कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चलचित्र उद्योगका पाँच व्यक्तित्व सम्मानित

काठमाडौँ — इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आईएनएनएफ) को पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो अवसरमा संस्थाले नेपाली चलचित्र क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान गरिरहेका पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

चलचित्र उद्योगका पाँच व्यक्तित्व सम्मानित

बिहीबार आयोजित विशेष समारोहका बीच चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरु नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई 'चलचित्र स्वर्णिम सम्मान-२०८०' ले सम्मान गरेको हो ।

त्यस्तै, सो अवसरमा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई 'चलचित्र विशेष व्यक्तित्व सम्मान-२०८०' प्रदान गरिएको छ ।

सम्मानित व्यक्तिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान पत्र र दोसल्ला ओढाएर विभूषित गरेका थिए ।

संस्थाको पहिलो अधिवेशनबाट केन्द्रीय अध्यक्षमा लव प्याकुरेल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भए भने महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् ।

कार्यक्रममा ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि भएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यको लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले बताए ।

अन्तर्क्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिए । प्रमुख वक्ता चर्चित अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गरे ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?