कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमिक्रोनबाट संक्रमित १० मध्ये ९ जनाले खोप लगाएका थिए, खोप मात्र पर्याप्त छैन : भारत सरकार

'चाडपर्व र नयाँ वर्षमा सतर्क रहनूस् । यसले पनि ओमिक्रोन फैलिन सक्छ । हामी निकै जिम्मेवार बन्नुपर्छ । मास्क अनिवार्य लगाउनुस् र हात सफा राख्नुहोस् ।'

काठमाडौँ — भारत सरकारले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोप अभियान मात्र पर्याप्त नहुने बताएको छ । शुक्रबार भारतको केन्द्र सरकारले एउटा तथ्यांक सार्वजनिक गर्दै खोपले मात्र कोरोना नरोकिने उल्लेख गर्दै मास्क र निगरानी आवश्यक भएको बताएको हो ।

ओमिक्रोनबाट संक्रमित १० मध्ये ९ जनाले खोप लगाएका थिए, खोप मात्र पर्याप्त छैन : भारत सरकार

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको १८३ केसको विश्लेषणपछि भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यस्तो जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले प्रस्तुत गरेको तथ्यांकमा ओमिक्रोनबाट संक्रमित १० मध्ये ९ जनाले खोप लगाएको पाइएको छ । त्यस्तै २७ प्रतिशत संक्रमित भारत नछाडेका व्यक्ति रहेका छन् । यसबाट पनि ओमिक्रोन स्थानीय स्तरमा फैलिइसकेको अनुमान गर्न सकिन्छ ।

त्यस्तै ओमिक्रोनबाट संक्रमितमध्ये ९१ प्रतिशतले कोरोनाको पूर्ण मात्राको खोप लगाएका थिए । विश्लेषण गरिएका १८३ जनामध्ये केवल ७ जनाले मात्र खोप नलगाएको भेटिएको थियो । तीमध्ये तीन जनाले त बुस्टर डोजसमेत लगाएका थिए । ७३ जनाले खोप लगाएको/नलगाएको स्पष्ट नभएको र १६ जना खोप लगाउन चिकित्सकीय तरिकाले अयोग्य रहेको मन्त्रालयले जनाएको छ । कोभिड टास्क फोर्सका प्रमुख डा. भीके पालले डेल्टाको तुलनामा ओमिक्रोन बढी संक्रामक भएकाले सतर्क रहन चेतावनी दिएका छन् ।

डा. पालले मास्क नलगाई बाहिर निस्कने व्यक्तिहरूले घरमा ओमिक्रोन भित्र्याइरहेको बताए । त्यसकारण घरका अन्य व्यक्तिलाई पनि संक्रमणको जोखिम हुनाले आवश्यक सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । डा. पालले भने, 'मैले अत्यन्तै जोड दिएर भन्छु कि चाडपर्व र नयाँ वर्षमा सतर्क रहनूस् । यसले पनि ओमिक्रोन फैलिन सक्छ । हामी निकै जिम्मेवार बन्नुपर्छ । मास्क अनिवार्य लगाउनुस् र हात सफा राख्नुहोस् । सकेसम्म भीडभाडमा नजानुस् । अनावश्यक यात्रा स्थगित गर्नुहोस् ।'

त्यस्तै मन्त्रालयको विश्लेषणअनुसार ओमिक्रोनबाट संक्रमितमध्ये ७० प्रतिशतमा कुनै लक्षण देखिएको छैन । अहिले पनि भारतमा डेल्टाकै संक्रमण बढी रहेको छ । भारतमा अहिलेसम्म ४१५ जनालाई ओमिक्रोनबाट संक्रमित भएका छन् । त्यसमध्ये सबैभन्दा बढी महाराष्ट्रमा १०८, दिल्लीमा ७९, गुजरातमा ४३, तेलंगाना ३८ केरलमा ३७ र तमिलनाडुमा ३४ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : पुस १०, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?