कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्र कोर्न रमाइरहेका युवा

भवानी भट्ट

कञ्चनपुर — एक हातमा ब्रस । अर्कोमा पेन्टको भाडो । ब्रस पेण्टमा डुबाउँदै पर्खालमा थारु संस्कृति झल्किने चित्र कोरिरहेका छन् भीमदत्त नगरपालिका–१८ सालघारीका २९ वर्षीय धनबहादुर चौधरी । थारु पहिरनमा सजएका महिलाहरुको चित्र कोरिरहेका उनी यही पेशामा रमाइरहेका छन् ।

चित्र कोर्न रमाइरहेका युवा

स्कुल पढ्दादेखि नै चित्रकलामा रुचि राख्ने उनी अहिले यसै पेशाबाट स्वरोजगार बनेका छन् । रोजगारीका लागि युवाहरु विदेश गइरहेका बेला उनी भने गाउँ घरमै आफ्नो रुचिको काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनले दिनमा १५ सय/दुई हजारसम्म आम्दानी गरिरहेका छन् । ‘सानैदेखि यो आर्टसमा रुचि थियो, अफै गर्दागर्दै सिकियो,’ चौधरीले भने, ‘१२ कक्षा पढदै स्कुल छाडेर यही पेशामा लागे ।’ उनी एक दशकदेखि यही काममा छन् । चित्रकला (फाइन आर्ट) र ब्यानर साइन बोर्डमा लेख्ने –कमर्सियल आर्ट) बनाउन उनी विभिन्न ठाउँ पुग्छन् । दिनभरि काम गरेर त्यसैबाट घर परिवारको गुजारा गर्छन् ।

चौधरी ब्रस र पेन्सिलले भन्दा मेसिनबाट ‘स्प्रे गरेर’ अझ राम्ररी चित्र बनाउँछन् । ब्रसको प्रयोग कम गर्छन् । स–सानो काममा भने ब्रसकै प्रयोग गर्छन् । चित्रकला वा ब्यानर तथा होर्डिङ्ग बोर्ड र साइन बोर्डलगायत बनाउँदा प्रति वर्गमिटरको तीन सयदेखि ५ सय रुपैयाँसम्म ज्याला निर्धारण गरिएको छ । प्रविधि भित्रिएसँगै पेन्टिङको काम पनि कम भएको चौधरी बताउँछन् । उनका अनुसार पसलको नाम लोख्ने, साइन बोर्ड बनाउने तथा विभिन्न किसिमका कार्यक्रमको ब्यानरलगायत बनाउने काम अहिले मेशिनबाटै हुन्छ । जसका कारण पेन्टिङको काम कम हुँदै गएको छ । ‘चुनावका बेला वा पार्टीका कुनै कार्यक्रमका बेला एउटै व्यक्तिले दुई/अढाइ लाखको काम गर्थ्यौं,’ २० वर्षदेखि पेन्टिङको काम गरिरहेका पुनर्वास नगरपालिका–८ का उदय सुनारले भने, ‘अहिले त कार्यक्रमका लागि ब्यानर बनाउने, होर्डिङ बोड बनाउने सबै काम फ्ल्याक्स प्रिन्टले खाइदियो ।’


उनी १७ वर्षकै उमेरमा यो पेशामा लागेका हुन् । त्यतिबेला कला क्षेत्रमा निकै आकर्षण थियो । घरेलु तथा साना उद्योग कार्यालयले यो विषयमा तालिम पनि दिने गर्थ्यो । उनी तीन महिने तालिम गरेर यस पेशामा लागेका हुन् । काम गर्दागर्दै उनले थप तीन महिनाको तालिम लिए । अहिले उनी फाइन आर्ट र कमर्सियल आर्टका चल्तीका कलाकार भएका छन् । उनी पेन्टिङकै लागि दाङ, बाँके र बर्दियासम्म पनि पुगेका छन् ।

नेपाल आर्टिस्ट संघले अरनिको दिवसको उपलक्ष्यमा महेन्द्रनगर बजार क्षेत्रको जिल्ला प्रशासन रोड छेउको पर्खालमा विभिन्न किसिमका कला संस्कृति झल्किने खालका पेन्टिङ्ग गरिरहेको छ । उक्त पेन्टिङमा २२ जना कलाकार खटिएका छन् । मौलिक पहिरनमा थारु म्हिला, विभिन्न किसिमका नृत्यमा रहेका महिला, छलिया नृत्य, हुडकेली नृत्यलगायतका चित्रहरु पर्खालमा कोरिएका छन् । ती चित्रले यस क्षेत्रको कला संस्कृतिलाई समेत झल्काएको छ । ‘सानोमा स्कुलको होमवर्क नगरी दुईतिर टुकी बालेर चित्र कोर्थे, राती दाईलाई देखाएर मात्रै सुत्थे,’ बेलौरी नगरपालिका–२ बैजुडाडाका तुलसीराम चौधरीले भने, ‘अहिले यही पेशाले घर परिवारको गुजारा चलेको छ ।’ उनी दुई कक्षामा पढ्दादेखि नै चित्रकलामा लागेका हुन् । उनको परिवारमा दाई, भाई र भतिजिहरु समेत राम्रो चित्र बनाउन सक्छन् । ‘यो पेशा गरेर राम्ररी घर परिवारको खर्च चलाउन सकिन्छ,’ चौधरी भन्छन्, ‘खाडीको कमाई भन्दा यसमै राम्रो हुन्छ, महिनाको ५०/६० हजारसम्म कमाउन सकिन्छ ।’ तर अहिले व्यापार व्यवसायमा आएको मन्दीले यो पेशामा पनि मन्दी आएको उनी बताउँछन् । उनका अनुसार बजारमा व्यवसाय राम्रो हुँदा व्यापारीले हरेक वर्ष पसलको नाम लेख्न बोलाउँथे । आकर्षक ढंगले सजाएर लेख्न लगाउँथे । तर अहिले त्यो सबै कम भएको छ ।

यो पेशामा नयाँ पुस्ताको आकर्षण पनि घट्दै गएको चौधरी बताउछन् । घट्दो काम र तालिमको अभावका कारण नयाँ युवा यसमा लाग्न सकेका छैनन् । अहिले कञ्चनपुरमा २५/३० जना मात्रै यो काममा रहेको उनले बताए ।


प्रकाशित : चैत्र ३, २०८० २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?