कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ग्यालरीमा फरक चित्र

नेपाल, बंगलादेश, भारत, फिलिपिन्स, सिरियालगायत देशका ४९ कलाकारले ‘पेट’ र ‘भ्वाइस लेस’ थिममा बनाएका चित्र ललितपुरस्थित विन्डहर्स ग्यालरीमा
मधु शाही

ललितपुर — चित्र हेर्दा अनौठो थियो । जोकोहीको आँखा तानिहाल्ने । त्योभन्दा नि रोचक चित्रकारले त्यो चित्र किन बनायो भन्ने भित्र कथा अझै लोभलाग्दो थियो । 

ग्यालरीमा फरक चित्र

ललितपुरस्थित विन्डहर्स ग्यालरीमा चित्रकला उद्घाटन गर्न आएका नेपाल जर्मन चेम्बर कमर्स एन्ड इन्ड्रस्टिज (एनजीसीसीआई) का अध्यक्ष सन्तोषचन्द्र कुँवरले चित्रकार तिसा श्रेष्ठको चित्र मात्रै हेरेनन्, निकै समय घोत्लिए । चित्रमा समेटिएको कथा र भावना बुझ्ने प्रयास गरे । कथा थियो, तिसाले दुई वर्षअघि घरमा पालेको कुखुराको । निकै मायाले पालेको कुखुरा अचानक मर्‍यो । तिसाले ‘क’ भनेर उनको नाम दिएकी थिइन् । त्यही नामले बोलाएपछि त्यो कुखुरा जहाँ भए पनि उनकै छेउ आउँथ्यो ।

कुखुरा मरेपछि दुःखमा परेकी उनले तस्बिर खिचेर राखेकी थिइन् । त्यही तस्बिर नियालेर चित्रमार्फत जीवन्त बनाउने प्रयत्न गरेकी हुन् उनले । तिसाले चित्र नियालिरहेका व्यवसायी कुँवरलाई कुखुरा र चित्रको कथा सुनाउँदै गइन् । मानव र जीवजन्तुबीचको भावनात्मक सम्बन्ध तिसाले भनेझैं चित्रमा पनि देखिन्थ्यो । खुला आकाशमुनि ‘क’ को अक्षर जोडेर अमूर्त कुखुराको आकृति तिसाले क्यानभासमा कलात्मक ढंगले उतारेकी छन् । थिम, आकृति र रंगको सुन्दर संयोजन देखेर व्यावसायिक कुँवरले चित्र हेरेर मात्रै फर्किन सकेनन् । चित्रकारको भावनाको कदर गर्दै चित्र खरिद नै गरे । उनी चित्र बुक गर्दै भने, ‘चित्रमा रंग मात्रै हुँदैन, कलाकारको भाव र परिश्रम छुपेको हुन्छ ।’ कुँवर कलाप्रेमी हुन् । उनी घरको सौन्दर्य बढाउन चित्र अनिवार्य ठान्छन् । त्यसैले प्रदर्शनीमा पुग्नु र खासगरी युवापुस्ताका कला खरिद गरेर उनीहरूलाई हौसला दिनु उनको सौख हो । यद्यपि उनी कला किन्नु सौखसँगै आफ्नो दायित्वसमेत भएको बताउँछन् । कला र कलाकारको संरक्षण व्यवसायीले गर्नुपर्ने उनको धारणा छ ।


‘भ्वाइस लेस’ थिममा ग्यालरीले तीनदिने कला प्रदर्शनी गरेको थियो । जसमा नेपाल, बंगलादेश, भारत, फिलिपिन्स सिरियालगायत देशका ४९ कलाकारका चित्र र प्रिन्ट थिए । ‘पेट’ थिममा बनाइएका अधिकांश चित्रले मानव सभ्यतासँग गासिएका जीवजन्तुबीचको अन्तरभाव कलामार्फत उतारिएको छ । तर, यी विभिन्न देशका कलाकारले चित्र बनाउँदा आफ्नै मुलुकको संस्कृति र बिम्ब प्रयोग गरेका छन् । यद्यपि भारत, नेपाल र बंगलादेशका चित्रकारको चित्रका बिम्ब र मर्म लगभग उस्तै देखिन्छन् ।

