हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच विशेष सुरक्षा सम्झौता- विश्व - कान्तिपुर समाचार

हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच विशेष सुरक्षा सम्झौता

एजेन्सी

वासिङ्टन — बेलायत, अमेरिका र अस्ट्रेलियाले चीनको प्रभाव रोक्नका लागि भन्दै एक विशेष सुरक्षा सम्झौता गरेका छन् । चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो ।

बुधबार भिडियो मिटिङमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौताको घोषणा गरेका हुन् । तीन ठूला शक्तिाराष्ट्रबीचको सम्झौताले चीनलाई थप चिढ्याउने सम्भावना रहेको छ । ‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ ।

यो सम्झौता विशेषगरी उच्च रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ । हिन्द–प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभाव र सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित रहेका छन् । यही सम्झौतामा अस्ट्रेलियाले फ्रान्सेली डिजाइनमा पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको छ ।

अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो । उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो । फ्रान्सको विदेश मन्त्रालयले भने सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतापछि अस्ट्रेलियाले आधुनिक क्षमतासहितको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने पनि बताएका छन् । बाइडेनले हिन्द प्रशान्त क्षेत्रमा स्थिरतालाई बढावा दिन र साझा चासोलाई अगाडि बढाउन तीन देशबीच सम्झौता भएको पनि बताएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लामो दूरीको अमेरिकी तोमाहक क्रुज मिसाइल पनि प्राप्त गर्ने बताएका छन् ।

तीन नेताले सम्झौता घोषणाका क्रममा चीनको नाम नलिए पनि हिन्द प्रशान्त क्षेत्रमा स्थिरताको कुरा उठाएकाले उनीहरूको उद्धेश्य प्रस्ट देखिन्छ । ‘विश्व विशेषगरी हाम्रो हिन्द प्रशान्त क्षेत्रमा जटिल बन्दै गएको छ ।

यसले हामी सबैलाई प्रभावित बनाउँछ । हिन्द प्रशान्त क्षेत्रको भविष्यले हामी सबैको भविष्य प्रभावित हुन्छ,’ मोरिसनले भनेका छन् । सम्झौतापछि पनि मोरिसनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई वार्ताका लागि खुला आह्वान गरेका छन् । बढ्दो विवादका बीच उच्चस्तरीय वार्ताका लागि आफूहरू तयार रहेको उनले बताएका छन् ।

त्यस्तै बेलायती प्रधानमन्त्री जोन्सनले आफूहरू हिन्द प्रशान्त क्षेत्रको स्थिरता र सुरक्षाका लागि सहकार्यका लागि एक ठाउँमा आएको बताए । गत हप्ता मात्रै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दक्षिण–पूर्वी एसियाली मुलुकको भ्रमण गरेकी थिइन् । उनले चीनले ‘साउथ चाइना सी’ मा अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई भंग गर्ने गतिविधि अगाडि बढाएको आरोप लगाएकी थिइन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवि पुस्तकालयलाई एक लाखको पुस्तक उपहार

३ हजारभन्दा बढी ऐतिहासिक मूर्तिकलाका स्रोत र विवरण खुलाइएको पुस्तकमा ९० प्रतिशत उपत्यकाकै सम्पदा
गणेश राई

काठमाडौँ — झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ । तर, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले झन्डै एक लाख मोलको पुस्तक यसै साता उपहारमा पाएको छ । लेखक उल्रिच भोन स्क्रोइडरले नै पुस्तकालयलाई यस्तो महँगो दुई सेट पुस्तक उपहारमा दिएका हुन् ।

स्विट्जरल्यान्डका ७८ वर्षीय उल्‍रिच भोन स्क्रोडर आफ्नो ५० वर्ष लामो अन्वेषण संग्रह देखाउँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

पुस्तक हो– ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ (नेपालको प्रस्तर मूर्तिकलाहरू) । स्क्रोइडरद्वारा लिखित पुस्तक ‘हिन्दु’ (हिन्दु मूर्तिकला) र ‘बुद्धिस्ट’ (बौद्ध मूर्तिकला) गरी दुई भागमा प्रकाशित छ । स्विडेनको भिजुअल ड्रामा पब्लिकेसन्सले छापेको पुस्तकको मूल्य ८ सय अमेरिकी डलर राखिएको छ । पुस्तकालयमा संगृहीत पुस्तकमध्ये यो नै सबैभन्दा बढी मूल्यको हो ।

