कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा अमेरिकाद्वारा आईएसलक्षित हवाई आक्रमण

काठमाडौँ — अमेरिकाले अफगानिस्तानको नाङ्गाहार प्रान्तमा इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले आक्रमण गरेको हो ।

अफगानिस्तानमा अमेरिकाद्वारा आईएसलक्षित हवाई आक्रमण

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ । सुरुवाती रिपोर्टअनुसार टार्गेट मारिएका छन् ।’ उनका अनुसार आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति भएको छैन ।

बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती विस्फोटमा १३ जना अमेरिकी सुरक्षाकर्मीसहित १६० जना अफगानी नागरिक मारिएका थिए । अमेरिकाले काबुल आक्रमणको ४८ घण्टापछि हवाई आक्रमण गरेको हो । स्काई न्युजका अनुसार २ जना ब्रिटिस नागरिक पनि मारिएका छन् ।

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेको छ । शुक्रबार मात्रै ४ हजार २ सयको उद्धार गरिएको छ । बिहीबार पनि करिब ७ हजार ५ सयको उद्धार गरिएको थियो । ह्वाइट हाउसका अनुसार अगस्ट १४ देखि यता अमेरिकाले १ लाख ९ हजारभन्दा बढीको उद्धार गरेको छ ।

यसैबीच अमेरिकाले काबुल विमानस्थलमा विभिन्न गेटमा रहेका आफ्ना नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बिहीबारको विस्फोटको जिम्मा इस्लामिक स्टेट खुरासान(आईएस-के) ले जिम्मा लिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?