कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमारमा सेनाको गोलाबारीपछि हजारौं नागरिक भाग्‍न थाले

काठमाडौँ — म्यानमारको सागेइ क्षेत्रस्थित सेनाले स्थानीय नागरिकका घरमा आगजनी गर्दै गोली चलाउन थालेपछि ठूलो संख्यामा स्थानीयहरू घर छाडेर भाग्‍न थालेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार दुई प्रहरी अधिकृत मारिएपछि सरकारी सेनाले मन्डालय क्षेत्रस्थित ताज टोलका स्थानीयका घर जलाएका थिए ।

म्यानमारमा सेनाको गोलाबारीपछि हजारौं नागरिक भाग्‍न थाले

घर जलाउँदा निस्किएको आगोको मुस्लोका तस्बिर सामाजिक सञ्जालमा समेत व्यापक रुपमा प्रचार भएको छ । आगजनीका तस्बिर बाहिर आएपनि घटनाको क्षतिबारे यकिन विवरण आइसकेको छैन ।

म्यानमारमा आङ सान सूचीको पार्टी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गर्दै त्यहाँको सेनाले गत फेब्रुअरीमा सत्ता कब्जा गरेपछि निरन्तर प्रदर्शन हुँदै आएको छ । सेनाविरोधी प्रदर्शनको क्रममा सयौं मारिएका छन् । भारतीय सीमा क्षेत्र नजिकै सेनाविरोधी प्रदर्शनको क्रममा हजारौं मानिस भागेको भोलिपल्ट सेगेइ क्षेत्रमा हिंसा मच्चिएको हो ।

पछिल्लो समय सेनामाथि पनि आक्रमणका घटना बढेका छन् । सेप्टेम्बर १८ मा स्थानीय रक्षा समूह र सेनाबीच मुठभेड भएको थियो । उक्त झडपपछि सरकारी भवनसहित थुप्रै घरहरु जलेर नष्ट भएको बताइएको छ । यस्तै, शनिबारको गोलाबारीपछि हजारौ‍ं मानिसहरु सुरक्षित स्थानतर्फ भागेको स्थानीय मिडियाले जनाएका छन् ।

स्थानीयका घरका झ्यालतर्फ प्रहार गर्दै सेनाले गोली चलाउन थालेपछि उनीहरु अन्यत्र भाग्न थालेको बताइएको छ । उनीहरुमध्ये धेरैजसो भारततर्फ पुगेका छन् । अलजजिराका अनुसार सेप्टेम्बर १० पछि म्यानमारको चीन राज्यबाट २ हजार जति बर्मेलीहरु भागेर भारतको मिजोरमसम्म पुगेका छन् ।

उनीहरुमध्ये केहीले आफूहरुले सेनाले गोलाबारी र बम प्रहार गरेको देखेको भन्दै मिडियालाई अन्तर्वार्ता दिएका छन् । म्यानमारमा सैन्य कु पछि १ हजार १ सय भन्दा धेरै स्थानीय नागरिक मारिनुका साथै ८ हजार मानिस अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : आश्विन ७, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?