कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्प र कोभिड सम्झाउने कला

रीना मोक्तान

काठमाडौँ — कुर्सीमाथि उभिएर उनी कागजको हवाईजहाज पर-पर उडाउने प्रयासमा देखिन्छन् । हवाईजहाज कहिले दर्शक बसेतर्फ पुग्छ, त कहिले उनीहरुलाई नाघेर पर । कुर्सी छेउमै छ, हवाईजहाजले भरिएको झोला ।

भूकम्प र कोभिड सम्झाउने कला

त्यही झोलाबाट हवाईजहाज निकाल्दै उडाउनमै व्यस्त छन् उनी । उनलाई घेरेर बसेका दर्शकसामू जब हवाईजहाज पुग्छ, उनीहरु पनि त्यसलाई उनीतिर तेर्स्याउँदै उडाउँदैछन् । हवाईजहाज उडाउन दर्शक उत्साहित । उनी भने दुई गोजीबाट ग्लिटर निकालेर हातभरि दल्दैछन् । हात हुँदै ग्लिटर भुइँतिर खस्दैछ । स-साना घन्टीजडित मास्क(टोपीजस्तो) पहिरेर दुई हातले मज्जाले बजाउँदै गर्दा दर्शकमा सन्नाटा छाउँछ । ललितकला प्रज्ञा प्रतिष्ठानको प्रांगणमा प्रस्तुत गरिएको 'पर्फमेन्स आर्ट'को दृश्य हो यो । उनी हुन्, पृथ्वी श्रेष्ठ । प्रतिष्ठानले आयोजना गरेको 'राष्ट्रिय कला प्रदर्शनी २०८०'मा पृथ्वीले यो प्रस्तुति दिएको हो ।

झट्ट हेर्दा लाग्छ, हवाईजहाजले नेपालको वैदेशिक रोजगारीको अवस्था देखाइरहेछ । हातमा दलेका ग्लिटरले कतै खाडीको बालुवाको प्रतिनिधित्त्व त गरिरहेको छैन ? टाउको मुसार्दा बज्ने कर्कश आवाजले वैदेशिक रोजगारीमा पुग्नेहरुको मनोस्थिति त प्रकट गरेको होइन ? पृथ्वीको प्रस्तुति हेरिरहँदा दर्शकबीच फरक विचारहरू अभिव्यक्त भइरहन्छ । कलाको सौन्दर्य यही । तर, पृथ्वीले भने कोभिडकालको मनोस्थिति देखाउन यो प्रस्तुति पस्केका हुन् ।

'फ्लाइङ माइन्ड'को नाम दिइएको यो प्रस्तुतिले कोभिडकालको मनोस्थिति प्रकट गर्ने पृथ्वी बताउँछन् । 'हामी एउटा कोठामा बसे पनि हाम्रो सोचहरु उडिरहेको हुन्छ नि । जतिसुकै दबाएर राख्न खोजे पनि यताउता जान खोजिरहेको हुन्छ । केही न केही सोचिरहेको हुन्छ, कहीँ न कहीँ पुगिरहेको हुन्छ भन्ने कन्सेप्टमा निर्माण गरिएको हो,' पृथ्वीले भने,'कोरोनाको समयमा हामी घरभित्रै थुनिएर बस्यौं । तर, हाम्रो विचार बाहिर जान खोज्थ्यो । हाम्रो आसा, विचारहरु उडिरहेको हुन्छ भन्ने देखाउन यो प्रस्तुति गरें ।'

घण्टीको आवाजले भने सँस्कृतिलाई प्रतिनिधित्त्व गर्ने पृथ्वीको भनाइ छ । बन्द कोठाभित्र थुनिएर बस्दा पनि हामी साँस्कृतिक गतिविधिमा सहभागी हुन चाहन्थ्यौं । भगवानमाथि विश्वास कायमै थियो । त्यही सँस्कृति र विश्वास प्रस्तुत गर्न आफूले मास्कको पहिरेको पृथ्वी सुनाउँछन् । पृथ्वीका हात पाखुरासम्मै रातो रंग पोतिएको थियो । कोभिड महामारीमा ज्यान गुमाएकाहरुको प्रतिनिधित्त्व गर्ने रंगले आफ्नो सुरक्षा गर्ने मानव साहसको अर्थ पनि दिन्छ ।

कुर्सीलाई 'घर'को रुपमा पृथ्वीले प्रयोग गरेका हुन् । त्यो ५० वर्ष पुरानो कुर्सीले घरको अनुभूति दिने भएकाले पनि प्रयोग गरिएको पृथ्वी सुनाउँछन् । सुरुमा उनले सेतो कागजको हवाईजहाज उडाए । आवाजलाई उनी सँस्कृतिसँग जोड्छन् । 'जति नै शिक्षित भए पनि हामी हाम्रो सँस्कृतिबाट टाँढा रहन सक्दैनौं भन्ने हिसाबले त्यो आवाजको प्रयोग गरिएको हो । त्यो आवाज र त्यो मास्कलाई सँस्कृतिसँग जोड्न नै प्रयोग गरें,' प्रस्तुति सकिएसँगै पृथ्वीले भने । शुद्धताको अर्थ दिन प्रयोग गरिएको 'ग्लिटर'ले त्यो समयमा मानिसले आफूलाई शुद्ध बनाउन गरेको प्रयास सम्झाउँछ । कोभिड भाइरसबाट आफूलाई बचाउने शुद्धताको प्रयास नै थियो, लकडाउन/आइसोलेसन । पृथ्वीले २ हप्ता लगाएर त्यो हवाई जहाजलाई बनाए । यसअघि चिल्लीको ट्रिनालेमा यो पृथ्वीले यो प्रस्तुति प्रस्तुत गरेका थिए । 'राष्ट्रिय कला प्रदर्शनी २०८०' भने दुईपटक प्रस्तुत गरिसके ।

