कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसाको मारमा सञ्‍चार संस्था : इजरायली सेनाको आक्रमणमा अलजजिरा र एपीको कार्यालय ध्वस्त

एपीका अध्यक्ष भन्छन्- 'आजको घटनाले अब गाजामा के भइरहेको छ भन्ने कुरा विश्वले कमै मात्र थाहा पाउनेछ'

काठमाडौँ — प्यालेस्टाइनको गाजास्थित १२ तले टावरमा रहेका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी), कतारी सञ्चारमाध्यम अल जजिरालगायत थुप्रै कार्यालय तथा अपार्टमेन्ट ध्वस्त भएका छन्।

हिंसाको मारमा सञ्‍चार संस्था : इजरायली सेनाको आक्रमणमा अलजजिरा र एपीको कार्यालय ध्वस्त

टावरका मालिक जवाद मेहदीलाई इजरायली सेनाले एक घण्टाअघि फोन गरेर आक्रमण गर्न लागिएको भन्दै टावर खाली गराउन आदेश दिएका थिए । मेहदीका अनुसार पत्रकारका उपकरण लैजान १० मिनेट समय थप्न आग्रह गरे पनि इजरायली सेनाले अस्वीकार गरेको थियो।

कतार सरकारको लगानीमा सञ्चालित अल जजिराले आक्रमणको दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो। भवनमा प्यालेस्टिनी विद्रोही समूह हमासका सैन्य सामग्री रहेको दाबी इजरायली सेनाको छ । एपीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ग्यारी प्रुइटले वक्तव्य जारी गर्दै भवनमा हमासको गतिविधि रहेको कुनै संकेत नपाएको बताएका छन् । उनले थाहा पाइपाई कहिल्यै आफ्ना पत्रकारलाई जोखिममा नराख्ने पनि बताएका छन् ।

गाजामा रहेर समाचार सम्रेषण गरिरहेका मिडियामाथि आक्रमण भएपछि अब त्यहाँको अवस्था सार्वजनिक नहुने उनको भनाइ छ । 'आजको घटनाले अब गाजामा के भइरहेको छ भन्ने कुरा विश्वले कमै मात्र थाहा पाउनेछ,' अध्यक्ष प्रुइटले भने ।

इजरायली सेनाले शनिबार गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । हमासको जवाफी आक्रमणमा एक इजरायली मारिएका छन्। सोमबारयता इजरायली आक्रमणबाट ३९ बालबालिकासहित १४० प्यालेस्टिनीको ज्यान गइसकेको छ । इजरायलतर्फ हालसम्म ९ जना मारिएका छन्। गत सोमबार 'जेरुसेलम दिवस' मनाउने क्रममा हिंसा भड्किएको हो।

प्रकाशित : जेष्ठ २, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?