तालिबान नेता भन्छन्- 'हामी अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं'

एजेन्सी

काबुल — तालिबानका संस्थापक तथा अफगानिस्तानका प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले उनको सरकारले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिबान नेता भन्छन्- 'हामी अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं'

साथै उनले अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूलाई उनले युद्धग्रस्त देशलाई सहयोग जारी राख्न आग्रह गरेका छन् । हसनले एक अडियो भाषणमार्फत् यस्तो आह्वान गरेका हुन् । उक्त अडियोलाई अफगानिस्तानको सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।

अगस्ट १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रको नाममा उनको यो पहिलो सम्बोधन हो । दोहामा अमेरिका र तालिबानबीच बैठक सुरु हुनुभन्दा एक हप्ताअघि उनको सम्बोधन आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

'हामी सबै देशलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ कि उनीहरूको आन्तरिक मामिलामा हामी हस्तक्षेप गर्नेछैनौं । साथै हामी उनीहरूसँग राम्रो आर्थिक सम्बन्ध कायम गर्न चाहन्छौं,' नेता हसनले ३० मिनेट लामो भाषणमा भनेका छन् । यद्यपि नेता हसनको भाषणलाई लिएर आलोचना पनि सुरु भएको छ । अफगानिस्तानले गम्भीर चुनौती सामना गरिरहँदा समाधानका लागि उनी मौन भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

नेता हसनले भनेका छन्, 'हामी समस्याहरूमा डुबेका छौं । र हामी हाम्रा नागरिकलाई दुख र कठिनाइबाट ईश्वरको सहायताबाट बाहिर ल्याउने शक्तिका लागि प्रयास गरिरहेका छौं ।'

अफगानिस्तानमा अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेसँगै २० वर्षदेखि अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भएका थिए । साथै अफगानिस्तानमा अमेरिकी युद्ध अन्त्य पनि भएको छ ।

यद्यपि पछिल्लो समय तालिबान सरकारलाई चुनौती दिँदै आईएसआईएस लगायत सशस्त्र समूहले अफगानिस्तानका मस्जिदमा हमला तीव्र पार्दैआएका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?