उत्तर प्रदेशका एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद- विश्व - कान्तिपुर समाचार

उत्तर प्रदेशका एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त परिमाणमा रकम बरामद गरेको हो ।

बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो । अन्य ठाउँमा पनि पैसा लुकाइएको छ कि भनेर अहिले पनि छापा मार्ने काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जैन र उनका अन्य दुई जना व्यापारिक साझेदारका ११ ठाउँमा छापा मारिएको थियो । विभिन्न कम्पनीमार्फत ३ करोड ९ लाख कर छली भएको खुलेको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन् । जैनले विभिन्न बैंकबाट ऋण लिएको विदेशमा समेत ठूलो लगानी गरेको प्रमाण पनि भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्नौजको छपट्टीका स्थायी बासिन्दा जैनको प्रमुख व्यवसाय अत्तर उत्पादन नै हो । उनले त्रिमूर्ति फ्र्यागनेन्स प्राइभेट लिमिटेडमार्फत शिखर पान मसला पनि उत्पादन गर्दै आएका छन् ।

पश्चिम एसियामा २ सहित उनका करिब ४० कम्पनी रहेका छन् । कर छल्नकै लागी उनले नक्कली कम्पनी खडा गरेको र ती कम्पनीका नाममा बीजक जारी गरेको पनि भेटिएको छ ।

जैन समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी मानिन्छन् ।

प्रकाशित : पुस १०, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

यी हुन् १४ औं महाधिवेशनपछि कांग्रेसको पहिलो बैठकका पाँच निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिएलगत्तै सभापति शेरबहादुर देउवाले पहिलो बैठक राखेका हुन् । बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको महामन्त्री गगन थापाले जानकारी दिए । 

बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री थापाले बताए ।

त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

१४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार समितिका पदाधिकारीले प्रमाण पत्र बुझेलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको हो ।

प्रकाशित : पुस १०, २०७८ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×