कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

केही दिनयता भारतमा संक्रमण केही घटे पनि अक्सिजन र बेड अभावले बिरामीको मृत्यु भइरहेको छ ।

काठमाडौँ — भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ करोड नाघेको हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड २ लाख ८२ हजार ८ सय ३३ पुगेको छ । आइतबारदेखि भारतमा

भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ । आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका थिए । शुक्रबार भने एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । जुन भारतमा महामारी सुरु भएयताकै बढी हो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ जना संक्रमित भएका थिए ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसको संक्रमणका कारण मृत्यु हुने को संख्या २ लाख २२ हजार ४ सय ८ पुगेको छ ।

भारतमा अहिलेसम्म करिब १ करोड ६६ लाख १३ हजार संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजारभन्दा बढी छ । भारतमा हालसम्म १५ करोड ८९ लाख ७२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका जनाइएको छ । तर पछिल्लो समय खोप अभाव भएका कारण अभियान प्रभावित भएको छ ।

भारतमा कोरोनाको दोस्रो लहरसँगै सुरु भएको अक्सिजन संकट टर्नेभन्दा पनि थप विकराल बन्दै गएको छ । केही सातादेखि राजधानी दिल्लीले अक्सिजनको चरम संकट व्यहोरिरहेकामा अब त्यस्तै संकट अन्य राज्यहरूमा पनि देखिन थालेको छ । दक्षिण भारतीय राज्यको कर्नाटकको चमाराजानगरको एउटा अस्पतालमा आइतबार राति अक्सिजन सकिँदा २४ जना सिकिस्त बिरामीको ज्यान गएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा संक्रमण निकै तीव्र रूपमा फैलिइरहेको छ ।

भाइरस प्रभावित देशको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड २४ लाख ७० हजारभन्दा बढी संक्रमित छन् । अमेरिकामा ५ लाख ७७ हजार ५ सय जनाको भाइरसले मृत्यु भइसकेको छ । मंगलबार बिहानसम्म विश्वभर १५ करोड ३१ लाख ८८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ३२ लाख ९ हजारभन्दा बढीको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?