कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा ग्य्राजुएसनपछि वर्क परमिट पाउने नियम लागू 

नवीन पोखरेल

लन्डन — बेलायत सरकारले बिहीबार (जुलाई १) देखि कुनै पनि ब्रिटिस विश्वविद्यालयबाट ग्य्राजुएसन पूरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने नियम लागू गरेको छ । 

बेलायतमा ग्य्राजुएसनपछि वर्क परमिट पाउने नियम लागू 

बेलायतले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरी ल्याएको ग्य्राजुएट इमिग्रेसन रुट औपचारिक रुपमा लागू भएको हो । ग्य्राजुएट इमिग्रेसन रुटमार्फत बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले अब दुई वर्ष र पीएचडी गरेका विद्यार्थीले तीन वर्षको वर्क परमिट (पीएसडब्लू) पाउने छन् । उक्त भिसा पाउन अब कुनै रोजगारदाताको पत्र चाहिने छैन् भने न्यूनतम तलब सीमा पनि हटाइएको छ । विदेशी विद्यार्थीहरुले एउटा कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्न जान पाउनेछन् र आवश्यकता अनुसार आफ्नो करिअर विकास गर्न सक्नेछन् ।

'बेलायती विश्वविद्यालयबाट ग्य्राजुएट सकेका विद्यार्थीले अब जुनसुकै क्षेत्रमा फूलटाइम काम गर्न पाउने गरी पीएसडब्लु भिसा अप्लाइ गर्न सक्छन्', लन्डन र नेपालस्थित युनील्याडर कन्सल्टेन्सीका निर्देशक गणेश खड्काले भने, 'पढाइमा लगनशील र उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थीलाई बेलायत सम्भावनाको देश बनेको छ । अब कामसँगै भिसा परिवर्तन गरेर सेटलमेन्ट रुटमा जाने बाटो पनि खुलेको छ ।'

खड्काले 'ट्रयाक रेकर्ड अफ कम्प्लाएन्स' भएका युनिभर्सिटीहरुबाट डिग्री गर्ने विद्यार्थीले मात्र पीएसडब्लू भिसा अप्लाइ गर्न सक्ने पनि बताए । नयाँ नियमले नेपाली विद्यार्थीसमेत लाभान्वित हुनेछन् । नेपाली विद्यार्थी बेलायती विश्वविद्यालयमा पढ्न आउने क्रम सुरु भए पनि कोभिड महामारीका कारण बेलायतमा जारी निषेधाज्ञा आदि समस्याले विद्यार्थीमा अन्योल छाएको शैक्षिक परामर्शदाताहरुको भनाइ छ ।

बेलायतले गत अप्रिल २०१२ मा पीएसडब्लू रुट खारेज गरिदिएको थियो । पूर्वप्रधानमन्त्री टेरेजा मे गृहमन्त्री छँदा अध्यागमन नियन्त्रण गर्ने नाममा पोष्ट स्टडी वर्क सुविधा हटाइदिएकी थिइन् । तर, ब्रेक्जिटसँगै बेलायतले गत १ जनवरीदेखि आफ्नो अध्यागमन नियम परिवर्तन गर्दै विदेशी विद्यार्थी र कामदारलाई अंकमा आधारित प्रणाली लागू गरेको छ ।

क्षमतावान उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पढाइपछि बेलायतमै करिअर बनाउन अवसर दिने नीति सरकारको छ । यस नियमबाट विश्वभरका विद्यार्थी आकर्षित हुने विश्वास बेलायतलाई छ ।

प्रकाशित : असार १८, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?