प्रदर्शनीमा अधिकांश युवापुस्ताका सिर्जना थिए । काठमाडौं छाउनी घर भएकी २९ वर्षीया तिसाको पढाइ हस्पिटालिटी हो । तर, उनको पछिल्लो रुचि चित्रकलामा बढ्दो छ । सौखका रूपमा कलासँगै लगेकी उनले व्यावसायिक बनाउने सोचमा छिन् । प्रदर्शनीमा आएर कसैले चित्र किनिदिए त खुसीको सीमा रहँदैन । चित्र केहीबेर नियालेर गयो भने पनि युवापुस्तालाई कला क्षेत्रमा सक्रिय हुन हौसला बढ्ने उनको अनुभव छ । ‘एउटा कलाकारले चित्रमार्फत केही भन्न खोजिरहेको हुन्छ, त्यो हेरेर बुझिदिनु पनि ठूलो उपलब्धि हो कलाकारका लागि,’ उनी भन्छिन्, ‘अझै बिक्री नै भयो भने त गजबै भयो ।’ उनको विचारमा चित्रकारको महत्त्व दर्शकले बढाउने हो । बिस्तारै ग्यालरीसम्म पुगेर चित्र हेर्ने संस्कारको विकास बढ्दै गएकाले कला क्षेत्रमा करिअर उज्ज्वल देखिन थालेको उनको बुझाइ छ ।


प्रदर्शनीमा राखिएको अर्को रोचक चित्र थियो, सिरियाका कलाकारको । सिरिया देश आफैंमा आकर्षित छ । व्यवसायी कुँवरले सिरियाली कलाकारको चित्र पनि किने । त्यहाँको सामाजिक र सांस्कृतिक महत्त्व उनका लागि विशेष लाग्यो । कला र संस्कृतिमा खानी हुँदासमेत खुल्न नपाएका देशका कलाकारले बनाएका चित्र आफैंमा युनिक हुने उनको बुझाइ छ । साङ्लोमा कछुवा बाँधिएको आकृति रहेको चित्र हेरेर कुँवरले सिरियाका विभिन्न तगारोको परिकल्पना गरे । ‘चित्रमा सिरियाको वास्तविकता महसुस गरे, त्यसैले कलेक्ट गर्न मन लाग्यो,’ उनले भने ।

चित्रकार अनिता भट्टराईले चित्र नियाल्दै गर्दा अन्य मुलुकका चित्रकारको कला चेत बुझ्न जरुरी रहेको बताइन् । इन्टरनेसनल आर्ट वर्ल्डको नेपाल संयोजकसमेत रहेकी उनी आफैं पनि सकेसम्म विदेशमा पुगेर कला सम्मेलनमा सरिक हुन्छिन् । उनले भारतका विभिन्न सहरसँगै बंगलादेश, संयुक्त अरब इमिरेट्स, इन्डोनेसियालगायत देशमा चित्रकला प्रदर्शनीको अनुभव सँगालिसकेकी छन् ।

कलाको चेत फराकिलो बनाउन ‘आर्ट एक्सचेन्ज कल्चर प्रोग्राम’ लाई प्रवर्द्धन गर्नुपर्ने अनिताको बुझाइ छ । ‘हामीकहाँ कलाकारबीच नै सहकार्यको कमी छ,’ उनी भन्छिन्, ‘अन्य देशको कला र आफ्नो देशको कला बुझाउन अन्तरघुलन नभई हुँदैन ।’

प्रकाशित : असार १०, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालमा फेरि हवाइ सुरक्षाको प्रश्न उठेको छ । पटकपटक दुर्घटना भइरहनुको मुख्य कारण के होला ?

×