय सपना- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नृत्य केन्द्रमा पुस्तकालय सपना

लोक र आधुनिक नाचका इतिहास र नियमको अध्ययनलाई कलाकारसँग जोड्ने जमर्को
सुशीला तामा‌ङ

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा ‘नृत्य शृंखला ०.१’ शीर्षकमा भएको प्रस्तुतिले सहभागी दर्शकको ध्यान केन्द्रित गर्‍यो । शास्त्रीय संगीतमा आधा दर्जनभन्दा बढी नृत्यांगनाहरूको कथक नृत्य प्रस्तुति रोचक त थियो नै, कलाकारका लागि पनि उक्त कार्यक्रम उत्साहपूर्ण थियो । करिब एक घण्टासम्म देखाइएका नाचमार्फत कलाकर्मीले महिलाका कथाहरू दर्शकलाई पस्किँदै मनोरञ्जनका साथै नृत्यको महत्त्व झल्काएका थिए ।

अनामनगरस्थित एस्थेटिक डान्स सेन्टरले नृत्य केन्द्रमा पुस्तकालयको सपना बुनेर पहिलो शृंखला गत सोमबार प्रस्तुत गरेको थियो । सेन्टरले मण्डलामा आगामी मंगलबार दोस्रो प्रस्तुति गर्दै छ ।

अहिले त्यसका लागि समूह रिहर्सलमा जुटिरहेको छ । नृत्यलाई व्यावसायिक बनाउन र यसमा नयाँ पुस्तालाई ल्याउनुपर्छ भन्ने ध्येयले २०७२ मा स्थापना भएको सेन्टरले डान्स स्टुडियोको एक कोठामा अब पुस्तकालय सञ्चालन गर्दै छ । त्यसलाई चाहिने पुस्तक, फर्निचर जस्ता आवश्यक सामग्री जोहोका लागि नै कलाकारहरूले नृत्य शृंखला सुरु गरेएको सेन्टरका संस्थापक कलाकार नम्रता केसीले बताइन् ।

‘नृत्यको आयाम फराकिलो छ । नृत्यलाई संस्कृति, संगीत, कला र लोक सभ्यतासँग जोड्न सकिन्छ,’ उनले भनिन्, ‘यसमा बुझ्नुपर्ने र अध्ययन गर्नुपर्ने कुरा धेरै छन् । तर, हाम्रोमा डान्सरहरूले पढ्नुपर्छ भन्ने मान्यता थोरैले बुझेका छन् ।’ नृत्यमा अध्ययन, अनुसन्धान हुनुपर्छ र यस विषयमा जोडिएका अन्य पक्षहरूलाई केलाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न आफ्नो समूह लागिपरेको केसीले प्रस्ट्याइन् ।

नृत्यलाई अन्य विधासँग जोडेर नयाँ प्रयोग गर्दै अगाडि लैजानुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताइन । यसअघि उनको समूहले ‘राजेन्द्रलक्ष्मी’ र ‘ज्यानमाया’ जस्ता नाटकका मार्फत नृत्यलाई जोडिसकेका छन् । लोक तथा शास्त्रीय शैलीलाई एकै कार्यक्रममा समेटेर देशभरिको मौलिक नृत्यलाई उजागर गर्ने उद्देश्यले सेन्टरले झन्डै साढे दुई वर्षअघि तीनदिने ‘नृत्योत्सव’ समेत गरिसकेको छ । नृत्योत्सवमा सातै प्रदेशका फरक–फरक नृत्यहरू लिएर कलाकारहरू सहभागी भएका थिए ।

नृत्य भनेको नाचेर लिइने मनोरञ्जन मात्र होइन भन्ने केसी बुझाउन चाहन्छिन् । यसले इतिहास, सभ्यता र संस्कृतिका विविध पक्षहरू बोकेका छन् भन्ने आम मानिसलाई बुझाउने जमर्कोमा उनको छ । नृत्यलाई व्यावसायिक फर्ममा ढाल्नुपर्छ भन्ने कुरामा उत्तिकै अडिग रहेकी केसी आफू पनि निरन्तर नाचिरहेकी छन् भने नयाँ पुस्तालाई पनि अध्यापनसँगै नचाउँदै छिन् ।

सेन्टरको अहिलेको प्रस्तुति भने नृत्यलाई पनि टिकट सिस्टममा ल्याएर हेर्ने बानी बसाल्नुपर्छ भन्ने अभ्यास थालिएको उनी बताउँछिन् । पहिलो शृंखलामा पाएको दर्शकको मायाले उनी दंग छिन् । ‘हाम्रोमा डान्स हेर्न टिकट काट्नुपर्ने कल्चर बसिसकेको छैन । पानी पर्दा रुझ्दै भए पनि दर्शकहरू आउनुभयो । यसले झनै उत्साह थपेको छ,’ उनले भनिन् ।

उनका अनुसार नृत्य विधा आफैंमा एक्लै छैन । प्रत्येक लोकनृत्यमा समुदायको मौलिक संस्कृतिको मर्म लुकेको हुन्छ । सेन्टरमा स्थापना हुने पुस्तकालयमा यिनै पक्षहरू समेटिने केसीले बताइन् । ‘हामीले घाटु नाचबारे पढ्नुपर्‍यो भने त्यसमा नाचिने समुदाय, परिवेश र संस्कृतिका पक्षहरू आउँछन्,’ उनी उद्देश्य प्रस्ट्याउँछिन्, ‘ती सबै पक्षहरू समेटिने पुस्तकहरू लाइब्रेरीलाई संग्रह गर्ने र अध्ययन गर्ने वातावरण बनाउने हामीले सोचेका छौं ।’

