कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्छ : डा. फौची

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले अमेरिकामा कोरोनाभाइरसको पाँचौँ लहर देखा पर्न सक्ने चेतावनी दिएका छन् । वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले सीबीएस न्युजको 'फेस द नेसन' कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टका कारण पाँचौँ लहरको सम्भावना रहेको बताएका हुन् ।

अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्छ : डा. फौची

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या धेरै भएको र बुस्टर डोज पनि लगाइरहेकाले त्यसको खतरालाई रोक्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । 'हामीकहाँ पाँचौँ लहर आउन सक्ने सम्भावना रहेको छ,' अन्तर्वार्ताका क्रममा उनले भने, ' पाँचौँ लहर वा संक्रमण बढ्ने/नबढ्ने कुरा हामीले आउँदा केही हप्ता वा महिनामा कस्तो कदम चाल्छौँ भन्नेमा निर्भर रहन्छ ।'

उनले अझै पनि ६ करोड २० लाख अमेरिकी नागरिकले खोप लगाउन बाँकी रहेको र उनीहरूलाई तत्काल खोपको व्यवस्था गरिनुपर्ने बताएका छन् । उनले खोप लगाइसकेकालाई बुस्टर डोज र ५-११ उमेरसमूहकालाई खोप अभियानमा तीव्रता दिएमा संक्रमणलाई न्यूनीकरण गर्न सकिने बताएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट ७ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झन्डै ५ करोडलाई संक्रमण भइसकेको छ । डा. फौचीले विगतमा भएका राम्रा र नराम्रा कुराको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने पनि बताएका छन् । विगतमा अमेरिकाले महामारी नियन्त्रणमा राजनीतिकरण गरेकै कारणले ठूलो मूल्य चुकाउनुपरेको पनि उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा गत मंगलबार नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । उक्त भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको छ । अमेरिका, इजरायल, श्रीलंका, नेदरल्यान्ड्स र बेलायतले नयाँ भेरियन्ट देखिएका अफ्रिकी मुलुकसँगको हवाई सम्पर्कमा रोक लगाएका छन् । यसरी रोक लगाउने मुलुकको संख्या क्रमश: बढ्दो छ । नेपालले पनि आइतबार अफ्रिकी मुलुकबाट आउने यात्रुको प्रवेशमा अर्को सूचना जारी नभएसम्म रोक लगाउने निर्णय गरेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?