कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले आफैंमाथि बर्सिरहेका तालिबानका रकेटका दृश्य खिचिरहे

अफगान सुरक्षाफौज र तालिबानको भिडन्त नजिकबाट नियालेका रोयटर्सका फोटोपत्रकार दानिस सिद्दिकीको अनुभव
इकान्तिपुर डेस्क

काठमाडौँ — एउटा मिसनबाट फर्किएको केही मिनेट मात्रै भएको थियो । अफगान कमान्डोको एउटा टोली रेस्क्यु मिसनमा जानुपर्ने भयो । तालिबानप्रभावित कन्दाहारको बाहिरी इलाकामा एक जना प्रहरी फसिरहेका थिए । उनी घाइते थिए, तत्काल उद्धार गर्नुपर्ने अवस्थामा थिए । अहमद शाह नाम गरेका ती प्रहरी १८ घण्टादेखि एक्लै थिए ।

जसले आफैंमाथि बर्सिरहेका तालिबानका रकेटका दृश्य खिचिरहे

उनको उद्धारमा बख्तरबन्द गाडीमा ३० देखि ४० जना कमान्डो खटिए । त्यही टोलीमा थिए भारतलाई मुख्य कार्यक्षेत्र बनाएर फोटोपत्रकारिता गरिरहेका दानिस सिद्दिकी । उनी यसअघि द्वन्द्वप्रभावित अफगानिस्तानका विभिन्न क्षेत्रमा पुगेका थिए । तर मंगलबार झैं तालिबान समूहसँग दोहोरो संघर्षको चपेटामा भने परेका थिएनन् । यस पटक उनी झन्डै १५ घण्टा अफगानी सुरक्षा फौजको मिसनमा सँगै थिए । जब अहमद साहनजिकै रहेको ठाउँनजिक कमान्डोको टोली पुग्यो, तालिबानका तर्फबाट गोलीबारी हुन थाल्यो ।

दानिस सिद्दिकीले आफ्नो यात्राका बारेमा ट्विटरमा जानकारी दिएका छन् । त्यस्तै उनले रोयटर्समै पनि अफगान कमान्डोको टोली र तालिबानबीचको संघर्षबारे समाचार लेखेका छन् । उनी भन्छन्, ‘मैले बाहिरको वातावरण तनाबपूर्ण बनेको महसुस गरिसकेको थिएँ किनकि अफगान सुरक्षा फौजमाथि तालिबानबाट तत्काल आक्रमण हुनेवाला थियो ।’

गोलीबारीका बीच नै शाहलाई अफगान सुरक्षा फौजले उद्धार गरी आफ्नो गाडीमा राख्न सफल भएको सिद्दिकी बताउँछन् । ‘त्यसपछि शृंखलाबद्ध रूपमा ठूला विस्फोट भए । ८ वटा बख्तरबन्द गाडी (हम्भी) मध्ये तीनवटामा रकेटले क्षति पुऱ्यायो,’ सिद्दिकी लेख्छन्, ‘हम्बीमा रहेका सुरक्षाकर्मी सन्दिग्ध तालिबानी लडाकुलाई लक्षित गरी गोली बर्साइरहेका थिए । तर तालिबानी लडाकु मुस्किलले देखिन्थे ।’

चारैतर्फबाट आफूहरूमाथि आक्रमण भएको पनि सिद्दिकी बताउँछन् । उनी लेख्छन्, ‘चारैतर्फबाट गोलीको वर्षा भइरहेको थियो, देब्रेतर्फ श्मशान घाटदेखि दाहिनेतर्फ नीलगिरिका रूखले ढपक्कै ढाकेको क्षेत्रबाट गोलीको वर्षा भएको थियो ।’

सिद्दिकी चढेकै गाडी पनि रकेटसहितको ग्रिनेड (आरपीजी) को निसानामा पर्‍यो । ‘विशेष फोर्सका साथ म यात्रा गरिरहेको गाडीमा पनि कम्तीमा ३ वटा आरपीजी र अन्य हतियारबाट आक्रमण भयो । भाग्यले म सुरक्षित थिएँ र गाडीको अगाडिको प्लेटमा रकेट लागेको दृश्य कैद गर्न सफल भएँ,’ उनी भन्छन् ।

अहमद साहको उद्धारपछि पनि अफगान सुरक्षा फौज र तालिबान समूहबीच दोहोरो संघर्ष भएको थियो । सुरक्षा फौज र तालिबानको संघर्षबीचमा केही सर्वसाधारण पनि फसेका थिए । तीनैमध्ये एक युवकको तस्बिर सिद्दिकीले खिचेका छन् । सिद्दिकीले एउटा खुला चौरमा दुई जना सुरक्षाकर्मीसँग सुस्ताउँदै गरेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘करिब १५ घण्टाको एकपछि अर्को मिसनमा १५ मिनेट आराम गर्न पाइयो ।’सुरक्षा फौजसँगै मिसनमा गएका फोटोपत्रकार दानिस चौरमा सुस्ताउँदै । तस्बिर : उनकै ट्विटरबाट

मंगलबारको घटनाले अफगान सुरक्षा फौजलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको सिद्दिकी बताउँछन् । तालिबानले तोकिएको समयसीमाभित्र सबै विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने बताएको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र कूटनीतिक नियोगहरूमा भने खटिने गरी करिब १ हजार अमेरिकी सेना रहने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ को आक्रमणको २० वर्ष पुगेको अवसरमा आगामी सेप्टेम्बर ११ मा सेनालाई फिर्ता गर्ने बताएका छन् ।

विदेशी सेनाले छाडेपछि अफगानिस्तानमा पूर्ण रूपमा अफगान सुरक्षा फौजले जिम्मेवारी सम्हाल्नेछ । विदेशी सेनाले छाडिसकेपछि अफगानिस्तानमा सुरक्षा व्यवस्था कसरी व्यवस्थापन हुन्छ भनेर चिन्ता व्यक्त गरिएको छ ।

तस्बिरहरू : दानिस सिद्दिकी/रोयटर्स

प्रकाशित : असार ३०, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?