कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोर्न फिल्म बनाएको र प्रसारण गरेको आरोपमा राज कुन्द्रा पक्राउ

काठमाडौँ — मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको तथा त्यसलाई अनलाइनमार्फत प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्न फिल्म बनाएको र प्रसारण गरेको आरोपमा राज कुन्द्रा पक्राउ

मोबाइल एपमार्फत फिल्म प्रसारण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । ‘यसबारेमा हामीसँग पर्याप्त प्रमाण छन्, थप अनुसन्धान गरिरहेका छौं,’ मुम्बई प्रहरीले प्रेस रिलिजमा भनेको छ । ब्रिटिस रियालिटी सो ‘सेलेब्रिटी बिग ब्रदर’ को २००७ का विजेतासमेत रहेकी शिल्पाका श्रीमान् कुन्द्रा यसअघि पनि पटक–पटक विवादमा मुछिएका छन् । सन् २००५ मा कुन्द्रालाई क्रिकेटमा म्याच फिक्सिङको आरोप लागेपछि क्रिकेटसम्बन्धी सबै प्रकारका गतिविधिमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।

त्यतिबेला उनले शिल्पासँग मिलेर राजस्थान रोयल्सको व्यवस्थापन गरेका थिए । भारतमा पोर्नोग्राफी उत्पादन र प्रसारण गैरकानुनी मानिन्छ । तर व्यक्तिगत रुपमा पोर्नोग्राफी हेर्नुलाई भने गैरकानुनी मानिदैन । अमेरिका र बेलायतपछि भारतबाट सबैभन्दा धेरै पोर्न फिल्मका दर्शक रहेको बताइएको छ ।

नेपालमा पश्मिना व्यवसायदेखि हिरा व्यापारसम्म

बीबीसी हिन्दीका अनुसार राज कुन्द्राका बुवा बालकृष्ण बेलायतमा बस कन्डक्टरका रुपमा काम गर्थे । सन् १९९४ मा कुन्द्रा व्यवसाय गर्न नेपाल आएका थिए । नेपालमा पश्मिना सलको व्यवसायबाट उनले राम्रो आम्दानी गरेका थिए । त्यसैबाट उनको भाग्य फेरिएको बताइएको छ । उनी नेपालबाट बेलायत फर्केर पश्मिना सल आपूर्ति गर्न थाले । उनले बेलायतका चर्चित फेसन हाउसमा पश्मिना आपूर्ति गरे । पहिलो वर्ष नै उनले पश्मिना व्यवसायबाट २ करोड पाउन्ड कमाएका थिए ।

पश्मिना व्यवसायपछि उनले हिराको व्यापारमा हात हाले । रुस, युक्रेन, यूएईलगायतका मुलुकमा खानी, घरजग्गा र ऊर्जा क्षेत्रमा पनि लगानी गरे । विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न असमर्थ रहेका कुन्द्राले डेढ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका थिए ।

उनले सन् २००९ मा शिल्पा सेट्टीसँग विवाह गरेका थिए । शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?