कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवानमाथि चीनले आक्रमण गरे जापान र अमेरिका चुप बस्दैनन् : आबे

काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बुधबार एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको पनि संकट हुने बताएका हुन् ।

ताइवानमाथि चीनले आक्रमण गरे जापान र अमेरिका चुप बस्दैनन् : आबे

सम्बोधनका क्रममा आबेले भने, 'ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।'

गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा ठूलो गुटका प्रमुख मानिन्छन् । उनी अहिले पनि पार्टीभित्र निकै प्रभावशाली भूमिकामा रहेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन् । ताइवानले आफूलाई एक सार्वभौम मुलुकका रूपमा मान्छ भने चीनले भने ताइवानलाई भने एक अलग प्रान्तका रूपमा हेर्छ । चीनले बल प्रयोग गरेर एकीकरण गर्ने कुरा भने गरेको छैन ।

चीन र ताइवान

  • चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए । चीनले ताइवान कुनै न कुनै रूपमा मेनल्यान्डका रूपमा आओस् भन्ने चाहन्छ ।
  • चीनमा गृहयुद्धका क्रममा चियाङ काई शेकका सैनिक माओ त्से तुङका कम्युनिस्ट सैनिकबाट कुटिएका थिए । चियाङ र उनको कुमिन्ताङ सरकार बाँकी रहेका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा रहेको थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएकोमा व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए ।
  • पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगेका थिए । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।
  • ताइवानको आफ्नै संविधान रहेको छ । ताइवानमा प्रजातान्त्रिक तरिकाबाट नेताहरू चुनिन्छन् । ताइवानसँग झन्डै ३ लाख सक्रिय सैनिक रहेका छन् ।
  • ताइवानलाई थोरै मुलुकले मात्रै स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् । विश्वका धेरै मुलुकले चिनियाँ सरकारलाई नै मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन भने बनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?