बिहारले तथ्यांक सच्याउँदा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४८ थपियो- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहारले तथ्यांक सच्याउँदा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४८ थपियो

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ४८ थपिएको छ ।

तस्बिर : बीबीसी

तर यो संख्या २४ घण्टामै मृत्यु भएको भने होइन । बिहारमा कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याइएका कारण मृतकको संख्या थपिएको हो । बिहारमा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्यामा ३ हजार ९ सय ५१ थपिएको छ । योसँगै बुधबारसम्म बिहारमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय २९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९४ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख ५१ हजार ३ सय ६७ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९१ लाख ८३ हजार १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ करोड ७६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । त्यस्तै भारतमा ११ लाख ६७ हजार सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै बुधबार बेलुकासम्म भारतमा २४ करोड डोजभन्दा बढी कोरोना खोप लगाइएको छ । १८ देखि ४४ वर्ष उमेर समूहका ३ करोड ३८ लाखभन्दा बढीलाई कोरोनाको पहिलो मात्रा लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

किसानले पाएनन् धानको मूल्य

अघिल्लो वर्षको भन्दा क्विन्टलमा डेढ/दुई सय रूपैयाँ कम, चामलको माग नहुँदा धान बिक्री घट्यो
रमेशकुमार पौडेल

चितवन — पूर्वी चितवनका बजार र खेतमा धान किन्ने, बेच्ने र स्याहार्नेको गज्जबको चहलपहल छ । तर, उचित मूल्य नपाएको किसानहरू गुनासो गर्छन् । चैतमा रोपेको धान पाकेपछि बिक्री गरिहाल्ने चलन छ ।

चितवनको खैरहनीस्थित सुल्तनाको स्कुल चौरमा गाउँका किसानले सुकाउन ल्याएको धान । तस्बिर : रमेशकुमार/कान्तिपुर

पानी पर्ने समयमा धान पाक्ने भएका कारण राम्रोसँग नपाक्दै काट्ने र काट्दा काट्दै पनि पानी आएर धान भिज्ने गर्दछ । त्यसैले चैते धान काटेपछि लामो समय नराखी बेच्ने गरिन्छ । ‘अहिले सुकाएर लगे क्विन्टलको २२ सयसम्म र नसुकाएको १६ सय रुपैयाँमा बिक्री भएको छ,’ पूर्वी चितवन खैरहनी–१० कठारका किसान सीताराम अर्यालले भने ।

चैते धान लगाएका किसानहरूले धान पाकेपछि खेतमा ठूलो मेसिन (कम्बाइन हार्भेस्टर) लगाउँछन् । जसले काटेसँगै धान पराल अलगअलग गराउँछ । हार्भेस्टरको भाडा अघिल्लो वर्षको भन्दा बढेको तर धानको मूल्य भने घटेको अर्यालले बताए । ‘हार्भेस्टरको भाडा अघिल्लो वर्ष घण्टाको चार हजार थियो । अहिले ५५ सय रुपैयाँ पुगेको छ । धान अघिल्लो वर्ष सुकाएको २४ र नसुकाएको १८ सयमा बिक्री भएको थियो । अहिले त्यो झन् घटेको छ,’ अर्यालले भने । उनले १० कट्ठामा चैते धान रोपेका छन् । जुन अझै पाकेको छैन । गत वर्ष उनले लगाएको चैते धान घाँटी मरुवा (नेक ब्लास्ट) रोग लागेर सखाप भयो । त्यसैले अहिले अर्कै धान लगाएका छन् । पाक्न अलि समय लाग्दो रहेछ ।

