कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी बालरोग विशेषज्ञ भन्छन्– ‘बालबालिकामा संक्रमण बढ्न थाल्यो’

इजरायलमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप दिन थालियो

काठमाडौँ — संयुक्त राज्य अमेरिकामा गत दुई साता उताको तुलनामा बालबालिकामा कोरोनाभाइरसको संक्रमण ३२ प्रतिशतले बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार नोभेम्बर ११ देखि १८ सम्ममा मात्रै १ लाख ४० हजार बालबालिकामा कोरोना संक्रमण भएको पाइएको छ ।

अमेरिकी बालरोग विशेषज्ञ भन्छन्– ‘बालबालिकामा संक्रमण बढ्न थाल्यो’

एसोसिएसनका अनुसार नोभेम्बर ४ मा सप्तान्त हुँदा संक्रमित हुनेको संख्या १ लाख ७ हजार रहेको थियो । यो संख्या अमेरिकाको एक साताको केसलोडको एक चौथाइ हो । अमेरिकाको कुल जनसंख्याको २२ प्रतिशत १८ वर्ष मुनीका बालबालिका रहेका छन् ।

वयस्कहरूलाई कोरोनाभाइरसविरुद्धको खोप सहज रुपमा नै उपलब्ध हुन थालेसँगै बालबालिकामा संक्रमण वृद्धि देखिएको एकेडेमीका संक्रामक रोग कमिटीका उपाध्यक्ष डा. सियन ओलियरीले बताए । लियरी युनिभर्सिटी अफ कोलोराडो स्कुल अफ मेडिसिन र चिल्ड्रेन्स हस्पिटल कोलोराडोका प्राध्यापक समेत हुन् ।

उनका अनुसार बालबालिकामा जटिल प्रकारको संक्रमण देखिने सम्भावना निकै कम भएपनि उनीहरु जोखिममा छन् र वयस्त्रहरुमा संक्रमण सार्ने क्षमता राख्छन् । विज्ञहरुका अनुसार बालबालिकालाई लङ–कोभिडका लक्षणहरुका साथै मल्टी सिस्टम इन्फ्ल्यामेटोरी सिन्ड्रोम तथा अस्पताल भर्नाबाट जोगाउनका लागि खोप दिन आवश्यक छ ।

तथ्यांक अनुसार अक्टोबर महिनाको अन्त्यसम्ममा ५ देखि ११ वर्ष उमेका ८,३०० बालबालिका कोभिडकै कारण अस्पताल भर्ना हुनुपरेको थियो ।

प्रा.डा. ओलियरीका अनुसार विद्यालयहरु सबै खुलेको र त्यहाँ संक्रमण रोक्ने व्यवस्था कार्यान्वय फितलो भएका कारण पनि संक्रमण फैलिएको हुनसक्छ । ‘बालबालिकालाई खोप दिने हो भने मात्रै विद्यालयलाई खुला राख्न सकिन्छ,’ उनले भने ।

अमेरिकी सरकारले अहिले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन प्रेरित गरिरहेको छ । यस्तै सेन्टर्स फर डिजिज कन्ट्रोल र प्रिभेन्सन (सीडीसी)ले फाइजर खोप उक्त उमेर समूहमा लगाउनका लागि अनुमति समेत दिइसकेको छ ।

ह्वाइट हाउसका अनुसार नोभेम्बर १० सम्ममा करिब १० लाख बालबालिकाले खोप प्राप्त गरिसकेका छन् भने २ करोड ८० लाखजना खोप लगाउनका लागि योग्य छन् । उनीहरुले वयस्कले पाउने भन्दा एकपटकमा एकतिहाई डोज मात्र प्राप्त गर्छन् र तीन साताको फरकमा दोस्रो डोज पनि लगाउन योग्य हुन्छन् ।

काइजर फ्यामेली फाउण्डेसनको तथ्यांकअनुसार हाल १० मा ३ जना अभिभावक आफ्ना ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन इच्छुक नभएको देखिएको छ । यस्तै १० मा ३ जना अभिभावकले मात्रै तुरुन्तै खोप लगाउने प्रतिवद्धता जनाएका छन् ।

इजरायलमा ५-११ वर्षका बालबालिकालाई खोप

इजरायलमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन सुरु गरिएको छ । इजरायल सरकारले अर्को सातादेखि सुरु हुने हानुख्खा बिदाको अगाडि बालबालिकालाई खोप दिन सुरु गरेको भएपनि अभिभावकहरुले बालबालिकालाई खोप लगाउन उत्साह देखाएका छैनन् ।

सोमबार बेलुकासम्म उक्त उमेर समूहका केवल २ प्रतिशत बालबालिकाको नाम मात्रै खोप लगाउनका लागि टिपाइएको त्यहाँका अधिकारीहरुले बताएका छन् । इजरायली स्वास्थ्य अधिकारीहरुका अनुसार धेरैभन्दा धेरै बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुलाई आग्रह गर्न थालिएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?