कोभिडको खोपले बेलायतमा संक्रमण र मृत्युदर घट्दै गएको वैज्ञानिकहरुको विश्‍वास- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडको खोपले बेलायतमा संक्रमण र मृत्युदर घट्दै गएको वैज्ञानिकहरुको विश्‍वास

एजेन्सीहरु

लन्डन — बेलायतमा कोरोना भाइरसको संक्रमण नघटे पनि ओरोलो लाग्दै गरेको तथ्यांकले देखाएका छन् । निकै संक्रामक मानिएको डेल्टा भाइरस कोरोनाविरुद्धको खोप र स्वास्थ्यका मापदण्ड अपनाएमा कम हुने वैज्ञानिक तथा चिकित्सकले विश्वास व्यक्त गरेका छन् ।

फाइल तस्बिर : रोयटर्स

बेलायतमा बुधबार २९ हजार ६१२ जना कोरोनाका नयाँ संक्रमित थपिए भने १०४ जनाको मृत्यु भएको थियो । सात दिनमा १ लाख ९७ हजार ३४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।

बेलायतमा डेल्टा भेरियन्ट अरु पश्चिमा देशहरुभन्दा अगाडि देखिएको थियो । अमेरिका लगायत अरु देशको तुलनामा भने बेलायतका धेरै नागरिकले कोरोना विरुद्धको खोप पाएका छन् ।

पहिलो र दोस्रो डोज खोप पाएका बेलायती वयस्कमा ९० देखि ९४ प्रतिशत रोगसँग लड्ने क्षमता विकास भएको रगतको नमुना परीक्षण गर्दा भेटिएको छ । खोप कार्यक्रमले अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्यु हुने सम्भावना कम गरेको छ । साथै विद्यालय बिदा, गर्मी मौसम तथा अरु कारकहरुले पनि संक्रमणलाई पछाडि धकेलेका छन् ।

अस्पताल भर्ना हुनेको संख्या घट्दै

डेल्टा भेरियन्ट देखिएपछि संक्रमणमा पनि वृद्धि आएको थियो । कोरोनाको यो भेरियन्ट सबैभन्दा बढी संक्रामक मानिएको छ जुन मानिसमा छिटो सर्ने गर्दछ । अहिले भने अस्पतालमा बिरामी भर्ना हुनेको संख्या पनि ओरोलो लाग्दै गरेको देखिन्छ । जनवरीमा दैनिक ४ हजार २०० जना बिरामी भर्ना हुने गरेकामा जुलाईमा दैनिक ९०० मा झरेको थियो । अहिले पछिल्लो तथ्यांक हेर्ने हो भने ७६० जना भर्ना हुनेको संख्या देखिन्छ । त्यसैगरी जनवरीमा दैनिक १२०० मृत्यु हुने गरेकोमा हाल ९० जनाको हाराहारीमा मृत्यु भइरहेको छ ।

बेलायतका लगभग ९० प्रतिशत ज्येष्ठ नागरिकहरुले खोपको पहिलो डोज लगाइसकेका छन् भने ७५ प्रतिशतले दुवै मात्राको खोप पाएका छन् । त्यसैगरी ८९ प्रतिशत वयस्कले पहिलो डोजको खोप पाएका छन् भने ७५ प्रतिशतले दोस्रो डोजको खोप पाइसकेको अवस्था छ ।

मृत्युदर पनि घट्यो

युनिभर्सिटी अफ क्याम्ब्रिजको मेडिकल रिसर्च काउन्सिल बायोस्ट्याटिस्टिक्स युनिटका वैज्ञानिकहरुको अनुसार बेलायतमा संक्रमणबाट मृत्यु हुने दर पनि घट्दो देखिन्छ । जस्तै जनवरीमा मृत्यु दर १.८६ प्रतिशत पुगेकोमा अहिले ०.१४ प्रतिशतमा झरेको छ । त्यसैगरी ७५ वर्षमाथिका ज्येष्ठ नागरिक जो सिकिस्त हुने जोखिममा हुन्छन् उनीहरुमा पनि मृत्यु हुने दर २० प्रतिशत नजिक पुगेकोमा २.३ प्रतिशतमा ओरालो लागेको तथ्यांकले देखाएका छन् ।

अहिलेको अवस्थामा हेर्दाखेरी १८ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरु अस्पताल भर्ना हुने क्रम बढेको देखिन्छ । जनवरीमा ५ प्रतिशतले यी उमेर समूहका व्यक्तिहरु भर्ना हुने गरेकोमा हाल राष्ट्रिय सेवाको तथ्यांकका अनुसार अगस्टको पहिलो साताको तथ्यांकले २१ प्रतिशतले भर्ना हुने बढेको देखाएको छ ।

