कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कला प्रदर्शनीमा ‘मिथिलाका महिला’

ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय कला प्रदर्शनीमा नम्रता सिंहले सिर्जना गरेको ‘म यो हुँ’ र कलाकार रवीन्द्र श्रेष्ठको कलात्मक डुंगा चिया घरले तान्यो दर्शक

भुइँमा अडिएको स्थिर डुंगा । खासमा पानी भए पो चल्थ्यो । त्यही डुंगामा मस्त गफिँदै चिया पिउनेहरू आइरहन्छन्, गइरहन्छन् । कोही त्यहीं बसेर टिकटक बनाउन थाल्छन् । कसैको ध्यान डुंगामै भएका गितारले तानेको छ ।

कला प्रदर्शनीमा ‘मिथिलाका महिला’

यो कलात्मक दृश्य नियाल्न नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानसम्म पुग्नुपर्छ । प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कला प्रदर्शनी–२०८०’ चलिरहेको छ । जेठ ३० सम्म चल्ने प्रदर्शनीमा डुंगादेखि ढुंगासम्मका प्रतिस्थापन कला, चित्रकला, मूर्तिकला, वास्तुकला, लोककलालगायत विभिन्न विधाका कलाकृति नियाल्न पाइन्छ । यस पटकको प्रदर्शनीमा दर्शकको आँखा भने डुंगाले तानेको छ । कलाकार रवीन्द्र श्रेष्ठले डुंगामा बस्ने कुर्सी, पुस्तक, गितारलगायतका सामग्री राखिएका छन् ।

दुई वर्षअघि रवीन्द्रले बेकार मानी थन्काइएको अवस्थामा डुंगा भेट्टाए । प्वालै प्वाल परेको डुंगाले मान्छे तार्न सक्दैन । के अब त्यसको उपयोगिता सकिएको हो त ? सामान्य मान्छे यही सोच्छ । तर, कलाकार रवीन्द्रले बेकार डुंगालाई कामको बनाए । त्यो पनि कलात्मक ढंगले । उनी भन्छन्, ‘केही कुरा पनि बेकार हुँदैन, प्रयोग गर्ने सिर्जनात्मक क्षमता चाहिन्छ ।’ रवीन्द्रले कालान्तरमा डुंगा घरलाई मोबाइल आर्ट पिसमा उतार्ने सोचेका छन् । त्यस्तै, डुंगामै चिया व्यापार गर्ने व्यावसायिक सम्भावनासमेत देखेको उनले सुनाए ।

केही अरू काम नलाग्ने भएका डुंगा पोखराबाट ल्याएर ठूलै स्केलमा डुंगा चिया घर बनाउने योजना आएको उनले सुनाए । प्रदर्शनीमा मान्छेको उत्साह देखेर उनी प्रेरित भएका हुन् । त्यही डुंगामा बसेर कुराकानी गर्नेहरू छन् । प्रदर्शनी अवधिभर उनी चिया पकाउनमै व्यस्त छन् । दूधको चिया खुवाउने उनको सौख हुन्छ । त्यसैले कहिलेकाहीं कला अवलोकन गर्न आउने दर्शक चियाको पर्खाइमा डुंगामै प्रतीक्षा गर्नुपर्छ । रवीन्द्र भन्छन्, ‘यो इनडोर र आउट डोर स्पेस आर्ट हो ।’

प्रदर्शनीमा अर्को आकर्षक कला बनेको छ, मिथिला चित्रकला । प्रतिष्ठानले बबरमहलस्थित आर्ट काउन्सिलमा पनि कला प्रदर्शनी गरेको छ । पहिलो तलामा मिथिला कला राखिएको छ । लोककला विधाबाट राष्ट्रिय ललितकला पुरस्कार पाएको एक चित्रले धेरै युवालाई निकै बेर घोत्लिन बाध्य बनाएको छ । प्रदर्शनी नियाल्न बुधबार आर्ट काउन्सिल आएकी २५ वर्षीया आरजु नकर्मीले मिथिला कलाको सामाजिक, सांस्कृतिक, धार्मिकसँगै समग्र जीवनशैली चित्रकलामार्फत मूल्यांकन गर्न पाएको बताइन् । उनले काठमाडौं बाहिर घुम्ने अवसर पाएकी छैनन् । मिथिला नगरी उनले सुनेकी मात्रै छिन् ।

अझै त्यहाँका महिलाको दैनिकी निकै कठिन हुने सुनेकी थिइन् । त्यो वास्तवमै के होला ? उनले यसको समग्र उत्तर चित्रकार नम्रता सिंहले सिर्जना गरेको ‘म यो हुँ’ शीर्षकको चित्र हेरेर पाएको बताइन् । चित्र नियाल्दै उनले भनिन्, ‘त्यहाँका महिला साँच्चिकै बोल्ड रहेछन् ।’ उनले भने झैं, चित्रमा कलाकार नम्रताले मिथिला क्षेत्रका महिलाको बहुक्षमताको प्रदर्शन गरेकी छन् । परम्परागत शैलीको आकृतिमा आधुनिक महिलाको भूमिकासम्म उतार्न सकेकाले यो चित्र पुरस्कृत भएको थियो खासमा । भान्सामा खाना पकाउनेदेखि स्कुल पढाउने शिक्षिका, जागिरे जीवन, सन्तान हुर्काउने भूमिकालगायत महिलाका बहुआयाम एउटै चित्रमा कलात्मक ढंगले पस्किएकी छन् ।

त्यस्तै, मिथिला चित्रकलामा अधिकांश चित्र राधाकृष्णका छन् । तर, कलाकारले भावअनुसार रंगको संयोजन गर्ने शैली भने रोचक छ । प्रेमपूर्ण भावमा रहेका राधाकृष्णको चित्र केही ब्ल्याक एन्ड ह्वाइट त केही रंगीविरंगी छन् । कलेज सकिएपछि बिहान ११ बजेतिर आएका आयुष लामाले बौद्ध दर्शन महसुस गर्न ग्यालरी आएको बताए । आर्ट काउन्सिलमा राखिएका कला प्रदर्शनीमा बुद्धका विभिन्न आकृतिदेखि दर्शन र जीवन भोगाइसमेत काष्ठकला, मूर्तिकला एवं थान्का पौवामा समेटिएका छन् । आयुष आफैं पनि थान्का लेख्न रुचाउँछन् । यसरी कला प्रदर्शनीमा आउँदा थुप्रै कलात्मक ढाँचा सिक्न र अनुसरण गर्न सकिने उनको मान्यता छ । ‘प्रदर्शनी भनेको हामी कलाका विद्यार्थीका लागि प्रयोगात्मक पाठशाला जस्तै हो । जति हेर्‍यो उति सिकिन्छ,’ उनले भने ।

यस वर्ष भने प्रतिष्ठानले प्रदर्शनी व्यवस्थित बनाउने प्रयास गरेको देखिन्छ । कलासँग सम्बन्धित पुस्तकसमेत प्रदर्शनीमा राखिएका छन् । म, मेरो देश र मेरो सिर्जना थिममा देशभरका कलाकारको सहभागितामा कला प्रदर्शनी आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए । प्रदर्शनीमा युवा पुस्ताका कलाकारको बाहुल्य रहेको उनको भनाइ छ । प्रतिष्ठानमा यो वर्ष दर्ता भएका ६ सय ५३ कलाकारका ७ सय ५५ कलाकृतिबाट छनोट गरेर प्रदर्शनीमा राखिएको हो ।

प्रकाशित : जेष्ठ २८, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?