पुस्तकालयले अहिलेसम्म एउटा पुस्तक बढीमा ३० हजार रुपैयाँसम्म मूल्यमा किनेको प्रमुख पूर्णलाल श्रेष्ठले बताए । ‘नेपालको ऐतिहासिक, पुरातात्त्विक महत्त्वका प्रस्तर मूर्तिकलाहरू समेटेर लेखिएको पुस्तक अहिलेसम्मकै बृहत् पुस्तक यही नै हो,’ उनले भने, ‘देशको मूर्तिकला सम्पदा अध्ययन गर्नेका लागि यो ज्यादै महत्त्वपूर्ण छ । मूल्य सुन्दै अत्यासलाग्दो छ, धन्न उपहारमा पाइयो ।’ इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागलाई पनि लेखकले प्रतिनिधिमार्फत उक्त पुस्तकको सेट उपलब्ध गराएका छन् । राष्ट्रिय पुस्तकालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, राष्ट्रिय अभिलेखालय, हनुमानढोका दरबार हेरचाह अड्डा र पाटन संग्रहालयले पनि उपहारस्वरूप पुस्तक पाएका छन् ।

‘१५ हजार मूर्तिका तस्बिर नेपाललाई उपहार’

पुस्तकभित्र तीन हजारभन्दा बढी ऐतिहासिक तथा पुरातात्त्विक मूर्तिकलाका तस्बिर छन्, तिनको आधिकारिक स्रोत र विवरण पनि खुलाइएको छ । श्रेष्ठका अनुसार तीमध्ये ९० प्रतिशत काठमाडौं उपत्यकाकै मूर्तिकलासम्बन्धी छन् । एक सेट संग्रह गर्ने र अर्को सेट सर्वसाधारण र अनुसन्धाताका लागि उपलब्ध गराउने पुस्तकालयको योजना छ । लेखकले पुस्तकका अतिरिक्त पुस्तकमा समेट्न नसकिएका विभिन्न मूर्तिका १५ हजार डिजिटल तस्बिरको संग्रहसमेत पुस्तकालयलाई दिएका छन् ।

‘नेप्लिज स्टोन स्कल्प्चर्स’ पुस्तकलाई नै आधार बनाएर नेपालबाट चोरी भएर बिदेसिएका मूर्ति नेपाल फर्काउने प्रयास पनि सुरु भएको छ । यही पुस्तकमा समावेश तस्बिर र विवरणको आधारमा नेपालबाट चोरी भएको प्रमाणित भएपछि हालैमात्र एउटा मूर्ति अमेरिकाबाट फिर्ता आएको छ । उक्त मूर्ति अहिले स्वयम्भूमा राखिएको श्रेष्ठले जनाए ।

लेखक स्क्रोइडर सन् १९६५ मा पहिलोपटक नेपाल आएका थिए । यहाँ रहँदा उनले मूर्तिकलाको अध्ययन, अनुसन्धान गरेका थिए । छ महिनाअघि पुस्तक लिएर ७८ वर्षीय स्क्रोइडर आफैं नेपाल आएको र केही संस्थालाई पुस्तक उपहार दिएको फोटोग्राफर सुनील डंगोलले बताए । ‘वर्षौंदेखि नेपालको मूर्तिकला अध्ययन गर्नुभयो तर फोटोग्राफी राम्रो नभएपछि पुस्तक प्रकाशनमा ल्याउन सक्नुभएको थिएन,’ पुरातत्त्वसम्बन्धी फोटोग्राफर डंगोलले भने, ‘उहाँले लिनुभएको फोटो क्वालिटी राम्रो थिएन । मैले करिब १० वर्षदेखि गुणस्तरीय फोटो उपलब्ध गराएपछि उत्साहित भएर पुस्तक प्रकाशनमा ल्याउनुभएको हो ।’

केन्द्रीय पुस्तकालयमा ४ लाख २० हजार किसिमका पुस्तक तथा पत्रिका (बाउन्ड भोलुम) छन् । पुस्तकालयकी सहप्रशासक इन्दिरा घिमिरे (कोइराला) का अनुसार पुस्तकालयमा मूर्तिकलासम्बन्धी १ सय ५० शीर्षकका पुस्तक छन् । तीमध्ये लैनसिंह वाङ्देलको ‘मूर्तिकला पुस्तक’ निकै चर्चित छ । त्रिवि इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. प्रेमकुमार खत्रीका अनुसार नेपालको मूर्तिकलाको इतिहास इसापूर्व दोस्रो शताब्दीयताका प्रमाण फेला परेका छन् ।

‘हाँडीगाउँमा फेला परेको जयबर्माको मूर्ति दोस्रो शताब्दीको मानिएको छ,’ उनले भने, ‘तेस्रो र चौथो शताब्दीमा किरातकालीन मूर्तिकला प्रारम्भ भएको हो । त्यसको उदाहरण पशुपतिनाथ परिसरमा विरुपाक्षको मूर्तिलाई लिइएको छ । त्यतिखेर हिन्दु वा बौद्धको मूर्तिकला सुरु भएकै थिएन ।’ लेखक स्क्रेइडरले लिच्छविकालपछिको मूर्तिकलाको अध्ययन गरेको उनले जनाए ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×