डेल्टा एकदमै संक्रामक मानिए पनि ज्येष्ठ नागरिकमा जस्तै जोखिम युवाहरुमा पनि हुने भनेर प्रमाण नभएको वैज्ञानिकहरुको भनाइ छ । त्यसो भए युवाहरु अहिले किन बढी संक्रमित हुन पुगिरहेका छन् त ? किनकी ज्येष्ठ नागरिकहलाई खोपको पहिलो प्राथमिकता राखियो ताकि गम्भीर लक्षण तथा मृत्युबाट बचाउन सकियोस् । साथै युवाहरु अलि बढी सामाजसँग घुलमिल हुनाले पनि संक्रमणको घेरामा पर्न सक्छन् ।

युनिभर्सिटी अफ लेस्टरमा फिजिसियन तथा प्राइमरी केयर डिजिज एन्ड भास्कुलर मेडिसिनका प्रोफेसर डा. कमलेश खुन्तीका अनुसार अहिले भर्ना भइरहेका बिरामी युवाहरु छन् र निको पनि भइरहेका छन् । ‘कोभिडबाहेक अरु कारणले बिरामी भर्ना भएकोमा उनीहरुलाई पनि पोजेटिभ देखिएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २८, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्

तालिवानसँग ‘ऐतिहासिक’ शान्तिवार्ता सुरु

अफगानिस्तानलाई सबै जातजाति प्रेमपूर्वक बस्न सक्ने इस्लामिक प्रणालीसहितको स्वतन्त्र देशका रुपमा हेर्न चाहेको तालिवानका सहसंस्थापकको भनाइ
एजेन्सीहरु

दोहा — अफगान सरकार तथा तालिवान विद्रोही समूहबीचुको पहिलो प्रत्यक्ष शान्तिवार्ता कतारको राजधानी दोहामा शनिबार सुरु भएको छ । वार्ताको उद्घाटन सत्रमा उपस्थित हुन दोहा पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दुई पक्षबीचको वार्तालाई ‘ऐतिहासिक’ भनेका छन् ।

फेब्रुअरीमा अमेरिका र तालिवानबीच सुरक्षा समझदारी भएलगत्तै यो वार्ता हुने ठानिएको थियो । तर बन्दीहरूको आदानप्रदानबारेको विवादास्पद समझदारी लागू गर्ने विषयका कारण वार्तामा ढिलाइ भएको हो । जसका कारण त्यसयता पनि अफगानिस्तानमा हिंसा जारी रह्यो ।

वार्तामा भाग लिन अफगान सरकारको टोली सेप्टेम्बर ११ मा दोहा पुगेको हो । १९ वर्षअघि अमेरिकामा आतंकवादी आक्रमण भएपश्चात् अफगानिस्तानमा तालिवानको शासन अन्त्य भएको थियो । बिहीबार अन्तिम ६ जना बन्दी रिहा भएपछि तालिवान समूह वार्तामा भाग लिन तयार भएको थियो । निकै घातक आक्रमणमा संलग्न ६ जनालाई रिहा गर्ने विषयमा केह देशले कडा आपत्ति जनाएका थिए । खासगरी फ्रान्स र अस्ट्रेलियाले उनीहरूले आफ्ना देशका नागरिकलगायत सहायताकर्मीमाथि निर्मम आक्रमण गरेको बताएका थिए ।

अफगान सरकारी टोलीका नेता अब्दुल्लाह अब्दुल्लाहले आफूहरूले ‘न्याय र सम्मानपूर्ण शान्ति’ खोजेको बताएका छन् । अब्दुल्लाहले ४२ वर्षदेखिको उथलपुथल साम्य पार्ने समय आएको भन्दै वाक् स्वतन्त्रता तथा महिला अधिकारको सम्मान गरिनुपर्ने जनाए ।

राष्ट्रिय मेलमिलाप उच्च आयोगका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहलगायतका अधिकारी तालिवानसँगको शान्तिवार्ताका लागि दोहामा तस्बिर :रोयटर्स

दशकौंदेखिको द्वन्द्व अन्त्य गर्ने ठानिएको वार्ताको मध्यस्थता अमेरिकाले गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा प्रत्येक व्यक्तिको अधिकार सुरक्षित हुन हिंसाको साङ्लो तोडिनुपर्ने बताएका छन् ।

पोम्पियोले वार्ता टोलीका सहभागीलाई आफ्नोबारे मात्र नभई आगामी पुस्ताबारे सोच्न सुझाव दिएका बीबीसीले उल्लेख गरेको छ । उनले शान्तिवार्ताले अफगान नागरिकलाई निर्भरताको जन्जीरबाट समेत फुत्काउने अपेक्षा गरिएको बताए । तालिवान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरले ‘आफ्नो समूहले अफगानिस्तानलाई सबै जातजातिहरू प्रेम र भाइचाराका रूपमा बस्न सक्ने इस्लामिक प्रणालीसहितको स्वतन्त्र देशको रूपमा हेर्न चाहेको’ बताएका छन् । ‘वार्ताका क्रममा समस्याहरू आउन सक्छन् तर हामीले धैर्यता राख्दै अगाडि बढ्नुपर्छ,’ उनले भने ।

