कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

ओमिक्रोन र डेल्टाको मिश्रणले संक्रमणको सुनामी ल्याउँछ : डब्लूएचओ

एजेन्सी

जेनेभा/लन्डन — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ का डेल्टा र ओमिक्रोन भेरिएन्टको मिश्रणले संक्रमणको डरलाग्दो सुनामी ल्याउन लागिरहेको जनाएको छ ।

ओमिक्रोन र डेल्टाको मिश्रणले संक्रमणको सुनामी ल्याउँछ : डब्लूएचओ

युरोप र अमेरिकामा कीर्तिमानी संख्यामा कोभिड संक्रमण पुष्टि भइरहेका बेला डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयेससको भनाइ आएको हो । कपितय देशमा गरिएका अध्ययनमा ओमिक्रोन डेल्टा भेरिएन्टको तुलनामा निकै संक्रामक रहेको भए पनि कम घातक रहेको देखिएको छ ।

‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र कतिपय देशमा थपिसकेको पनि छ । त्यसका साथै स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थानजिक पुगेका देखिएको छ,’ गेहब्रेयेससले भने । पछिल्ला दिनहरूमा विश्वभर दैनिक करिब ९ लाख संक्रमित थपिइरहेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा दोस्रो दिन पनि युरोपकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ८ हजार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, अमेरिकामा पनि महामारी सुरु भएयताकै उच्च दैनिक संक्रमण देखा परेको छ । त्यहाँ एक साताको अवधिमा दैनिक औसत २ लाख ६५ हजार जना संक्रमण पुष्टि भएको जनाइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले अस्पताल भर्ना हुने र मृत्यु हुनेहरू तुलनात्मक रूपमा कम रहेका जनाएको छ । त्यस्तै, डेनमार्क, पोर्चुगल, यूके, इटाली, स्पेन र अस्ट्ेरलियामा पनि संक्रमण निकै तीव्र बनेको छ ।

अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले ‘संक्रमणको लहर जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको’ बताएका छन् । फ्रान्सका स्वास्थ्यमन्त्रीले पछिल्लो समय बढ्दै गएको संक्रमणले ‘चकित पारेको’ बताएका छन् । कैयौं देशले कोभिडविरुद्धको तेस्रो मात्रा दिन ‘बुस्टर अभियान’ सुरु गरिसकेका छन् ।

यूकेमा १२ वर्षमाथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका बीबीसीले जनाएको छ । तर डब्लूएचओ प्रमुखले ठूलो स्तरका बुस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति रोकिएको र त्यसले ‘महामारी थप लम्बिने देखिएको’ बताएका छन् । गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ संक्रमण फैलने र भाइरस उत्परिवर्तन हुने उनको भनाइ छ ।

प्रकाशित : पुस १५, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?