तर अरू खेतमा भने धमाधम धान काट्न र बजार लगेर बेच्न सुरु भएको छ । कठार बडगाउँका रामध्यान चौधरी बोरामा पनि नराखेर सिधै ट्र्याक्टरको ट्रलीमा भरेर धान बेच्न हिँडे । नजिकको बजार पर्सा हो । तर त्यहाँ उनको धान बिक्री भएन । उनी पर्सादेखि परको वीरेन्द्रनगर पुगे । जहाँ क्विन्टलको १६ सय रुपैयाँमा धान बिक्री हुने भयो । जुन मूल्य अघिल्लो वर्षको भन्दा पनि कम भएको हुँदा उनी धान बेच्ने कि नबेच्ने दोधारमा परे । सुकाएर बेच्दा केही बढी मूल्य आउँछ । त्यसैले पूर्वी चितवनका घरको आँगनमा मात्रै हैन चौर र अलि खुला ठाउँमा धान सुकाएको देखिन्छ । पर्सा बजारदेखि भित्र खैरहनी नगरपालिका–५ सुल्तनाको स्कुलको चौरमा सयौं किसानले धान ल्याएर सुकाउने गर्दछन् । मज्जाले घाम लागे दुई दिनमै धान सुक्छ । तर मौसम बिग्रँदा कुन बेला पानी पर्दछ, थाहा हुँदैन । बादल मडारिँदै जाँदा पानी पर्ने पीरले किसानहरू हतारहतार धान उठाउँछन् ।

पानी पर्ने भएपछि धान उठाउँदै गरेका सुल्तनाका सीताराम महतो अलि निराश देखिए । ‘यो वर्ष उत्पादन नै आधा भयो । मल पाइएन । त्यसमाथि मूल्य पनि छैन । किसानी गर्न गाह्रो हुन थाल्यो,’ सीतारामले सुनाए । सुल्तनाकै बनिहा महतोले धानको ढुटोको मूल्य २८/२९ पुग्दा धानको मूल्य २० रुपैयाँ पनि नपाएको बताइन् । ‘धान रोपेको स्याहारेको खर्च जोड्ने हो भने सिधै घाटा पर्दछ,’ सीतारामले भने । सुल्तना स्कुल चौरमै धान सुकाएर उठाउँदै गरेकी हुमा चौधरीले धमाधम बोरामा धान राख्दै थिइन् । ‘मूल्य छैन । खर्च पनि उठ्दैन । त्यसैले घरमै लगेर राख्ने विचार गरेकी छु । मूल्य नै नआई, खर्च नै नउठाई कसरी बेच्ने,’ उनले भनिन् । चैते धानमा चिस्यानको मात्रा धेरै हुने हुँदा जोगाएर राख्न गाह्रो हुने गर्दछ ।

धान खरिद गर्ने खैरहनी पर्सा बजारका व्यवसायी चन्द्र सापकोटा यो वर्ष धानको मूल्य अघिल्लो वर्षको भन्दा क्विन्टलमा डेढ दुई सय रुपैयाँ कम भएको बताउँछन् । ‘यो वर्ष धानको माग धेरै छैन । स्टक राख्न गाह्रो हुन्छ । बजारमा धान नकटेपछि मूल्य कम हुने भयो,’ सापकोटाले भने । चैते धान प्रायः स्टिम चामल बनाउन प्रयोग हुन्छ । स्टिम चामल बनाउने प्लान्ट भएका भैरहवा र वीरगन्जमा चितवनको चैते धान जाने गरेको छ ।

‘अघिल्लो वर्ष लकडाउन हुँदा सरकार र अन्य निकायले राहत बाँडेका थिए । चामलको माग उच्च थियो । धान धमाधम बिक्री हुन्थ्यो । चामलको माग नहुँदा धान बिक्री घटेको छ । त्यसैले मूल्य कम भएको हो,’ सापकोटाले भने । उनले आफ्नो चामल मिल भए पनि चामल नकटेका कारण सातामा दुई चार दिन मात्रै मिल चल्ने गरेको बताए । चैते धान लगाउनेमध्ये ७५ प्रतिशतले बिक्री नै गर्दछन् ।

चितवनमा खास गरेर पूर्वी क्षेत्रमा चैते धान रोप्ने चलन छ । जिल्लामा बर्खे धान २७ हजार चार सय हेक्टर जमिनमा लगाइने गरेको चितवन भरतपुरमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । चैते धान लगाउने क्षेत्रफल ७५ सय हेक्टर रहेको उनले बताए । काट्ना साथ बिक्री हुने गर्दा किसानले चैते धानको भने जस्तो मूल्य नपाउने समस्या सधैं रहने गरेको ढकालले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×