कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पराग अग्रवाल बने ट्विटरका नयाँ सीईओ

काठमाडौँ — माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरको नयाँ प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भारतीय मूलका पराग अग्रवाल नियुक्त भएका छन् । सहसंस्थापक ज्याक डोर्सीले सीईओबाट राजीनामा दिएपछि अग्रवाललाई उक्त पदमा नियुक्त गरिएको हो । 

पराग अग्रवाल बने ट्विटरका नयाँ सीईओ

डोर्सीले ट्वीटमार्फत नै अग्रवाललाई सीईओमा नियुक्त गरिएको बताएका छन् । अग्रवाल आईआईटी बम्बईका ग्र्याजुएट हुन् । डोर्सीले ट्वीटमा लेखेका छन्, ‘करिब १६ वर्षसम्म कम्पनीको सहसंस्थापक, सीईओ, अध्यक्ष, कार्यकारी अध्यक्ष, कार्यकारी सीईओलगायतका भूमिका निर्वाह गरिसकेपछि मैले तय गरेँ कि मेरो छोड्ने समय आएको छ, तर किन ?’

उनले अगाडि लेखेका छन्, ‘पहिलो कारण यो कि पराग अग्रवाल अब सीईओ बनिरहेका छन् । हाम्रो कम्पनीको बोर्ड सबै विकल्प पूर्ण रूपमा नियालिसकेपछि परागलाई चयन गरेको हो । उनले कम्पनीको आवश्यकता निकै गहिराइपूर्वक बुझ्न सक्छन् । त्यसैले पनि उनी लामो समयदेखि नै मलाई मन पर्ने व्यक्तिका रूपमा रहेका छन् ।’

पराग अग्रवाल निकै उत्सुक, तार्किक, रचनात्मक, महत्वाकांक्षी, जागरुक र विनम्र रहेको भन्दै डोर्सीले प्रशंसा पनि गरेका छन् ।

त्यस्तै ब्रेट टेलर कम्पनीको अध्यक्ष बन्नका लागि पनि आफूले ट्विटरको सीईओबाट राजीनामा दिएको डोर्सीले बताएका छन् । नवनियुक्त सीईओ पराग अग्रवालले पूरा विश्वको नजर अहिले ट्विटरमा रहेको बताएका छन् ।

उनले डोर्सीसहित ट्विटर टिमलाई धन्यवाद दिँदै लेखेको पत्रमा भनेका छन्, ‘पहिलेभन्दा पनि फरक किसिमले विश्वले हामीलाई हेरिरहेको छ । कैयौं व्यक्ति अलग–अलग तरिका र विचारले हामीलाई नियालिरहेका छन् । उनीहरू हाम्रो भविष्यलाई लिएर चिन्तित छन् । यसैबाट पनि थाहा हुन्ट कि हामीले गरिरहेको काम कति महत्त्वपूर्ण छ भन्ने । आऔं विश्वलाई ट्विटरको पूरा क्षमता देखाऔं ।’

अग्रवाल सन् २०११ मा सफ्टवेयर इन्जिनियरका रूपमा ट्विटरमा आबद्ध भएका थिए । सन् २०१७ मा उनी प्रमुख प्रविधि अधिकृत बनेका थिए । ट्विटरमा आबद्ध हुनुअघि उनी माइक्रोसफ्ट, याहू र एटी एन्ड टीजस्ता कम्पनीमा पनि काम गरिसकेका थिए ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?