कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० वर्षयता बेपत्ता पारिएका चिनियाँ हाइ प्रोफाइल सेलिब्रिटी

एजेन्सी

बेइजिङ — चिनियाँ पूर्व टेनिस खेलाडी पेङ सुआइले झण्डै एक महिनाअघि चीनका पूर्व उपप्रधानमन्त्रीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । सामाजिक सञ्जालमार्फत् उनले लगाएको आरोप केही घण्टापछि नै हटाएको देखियो ।

१० वर्षयता बेपत्ता पारिएका चिनियाँ हाइ प्रोफाइल सेलिब्रिटी

त्यसपछि उनले सार्वजनिक रुपमा केही पनि प्रतिक्रिया दिएकी छैनन् । यसरी सार्वजनिक रुपमा चिनियाँ उच्च नेतृत्वमाथि आरोप लगाएपछि गायब हुने पेङ एक्लो व्यक्ति हैनन् । यस्ता अरु थुप्रै 'हाइ प्रोफाइल' व्यक्ति छन् । जो चीन सरकारको वा कम्युनिस्ट नेतृत्वको आलोचना गरेपछि गायब पारिए वा अपहरणमासमेत परेका छन् ।

पछिल्लो १० वर्षयताको सूची हेर्ने हो भने यसरी सार्वजनिक रुपमा आफ्नो विचार राखेकै कारण बेपत्ता पारिएका वा अपहरणमा परेका सेलिब्रिटी, हाइ प्रोफाइल व्यक्ति वा कलाकारहरूको संख्या बाक्लो छ ।

एई वेइवेइ, कलाकार

चिनियाँ कलाकार एई वेइवेइ चीन सरकारको कडा आलोचकको रुपमा चिनिन्छन् । विशेषगरी लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामाथि उनी चीन सरकारको कडा रुपमा आलोचना गर्छन् ।

यसैकारण उनी २०११ मा बेइजिङमा पक्राउ परे र ८१ दिन गोप्य कारागारमा थुनिए। केही वर्षसम्म त उनको पासपोर्टसमेत खारेज गरियो । एई त्यस्ता थोरै सेलिब्रीटीमध्ये एक हुन् जसलाई हेरेर विश्वले थाहा पाउँछ कि चीनमा कसरी बेपत्ता पारिन्छ । उनी त्यहाँ निकै कडा निगरानीमा राखिएका थिए । पछि उनले चीन छाडेर बेलायत गए ।

झाओ वेइ, अभिनेत्री

केही महिनायता चीन सरकारले यस्तो कारबाही सुरु गर्‍यो जुन युवाहरूलाई भड्काउने वा कम्युनिस्ट पार्टीको आदर्शबाट टाढा लैजाने कलाकारहरूप्रति लक्षित थियो । अर्बपति फिल्मस्टार तथा पप गायिका झाओ गत अगस्टमा चीनमा सार्वजनिक जीवनबाट अचानक गायब भइन् । उनका अनलाइन प्रस्तुतीसमेत हटाइए । उनका फिल्म र टिभी शो पनि साइटबाट हटाइयो ।

तर त्यसपछि झाओ नजरबन्दमा राखिएकी छन् वा 'लो प्रोफाइल' को जीवनशैलीमा छिन् भन्नेबारे कुनै विवरण बाहिर आएको छैन । गत सेप्टेम्बरमा उनी पूर्वी चीनस्थित आफ्नै गृहनगरमा तस्बिर खिचाउँदै गरेको अवस्थामा देखिएकी थिइन् । गत साता भने चिनियाँ इन्टरनेट पोर्टल नेटिसले झाओलाई अनलाइन सपिङ कार्यक्रममा देखाएको थियो ।

मेङ होंगेइ, इन्टरपोल प्रमुख

पूर्व सहायक मन्त्रीसमेत रहेका मेङ चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रष्टाचारविरोधी अभियानमा फसेका कम्युनिस्ट पार्टीका प्रभावशाली व्यक्तित्वहरूमध्ये एक थिए । जुन अभियानलाई चीनमा राजनीतिक शत्रुहरूको सुद्धिकरण अभियानको रुपमासमेत हेरिएको थियो ।

