कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति सीले भने- 'बीआरआई साझेदारको व्यवसाय विस्तारमा चीनको समर्थन'

लक्ष्मी लम्साल

बेइजिङ — यस वर्षको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला शुक्रबारदेखि बेइजिङमा सुरू भएको छ । सेप्टेम्बर ७ तारिखसम्म चल्ने ५ दिने मेलामा नेपालका तर्फबाट बेइजिङस्थित व्यापारीहरूले सहभागिता जनाएका छन् ।

राष्ट्रपति सीले भने- 'बीआरआई साझेदारको व्यवसाय विस्तारमा चीनको समर्थन'

मेलाको उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले चीनले अघि सारेको बेल्ट एण्ड रोड (बीआरआई) मा संलग्न मुलुकहरूसँगको सेवा व्यवसायलाई अझ घनिष्ठ पार्दै जाने उद्घोष गरे । उनले भने, ‘बीआरआई परियोजनामा सहभागी मुलुकहरूसित सम्बन्धित सेवाको व्यवसायलाई चीनले अझै समर्थन गर्दै जानेछ ।’

पछिल्लो समय चीनमा कोरोना महामारी पूर्णतः नियन्त्रित अवस्थामा भएपनि स्वास्थ्यसम्बन्धी प्रोटोकल भने कायम राखिएको छ । बेइजिङमै भएको कार्यक्रमलाई सीले भिडियोमार्फत सम्बोधन गरेका थिए । चीनको प्राविधिक विकासको हित विश्वका अरू मुलुकसँग सेयर गर्ने बताउँदै सीले डिजिटल व्यापारिक क्षेत्रको निर्माणमा जोड दिए । खुलापन, सहकार्य, आपसी हित र वीन–वीनको सिद्धान्तमा अडेर सेवा व्यापार विकासका अवसर बाँड्दै विश्व अर्थतन्त्रको पुनरूत्थानमा सक्रिय हुने पनि सीले बताए ।

नेपालको प्रतिनिधित्व गर्दै चीन-नेपाल सांस्कृतिक केन्द्र र हिमालय एयरलाइन्सले नेपाली हस्तकलाका सामग्री, सिंगिङ बाउल, नेपाली उत्पादनहरू, पर्यटकीय प्रवर्द्धन जस्ता गतिविधिहरू प्रदर्शनीमा समेटेका छन् ।

मेलाका दौरान महत्त्वपूर्ण छलफलका सत्रहरू पनि समावेश गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर छविन्द्र पराजुलीले बताए । शुक्रबार विश्वका पर्यटकीय सहर सम्बन्धी संगठन वर्ल्ड टुरिजम सिटीज फेडरेसनले कोभिडपछिको पर्यटन विषयक छलफल कार्यक्रम संचालन गरेको थियो । विश्वका पर्यटकीय सहरहरूको गठबन्धनमा काठमाडौं पनि सदस्यका रूपमा छ । कोभिडपछि पर्यटनलाई कसरी चलायमान बनाउने र कसरी दिगो विकास गर्ने बारेमा छलफल भएको कार्यक्रममा सहभागी मिनिस्टर पराजुलीले जानकारी दिए । आइतबारको छलफलमा परम्परागत चिनियाँ उपचार पद्धतिलाई कसरी आयुर्वेदसँग जोड्ने लगायत मेला अवधिभर महत्त्वपूर्ण बहस सत्रहरू हुने पनि उनले बताए ।

विशेषगरी यो मेलामा सेवा सम्बन्धी उत्पादन तथा व्यवसायको प्रदर्शन गरिन्छ ।

सेवा व्यापारिक क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी मानिने यो मेला सन् २०१२ देखि हुन थालेको हो । ७ पटक आयोजित यो मेलामा नेपालले पनि भाग लिँदै आएको छ । विश्वका १५३ वटा मुलुक तथा क्षेत्रका १० हजार भन्दा बढी उद्योग व्यवसायले यस पटकको मेलामा भाग लिएका छन् ।

प्रकाशित : भाद्र १८, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?