कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

राष्ट्रपति रइसी र विदेशमन्त्रीलगायतको अवस्था भने अझै 'अज्ञात'

काठमाडौँ — इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको रेडक्रसले जनाएको छ । इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो ।

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले हेलिकप्टरको टुक्राहरू भेटिएको बताएका हुन् । तर उनले यसबारे पूर्ण जानकारी भने दिएका छैनन् । उनको भनाइ उद्धृत गर्दै इरानी न्युज एजेन्सीले लेखेको छ, 'अवस्था राम्रो छैन ।' यसअघि रेडक्रसले दुई ठाउँमा धूवाँ देखिएको बताएको थियो । हेलिकप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था के कस्तो छ भन्नेबारे केही खुलेको छैन । हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै पूर्वी अजरबैजान प्रान्तका गभर्नरसहित ९ जना रहेको जनाइएको छ ।

इरानी समाचार संस्थाका अनुसार राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको समेत इरानी समाचार संस्थाले जनाएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर । फाइल तस्बिर : रोयटर्स

न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । रइसी सन् २०१७ मा समेत राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । तर उनी हसन रुहानीसँग पराजित भएका थिए ।

रइसी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतीय पद दोस्रो वरीयताको हो 

इरानमा राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिने गर्छन् । तर देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको महत्त्वपूर्ण प्रभाव हुने गर्छ । रइसीले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका छन् । सन् २०१७ मा राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायपालिका प्रमुख नियुक्त भएका थिए ।

रइसी सन् १९८० को दशकमा राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा उनको उल्लेखनीय भूमिका रहेको भन्दै मानवाधिकारकर्मीहरूले आलोचना गर्ने गरेका छन् । यद्यपि, इरानले हालसम्म कहिल्यै पनि सामूहिक मृत्युदण्ड नदिइएको बताउँदै आएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ७, २०८१ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×