दोहामा शनिबार भएको भेट अफगान सरकार तथा तालिवान प्रतिनिधिबीचको पहिलो प्रत्यक्ष भेट हो । हालसम्म तालिवान विद्रोहीहरूले अफगान सरकार शक्तिहीन तथा अमेरिकाको कठपुतली भएको बताउँदै वार्ता गर्न अस्वीकार गर्दै आएका थिए ।

वार्ता सुरु गरेका दुई पक्षले सन् १९७९ मा सोभियत अतिक्रमणपश्चात्को दशकौं लामो हिंसालाई राजनीतिक मेलमिलापमार्फत अन्त्य गर्ने उद्देश्य राखेका छन् । अफगान सरकार र तालिवानबीच मार्च महिनामै वार्ता सुरु हुने भनिएको भए पनि बन्दी आदानप्रदानसम्बन्धी विवादका कारण स्थगित भएको थियो ।

अफगान द्वन्द्वसँगै सम्बन्धित अमेरिका र तालिवानबीच भएको सम्झौताले विदेशी फौजहरू फिर्ताको समयसीमा निर्धारण गरेको छ । उक्त सम्झौतामा अमेरिका र नेटोका सदस्य राष्ट्रहरू अफगानिस्तानमा तैनाथ सुरक्षा फौज १४ महिनाभित्र फिर्ता गर्न सहमत भएका थिए ।

तालिवान पक्षले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा अल कायदा तथा अन्य चरम आतंककारी समूहलाई आक्रमण गर्न नदिने प्रतिबद्धता जनाएको थियो । त्यसैगरी, अमेरिकाले तालिवानमाथिको प्रतिबन्ध हटाउने तथा आफ्ना केही सैनिक क्याम्प बन्द गरी सेनाको संख्या १२ हजारबाट ८ हजार ६ सयमा झार्ने बताएको थियो ।

सहमतिमा करिब ५ हजार तालिवान बन्दी तथा एक हजार अफगान सुरक्षा फौज रिहा गरिनेसमेत सहमति भएको थियो । उक्त निष्कर्षमा पुग्न दुवै पक्षलाई एक वर्षभन्दा बढी लागेको थियो । तर बन्दीको संख्या र कुन कुन तालिवान नेतालाई रिहा गर्ने भन्ने विषयमा भने सरकार र विद्रोहीबीच असहमति उत्पन्न भएको थियो ।

तालिवानले रिहा गर्न चाहेका केही कमान्डरहरू मुख्य आक्रमणमा संलग्न भएका जनाइएको थियो । ‘हाम्रा जनतालाई मार्ने हत्यारालाई रिहा गर्न सक्दैनौं,’ सरकारी टोलीका एक वार्ताकारले त्यतिबेला भनेका थिए ।

शान्ति वार्तामा सहभागी तालिवान प्रतिनिधिहरु तस्बिर : रोयटर्स

अमेरिकी अखबार वासिङ्टन पोस्टले गत महिना जनाएअनुसार अमेरिकी सेनाको ज्यान गएको आक्रमणका जिम्मेवार ठानिएका तीन जनालाई मुक्त गर्ने विषयमा पनि कुरा मिलेको थिएन । तर अफगानिस्तान सरकारले अगस्टमा ४ सय तालिवान बन्दीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेपछि वार्ता प्रक्रियाले गति लिएको हो ।

अफगानिस्तानमा १९ वर्षदेखि अमेरिकी सेना तैनाथ छन् । अल कायदा प्रमुख ओसामा बिन लादेनलाई हस्तान्तरण गर्न तालिवानले अस्वीकार गरेपछि अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण सुरु गरेको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण गरेको अल कायदा नेता लादेनलाई तालिवानले संरक्षण गर्दै आएको थियो । अमेरिकी आक्रमणपछि तालिवानको सत्ता गुमेको हो ।

तालिवान र सरकारबीचको वार्तामा सहमति पहिल्याउन त्योभन्दा कठिन हुने ठानिएको छ । शान्तिवार्ताप्रति आशाका साथसाथै कतिपयले कतिपयको आशंका छ । खासगरी शान्ति प्रक्रियाका नाममा भर्खर भर्खर हासिल भएको तर अझै कमजोर अवस्थामा रहेको महिला अधिकारलाई बलि चढाइने चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म तालिवानले भने आफ्नो राजनीतिक दृष्टिकोण प्रस्ट पारिसकेको छैन । उसले केवल इस्लामिक प्रणाली र समावेशिताको मुद्दाबारे मात्रै बोल्दै आएको छ । यो वार्ता भने एउटा लामो प्रक्रियाको सुरुवात हो जसको सफलता सुनिश्चित छैन । तर अन्त्यहीन युद्धको अवस्थाका माझ यो सुरुवात हुनु नै पनि केही उपलब्धि हो । त्यसका साथै सरिया कानुनको कठोर व्याख्या गर्दै सन् १९९० को दशकमा शासन गरेको तालिवानमा आएको परिवर्तनबारे भने वार्ताका क्रममा प्रमाणहरू भेटिनेमा कुनै शंका छैन ।

प्रकाशित : भाद्र २८, २०७७ ०६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×