नेपालमा नृत्यसम्बन्धी सीमित अध्ययन सामग्री भए पनि त्यसको उचित संग्रह हुन नसकेको केसीको बुझाइ छ । सेन्टरमा नृत्यसँगै पुस्तकालयमा हुने नयाँ र पुराना पुस्ताबीच जमघट, अध्ययन गर्ने समूह तथा छलफलले नृत्य विधामा नयाँ खोजको थालनी हुने उनको ठम्याइ छ । नृत्य क्षेत्रमा महिला डान्सरहरूलाई स्थापित हुन गाह्रो छ । निश्चित उमेर हद, विवाह, बच्चा, परिवार भएपछि उनीहरू कालान्तरसम्म जानै सक्दैनन् भन्ने भनाइलाई समेत उनी प्रतिवाद गर्न चाहन्छिन् । उनले थपिन्, ‘म विवाहित हुँ, बच्चाकी आमा पनि हुँ । म अझै नाच्दै छु र नाचिरहन्छु । हामीले हाम्रो कथा नृत्यमा पनि देखाउन सक्छौं र देखाउनुपर्छ ।’

प्रकाशित : वैशाख २६, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

मतदान केन्द्र हिँडे कर्मचारी

६० मतदाता रहेको गुम्बा मतदान केन्द्रमा पुग्न सदरमुकाम मार्तडीबाट ३ दिन लाग्छ
अर्जुन शाह

बाजुरा — मतदान अधिकृत नन्दकृष्ण उपाध्यायको टोली आइतबार सदरमुकाम मार्तडीबाट आफू खटिएको मतदान केन्द्र हिमाली गाउँपालिका १ गुम्बातर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा टाढा रहेको गुम्बास्थित हिमालभक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र छ । ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ ।

आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारी खटाइसकेका छन् । उनीहरूले आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयबाट सामग्री र कागजात बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले बताए । उनीहरूले नियुक्ति पत्र, मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट मतपेटिका र मतदानलाई चाहिने सामग्री बुझेका हुन् ।

आसन्न स्थानीय निर्वाचनका लागि बाजुरामा ५ सय ५८ कर्मचारी खटाइएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीमध्ये एक सय १२ मतदान अधिकृत, एक सय १२ सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी छन् । जिल्लाभर दुई मतदान अधिकृत महिला रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए । यो जिल्लाका ९ स्थानीय तहमा १ सय १२ मतदान केन्द्र र ७० वटा मतदान स्थल छन् । जिल्लामा ८२ हजार ६ सय ९० मतदाता छन् । कुल मतदातामध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा निकायले मतदानस्थलको सुरक्षाका लागि सतर्कताका साथ व्यवस्थित रणनीति बनाएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए । सुरक्षाका दृष्टिले जोखिमको मूल्यांकन गरी निर्धारित ७० मतदानस्थलमध्ये ३८ मतदानस्तललाई अति संवेदनशीलको सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको प्रजिअ पौडेलले बताए । २५ संवेदनशील र ७ सामान्य मतदान स्थलको सूचीमा राखिएको उनको भनाइ छ ।

४ जनप्रतिनिधि निर्विरोध

बाजुराबाट विभिन्न स्थानीय तहमा दलित महिला सदस्य कोटामा उम्मेदवार बनेका चार जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमध्ये बूढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेदवार रहेकी बसन्ती चँदारा, सोही नगरपालिका १० मा एमालेकै उम्मेदवार टुमरा दमाई, त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार रूपसरी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

समग्र सुदूरपश्चिम प्रदेशबाट भने १५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्ला र स्थानीय तहमा दलित महिला र महिला सदस्यहरू गरी १५ जना निर्विरोध भएका हुन् । १२ दलित महिला सदस्य तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध भएकाहरूमा एमालेका ७, कांग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक/एक जना निर्विरोधभएका हुन् ।

बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसकी सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसकै अम्रिता कामी, केदारस्युँ गाउँपालिका–४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी कन्थरीदेवी ओखेडा, केदारस्युँ ७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेदवार रम्भुदेवी कामी निर्विरोधनिर्वाचित भए ।

यस्तै जयपृथ्वी नगरपालिका–४ मा कांग्रेसबाट दलित महिला सदस्य पुतलीदेवी कामी र वडा नम्बर ७ की दलित महिला सदस्य एमालेकी सन्तोला चुनारा निर्विरोध भए । त्यस्तै, थलारा गाउँपालिका–६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटाकी उम्मेदवार ३४ वर्षीया सुनीतादेवी गिरी, वडा नम्बर ८ मा एमालेबाट जमुनादेवी खड्का, मस्टा गाउँपालिका–७ मा एमालेबाट दलित महिला सदस्या कोटामा उम्मेदवार हिमकला दमाई निर्विरोध भएका छन् । दार्चुलामा पनि निर्विरोध निर्वाचित भएका छन् । अपिहिमाल गाउँपालिका–३ मा एमालेबाट दलित महिला सदस्य उम्मेदवार शोभा टमटा, मार्मा गाउँपालिका–५ मा एमालेबाटै महिला सदस्य कमला महता पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : वैशाख २६, २०७९ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×