पृथ्वीको प्रस्तुतिसँगै कलाकार रवीन्द्र श्रेष्ठले तीन मिनेटको 'पर्फमेन्स आर्ट' पस्के । अरनीको हलको प्रवेश द्वारमै उनी आफ्नो दायाँ हातको बुढी औंलाको छाप देखाउँदै उभिए । मौन अवस्थामा उभिएका रवीन्द्रको कला हेर्न आइपुगेकाहरुको ध्यान उनको औंठाछापमै पर्थ्यो । औंठाछापको बीचमै रातो रंगको धर्को । त्यसको ठिक तल लेखिएको छ,'वान वर्ल्ड' । हरेक मानिसको औंठाछाप फरक-फरक हुन्छ । 'हामी फरक भए पनि एकै हौं' भन्ने अभिव्यक्त यो आर्टले गर्छ ।

'औंठाछाप झैं हाम्रो जति, भाषा, सँस्कृति, भौगोलिक क्षेत्र… आदि फरक-फरक हुन् सक्छ । तर, हामी कहीँ न कहीँ एकअर्कासँग जोडिएकै हुन्छौं । सबैको शरीरमा एउटै रातो रगत बगिरहेको हुन्छ,' रवीन्द्रले आफ्नो प्रस्तुतिबारे बताए । रातो धर्कोले त्यही रातो रंगतको अर्थ दिने उनी बताउँछन् । 'कन्सेप्ट'मा काम गरिरहने रवीन्द्र औंठाछाप कलाकै लागि चिनिन्छन् । भूकम्पपछिको प्रदर्शनीमा 'भूकम्पमा जोडिएका मनहरु' भनेर सन् २०१६ तिर प्रस्तुत गरेका थिए । 'भूकम्पको समयमा हामी सबै जना एउटै ठाउँमा आइपुग्यौं । त्यतिबेला भूकम्प पीडितलाई सहयोग गर्ने ६४ जनाको औंठाछाप मैले संकलन गरें । ती सबैलाई मैले त्यो समयमा प्रदर्शनीमा राखें,'रवीन्द्रले भने । त्यसपछि 'औंठाछाप' कलाले विदेश भ्रमणको यात्रा सुरु गर्‍यो । भारतको 'आर्ट फेयर', हावर्ड युनिभर्सिटी, चाइना, बंगलादेशदेखि विभिन्न देश पुग्यो ।

हालै चिनियाँ नागरिकले रवीन्द्रको ब्लडको चित्रकला किने । रवीन्द्रले चित्रकलाको मूल्य सुनाइसकेका थिएनन् । तर चिनियाँ नागरिकले हातमा थमाइदिए, दुई लाख । रवीन्द्रले एक लाख आफूसँग राखे अरु फिर्ता गरिदिए । रवीन्द्रले उनको पनि औंठाछाप आर्ट बनाइदिए । त्यही आर्ट बोकेर ती व्यक्तिले हालै सगरमाथा आरोहण गरेछन् । त्यो आर्ट लिएर सगरमाथा चढेको तस्बिर र फोटो रवीन्द्रकहाँ आइपुगेको छ । मानिस एकअर्कासँग जोडिएको कुरा चिनियाँ ग्राहक र रवीन्द्रको यो सम्बन्धले पनि दर्शाउँछ । आफ्नो पर्फमेन्स आर्ट हेरेर एक दर्शकले आँशु झारेको कुरा भने रवीन्द्र बिर्सँदैनन्, 'मेरो छेउमा आउनुभयो । हातको औंठाछापमा ध्यान लगाउनुभयो । ब्याग्राउन्डमा संगीत त्यस्तै बजिरहेको थियो । त्यतिबेला उनले आफ्नो आँखाको आँशु मेरो अगाडि लुकाउनुभयो,'रवीन्द्र सुनाउँछन्,'त्यस्तो खालको अनुभव यो पर्फमेन्स आर्टमा बटुलें ।'औंठाछापमाथि रवीन्द्रको बेग्लै लगाव छ । प्रदर्शनीमा राखिएको 'डुंगा चिया घर'मा सत्यमोहनको औंठाछापलाई पनि सजाएर राखेका छन् ।

फर्ममेन्स आर्ट कलाको यस्तो विधा हो जहाँ कलाकारले एक्सन(कार्य) प्रस्तुत गर्छ भने त्यसमा अन्यको पनि सहभागिता रहन्छ । विभिन्न विषयवस्तु, घटना र अवस्थाप्रतिको धारणालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न यो विधा रोचक र प्रभावकारी हुन्छ । राजनीतिक–सामाजिक बेथितिमाथि व्यंग्य प्रहार गर्न पनि 'पर्फमेन्स आर्ट'को प्रयोग हुँदै आइरहेको छ ।

प्रकाशित : जेष्ठ २९, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?