कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

नयाँ प्रधानमन्त्री लरेन्स वोङ भन्छन् : अघिल्लो पुस्ताबाट सिक्दै फरक शैलीमा मुलुकलाई अगाडि बढाउँछौँ

काठमाडौँ — सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिएका हुन् । उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।

तस्बिर : सीएनए

५१ वर्षीय वोङ एक कुशल अर्थशास्त्रीका रूपमा चिनिन्छन् । कोभिड-१९ संकटको सामनाका लागि उनको प्रशंसासमेथ हुने गरेको छ । सन् २००४ देखि निवर्तमान प्रधानमन्त्री ली सेन लुङले शासन गरेका थिए । विश्वअर्थतन्त्रमा सिंगापुरलाई एक अब्बल राज्यका रूपमा उभ्याउन उनको ठूलो भूमिका रहेको छ । नेसनल युनिभर्सिटी, सिंगापुरका सहप्राध्यापक जा इयान चोङले गार्डियनसँगको कुराकानीमा भनेका छन्, 'उनी व्यापार तथा विशेष रूपमा वित्त र वित्तीय सेवाका माध्यमबाट सिंगापुरलाई वैश्विक अर्थव्यवस्थामा उभ्याउन सफल भए ।'

तस्बिर : रोयटर्स

शपथ ग्रहणसँगै नयाँ प्रधानमन्त्री वोङले 'आफ्नै शैली'मा मुलुकलाई सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकका संस्थापक नेताहरूका नीतिलाई अनुशरण गर्दै 'फरक शैली'मा मुलुकलाई अगाडि बढाउने उनको वाचा छ । उनले भनेका छन्, 'मेरो पुस्ताको कथा भनेको सिंगापुरको स्वतन्त्रताको कथा हो । सुशासन, योग्यतावाद. बहुजातीयतावाद, न्याय र समानताजस्ता मूल्य मान्यताले हाम्रो राष्ट्र बनेको छ भन्ने कुराको प्रमाण हाम्रो जीवन छ ।' उनले अगाडि भनेका छन्, 'तीनै अनुभवहरूबाट तिखारिँदै हाम्रो नेतृत्व शैली अघिल्लो पुस्ताको भन्दा फरक हुनेछ ।' निर्वतमान प्रधानमन्त्री ली सेन लुङ भने वरिष्ठ मन्त्रीका रूपमा रहनेछन् ।

आधुनिक सिंगापुरका निर्माता भने प्रथम प्रधानमन्त्री ली क्वान यु र उनको टिमलाई मानिन्छ । सानो सहरजत्रो पिछडिएको सिंगापुरको शासन सत्ता सम्हालेर विश्वकै समृद्ध देश बनाउनले श्रेय उनैलाई जान्छ । गरिबी हटाउने, उद्योगधन्दा फैलाउने र भ्रष्टाचार निर्मूल गर्ने नीति अख्तियार गरेका ली बहुजातीय सिंगापुरको प्रखर समर्थक थिए । उनले अनुशासनलाई कडा रूपमा लागू गरे, जो सिंगापुरमा आजसम्म पनि कायमै छ । लीले अंग्रेजी भाषामा दक्ष उच्च शिक्षित वर्गको विकास गरेर सिंगापुरलाई उत्पादनशील बनाउन वैदेशिक लगानी भित्र्याएका थिए ।

करिब ६० लाख जनसंख्या भएको सिंगापुरको जीडीपी(कुल ग्राहस्थ उत्पादन) करिब ५२५ बिलियन अमेरिकी डलर रहेको छ भने प्रतिव्यक्ति आम्दानी करिब ८८ हजार अमेरिकी डलर । सिंगापुरको बेरोजगारी दर १.९ प्रतिशत रहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालको बेरोजगारी दर ११ प्रतिशत रहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×