कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब भारतीय कमेडियनले अमेरिकामा 'दुइटा भारत' को कथा सुनाए

एजेन्सी

काठमाडौँ — भारतीय कमेडियन तथा अभियन्ता वीर दासले अमेरिकामा भारतीय समाजमाथि व्यंग्य गर्दै दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कडा प्रतिक्रिया आउन थालेका छन् ।

जब भारतीय कमेडियनले अमेरिकामा 'दुइटा भारत' को कथा सुनाए

दासको ६ मिनेटको भिडियो सार्वजनिक हुँदै गर्दा युट्युबमा ८ लाख ५० हजार दर्शनले एकैचोटि हेरेका थिए । जहाँ दर्शक बढ्नेक्रम जारी छ । अमेरिकाको वासिङटन डीसीस्थित जोन एफ केनेडी सेन्टरमा उनले दिएको अभिव्यक्तिलाई लिएर भारतीय अभियन्ता, पत्रकार, राजनीतिकर्मीहरू अहिले विभाजित बनेका छन् । उनको विरोध गर्दै केही नेताहरूले उजरीसमेत दिएका छन् । केहीले भने उनको समर्थनमा प्रदर्शन गरेका छन् ।

कमेडियन वीर दासले आफू 'दुई वटा भारत'बाट आएको भन्दै भारतीय समाजमा बढ्दै गरेको बलात्कार, किसान आन्दोलन तथा असमानतामाथि कविताको शैलीमा कडा व्यंग्य गरेका थिए । तर दासको अभिव्यक्तिलाई लिएर 'देशद्रोही' भन्दै भारतीय जनता पार्टी निकट कार्यकर्ता तथा दक्षिणपन्थी कट्टरपन्थीहरूले विरोधमा जुलुस निकालेका छन् । साथै पक्राउ गर्न माग गर्दै ट्वीटरमा वीर दास विरुद्धमा ह्यासट्याग नै सञ्चालन गर्न थालेका छन् । वीर दासले अमेरिकामा भारतको बेइज्जत गरेको उनीहरूको तर्क छ ।

नोभेम्बर १२ मा उनले अमेरिकामा उनले दिएको अभिव्यक्तिको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ । 'म यस्तो भारतबाट आएको हुँ जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं, तर रातमा सामूहिक बलात्कार गर्छौं,' वीर दासले कवितात्मक शैलीमा भनेका छन्, 'म यस्तो भारतबाट आएको हुँ जहाँ हामी साकाहारी भएकोमा गर्व गर्छौं र तरकारी खेती गर्ने किसानहरूमाथि गाडी कुदाउँछौं,'

भारतमा गत महिना कृषि कानुन विरुद्धको प्रदर्शनमा संघीय मन्त्रीले कार कुदाएको सन्दर्भलाई दासले आफ्नो कवितामा उल्लेख गरेका थिए । जुन घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको थियो ।

बुधबार दिउँसोसम्म भारतमा भने ह्यासट्याग वीर दासमा ६० हजारभन्दा धेरै ट्वीट भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीका कानुनी सल्लाहकार आशुतोष दुवेले मुम्बई प्रहरीमा दासविरुद्ध उजुरीसमेत दिएका छन् । दासले भड्काउबाजी अभिव्यक्ति दिएको भन्दै दासविरुद्ध उनले उजुरी दिएका हुन् । दुवेले ट्वीटमार्फत दासलाई अमेरिकामा भारतको छविलाई बदनाम गरेको आरोप लगाएका छन् ।

यस्तै भारतीय फिल्मकर्मी अशोक पण्डितले दासलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै ट्वीट गरेका छन् । फिल्मकर्मी पण्डितले दासमा आतंकवादी छवि देखेको भन्दै उनीविरुद्ध आतंकवाद सम्बन्धी कानुन लगाउनुपर्ने टिप्पणी गरेका छन् ।

दासले भने आफ्नो भिडियोमा भारतमा बढ्दै गरेको गलत संस्कारमाथि कलात्मक शैलीमा कडा व्यंग्य गरेका छन् । उनको भिडियोले भारतमा बढेको दुई फरक तस्बिर अर्थात् द्वैध चरित्रमाथि कडा व्यंग्य गरेको छ । उनले भनेका छन्, 'जसरी कुनै पनि राष्ट्रभित्र उज्यालो र अँध्यारो, असल र खराब हुन्छ । यीमध्ये केही पनि गोप्य छैन।'

तर दासको यस्तो अभिव्यक्तिलाई लिएर भारतका प्रतिपक्षी दलका नेतासहित स्वतन्त्र पत्रकार, अभियन्ताहरूले समर्थन गरेका छन् । कंग्रेसका नेता शशी थरुर दासको पक्षमा उभिएका छन् । दासको अभिव्यक्तिले लाखौं कुरा भनेको उनले लेखेका छन् । यस्तै कंग्रेसकै सांसद्‍ कपिल सिशालले दासको समर्थन गरेका छन् । उनले आफूहरू असहिष्णु र ढोंगी रहेको भन्दै दासको अभिव्यक्तिमा नैतिक समर्थन जनाएका छन् ।

यसअघि जनवरीमा मुस्लिम कमेडियन मुनावर फारुकी हिन्दु भगवानबारे टिप्पणी गरेपछि पक्राउ परेका थिए । त्यसपछि स्वतन्त्र लेखक, पत्रकार र कलाकारले आफूहरू सत्ताबाटै असुरक्षित हुने गरेको बताउँदै आएका छन् ।

प्रकाशित : मंसिर २, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?