मेङ जब २०१६ मा इन्टरपोल प्रमुखको रुपमा चुनिए त्यसपछि विश्वभर चर्चामा आए । यद्यपि २०१८ मै उनको कार्यकाल अन्त्य भयो । कारण के थियो भने त्यसबेला उनी चीन भ्रमणको क्रममा चीनबाटै बेपत्ता पारिए ।

पछि उनलाई घुस खाएको आरोप लगाउँदै चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासन गरियो । र २०२० मा मेङविरुद्ध घुस खाएको मुद्दामा १३ वर्षका लागि जेल सजाय तोकियो । उनकी पत्नी ग्रेस आफ्ना दुई सन्तानसहित फ्रान्समा शरण लिन पुगिन् । त्यसबेला उनले आफ्ना बच्चासहित आफू चीनमा असुरक्षित रहेको प्रतिक्रिया दिएकी थिइन् । उनले त्यसबेला आफ्ना बच्चाहरू अपहरणमा पर्ने भय रहेको बताएकी थिइन् ।

ज्याक मा, व्यवसायी

चीनका नवधनाढ्यहरूको तीव्र गतिमा बढ्दै गरेको शक्ति र प्रभावप्रति बेइजिङको नेतृत्वले गहिरो चासो र चिन्ता देखाउने गरेको छ । त्यसैको शिकार बनेका थिए अलीबाबाका मालिक ज्याक मा ।

विश्वभर प्रभाव जमाएको इकमर्स कम्पनी अलीबाबाका मालिक ज्याक मा चीन सरकारको आलोचना गरेकै कारण गायब पारिएका सबैभन्दा प्रसिद्ध व्यक्तिमध्ये एक हुन् । बेइजिङका अधिकारीहरूले अलीबाबामा एकाधिकारको अभ्यासमाथि छानबिनका लागि आदेशसमेत दिएका थिए ।

गत वर्ष ज्याक माले सरकारको व्यापार नियमहरूलाई लिएर आलोचना गरेलगत्तै उनी गायब भएका थिए । त्यसबेला उनले चीन नै छाडेको आशंका गरिएको थियो । सार्वजनिक टिप्पणी गरेपछि लामो समयसम्म सम्पर्कविहीन बन्न पुगेका ज्याक माबारे विश्व समुदायले समेत चासो देखाएको थियो ।

तर तीन महिनापछि अचानक उनी आफ्नै गृहनगरबाट एक अनलाइन भिडियोमार्फत् सार्वजनिक भएका थिए । स्थानीय मिडियाका अनुसार माले आफू अध्ययन गरिरहेको र सोचिरहेको प्रतिक्रिया दिएका थिए । साथै उनले शिक्षा र लोककल्याणमा आफूलाई समर्पित गर्न प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका थिए । केही साताअघि मा हङकङमा एक व्यापारीहरूसँगको भेटमा व्यस्त देखिएका देखिएका थिए ।

गुइ मिनहाइ, प्रकाशक तथा पुस्तक व्यापारी

हङकङमा रहेर पुस्तक व्यापार गर्दैआएका गुइ २०१५ को अक्टोबरमा थाइल्याण्डबाट अचानक रहस्यमय रुपमा गायब पारिए । चिनियाँ राजनीतिक सम्भ्रान्तहरूबारे विवादास्पद पुस्तक प्रकाशन गरेका कारण पनि उनी आलोचित बन्ने गरेका थिए ।

तर उनी महिनौंसम्म सम्पर्कविहीन भएर २०१६ मा मात्रै चीनको सरकारी टेलिभिजनमार्फत् देखाइएका थिए । जहाँ उनी कृत्रिम र बनावटी रुपमा प्रस्तुत भएको देखिन्थे ।

दुई वर्षपछि २०१८ मा गुइ आंशिक रुपमा सार्वजनिक गरिए र उनलाई भिडियो कल गर्ने अनुमति दिइएको थियो । तर फेरि उनी स्वीडिस कुटनीतिज्ञहरूसँग हिँडिरहेका बेला सादा पोशाकका प्रहरीहरूले उनलाई पक्राउ गरे । चिनियाँ मूलका स्वीडिस नागरिक गुइको पक्राउले गम्भीर कुटनीतिक विघटन निम्त्याएको भन्दै आलोचकहरूबाट प्रश्न उठ्ने गरेको छ ।

(द गार्जियनबाट)

प्रकाशित : मंसिर ७, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?