कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पादरीलाई जेल सजाय

एजेन्सी

इस्ट टिमोर — इस्ट टिमोरको अदालतले अमेरिकी एक क्रिश्चियन पादरीलाई यौन दुर्व्यवहारको अभियोगमा १२ वर्ष जेल सजाय सुनाएको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो ।

यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पादरीलाई जेल सजाय

रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदैआएका थिए । त्यस क्रममा उनले १४ वर्षमुनिका बालिकाहरूलाई यौन शोषण गर्नुका साथै तीमध्ये एकलाई बाल पोर्नोग्राफीमा लगाएको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर भएको थियो ।

राजधानी डिल्लीबाट २०० किमि टाढाको ओकस जिल्लामा उनले यौन दुर्व्यवहार गरेको भन्दै गत फेब्रुअरीमा मुद्दा दायर भएको थियो । उनले सञ्चालन गरेको टोपु होनिस आश्रयस्थलमा बालिकाहरूमाथि शोषण गरेको उनीमाथि आरोप थियो ।

रिचर्डका वकिलले भने उनले आफूमाथिको आरोप अस्वीकार गर्दैआएका छन् । साथै अपीलका लागि तयारी गरेको बताइएको छ । चार जना पीडितको बयानमा आधारित रहेर फैसला गरिएको भन्दै अदालतको फैसला विरुद्ध अपील गर्ने तयारी भएको उनका वकिलले बताए ।

तर रिचर्डको अपराधको गाम्भिर्यतालाई ध्यानमा राख्दै बढीमा ३० वर्षको जेल सजाय सुनाउनुपर्ने पीडित समूहले जनाएको छ ।

कट्टर क्याथोलिक राज्यको रुपमा चिनिने इस्ट टिमोर १९९९ मा इन्डोनेसियाबाट अलग भएको देश हो । जहाँ ९८ प्रतिशत क्याथोलिक क्रिश्चियनहरूको बसोबास रहेको बताइन्छ । उक्त राष्ट्र निर्माणको क्रममा चर्चहरूको प्रमुख भूमिका रहेको इतिहास छ ।

उक्त आश्रयस्थलमा विदेशी दाताहरूको पनि सहयोग रहेको थियो । मुद्दाको प्रक्रियाकै क्रममा पीडितहरूले आफूहरूमाथि धम्की आएको भन्दै गुनासो गरेका छन् ।

तर मंगलबारको उक्त फैसलालाई लिएर अब यहाँ हुनसक्ने अरु आपराधिक गतिविधिलाई निरुत्साहित गर्नसक्ने भन्दै महत्वपूर्ण ठानिएको छ । पादरीसँगै प्रभावाशाली प्रचारकको रुपमा चिनिएका अभियुक्त रिचर्डले अमेरिकामा पनि मुद्दाको सामना गरेका छन् ।

प्रकाशित : पुस ६, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×