कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एटलान्टा चिडियाघरका १३ गोरिलामा देखियो कोरोना संक्रमण

काठमाडौँ — अमेरिकाकास्थित एटलान्टा चिडियाघरका दर्जनबढी गोरिलामा कोरोना संक्रमण देखिएको छ । चिडियाखानाका १३ वटा गोरिलामा कोरोना संक्रमण देखिएको हो । जुकिपरबाट गोरिलाहरूमा कोरोना सरेको हुन सक्ने चिडियाखानाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

एटलान्टा चिडियाघरका १३ गोरिलामा देखियो कोरोना संक्रमण

गोरिलाहरूमा खोकी, नाकाबाट पानी बग्नेजस्ता लक्षणहरु देखेपछि कोभिड परीक्षण गराइएका थिए । स्वाब संकलन गरेर जर्जिया विश्वविद्यालयको एथेन्स भेट्नेरी डाइग्नोष्टिक प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो । थप पुष्टि गराउनका लागि स्वाब नेशनल भेटेनेरी सर्भिस ल्याबोरेटरीमा पठाइएको चिडियाघरले जनाएको छ ।

संक्रमित भएकाहरुमध्ये ६० वर्षीया ओजी नाम गरेकी पोथी गोरिलालाई धेरै नै असर गरेको अनुमान गरिएको छ । त्यहाँका कर्मचारीहरुले ओजीलाई विशेष निगरानीमा राखेका छन् ।

चिडियाखानाले २० वटा गोरिलाहरुबाट स्वाब संकलन गरेर कोभिड-१९ परीक्षण गराएको थियो । त्यहाँका रहेका २० वटा गोरिलाहरुको विभिन्न ५ वटा समूह छन् । संक्रमणमुक्त हुनेबित्तिकै यिनीहरुलाई जोइटिस कोरोनाभाइरस भ्याक्सिन लगाइने चिडियाघरले जनाएको छ ।

एटलान्टा चिडियाघरमा रहेका बोर्नियन र समातरन अर्गानाटन्स, सुमातरन बाघ, अफ्रिकन सिंह र ध्वाँसे चितुवामा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको थियो ।

कोरोना भाइरसको संक्रमण बाघ, सिंह, मिंक, हिउँ चितुवा, कुकुर र बिरालोमा पनि देखिएको छ ।

अमेरिकाको सानडिएगोको चिडियाघरमा गत फेब्रुअरीमा ८ वटा लोलेन्ड गोरिलामा पनि कोरोना संक्रमण देखिएको थियो । यस्तै, क्यालिफोर्निया चिडियाघरका २ वटा हिउँ चितुवामा समेत संक्रमण देखिएको थियो ।

प्रकाशित : भाद्र २९, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?