भारतीय कम्पनीले बढाए कोरोना खोपको मूल्य- विश्व - कान्तिपुर समाचार

भारतीय कम्पनीले बढाए कोरोना खोपको मूल्य

नेपालले हालसम्म सेरमबाट मात्र खोप किनेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो रेटअनुसार यदि निजी अस्पतालहरुले नै पाएको मूल्यमा पाए पनि अब कोभिसिल्ड कम्तीमा पचास प्रतिशतले महँगो पर्नेछ ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका दुई खोप उत्पादक कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको नयाँ मूल्य तोकेका छन् । भारतमा सेरम इन्स्टिच्युटले कोभिसिल्ड र भारत बायोटेकले कोभ्याक्सिन खोप उत्पादन गर्दै आएका छन् ।

बायोटेकले शनिबार कोभ्याक्सिनको राज्य सरकारहरु, निजी अस्पताल र निर्यात गर्ने गरी तीनथरी मूल्य सार्वजनिक गरेको छ । जसअनुसार राज्य सरकारहरुले प्रतिडोज ६ सय भारु, निजी अस्पतालले प्रतिडोज १ हजार २०० भारु तिर्नुपर्ने छ । त्यसैगरी निर्यात मूल्य भने १५ देखि २० डलर तय गरिएको छ । सेरमले बेलायतको अक्सफोर्ड विश्वविद्याल र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको खोपलाई कोभिसिल्डको नाममा उत्पादन गरेको हो । कोभ्याक्सिन भने हैदराबादस्थित बायोटेक आफैले विकास गरेको हो ।

सेरमले अघिल्लो बुधबार नै खोपको मूल्य सार्वजनिक गरिसकेको छ । कम्पनीले कोभिसिल्डको मूल्य प्रतिडोज राज्य सरकारका लागि ४ सय भारु र निजी अस्पतालका लागि ६ सय भारु तोकेको छ । सेरमले यसअघि भारत सरकारलाई भने प्रतिडोज १ सय ५० भारुमा खोप दिएको थियो । र, नेपाललाई प्रतिडोज चार डलरमा दिएको थियो । कम्पनीले निर्यात मूल्य भनेर विश्व बजारका लागि छुट्टै मूल्य भने तय गरेको छैन ।

नेपालले हालसम्म सेरमबाट मात्र खोप किनेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो रेटअनुसार यदि निजी अस्पतालहरुले नै पाएको मूल्यमा पाए पनि अब कोभिसिल्ड कम्तीमा पचास प्रतिशतले महँगो पर्नेछ । नेपालले खोप अभियान सुरु गर्न सेरमसँग २० लाख डोजका लागि उक्त दरमा सम्झौता गरेको थियो । तर, पछि थप पचास लाख डोजका लागि पनि प्रक्रिया अगाडि बढाएको थियो । तर, नेपालले २० लाख डोज कोभिसिल्ड खोपका लागि ८० प्रतिशत रकम अग्रिम भुक्तानी पठाए पनि दोस्रो खेपको दस लाख खोप अझै आपूर्ति भएको छैन ।

कम्पनीले खोपको अत्यधिक माग भएकाले आपूर्ति गर्न नसकिएको जवाफ दिँदै आएको छ । सममयमै आपूर्ति गरिदिन नेपालले कम्पनीलाई सिधै र सरकारी तहमा पनि पटकपटक आग्रह गरिसकेको छ । चैतको अन्तिम साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरलाई फोन गरेर पुन: खोप पठाउन आग्रह गरेका थिए । परराष्ट्रका अधिकारीहरुका अनुसार उक्त फोनर्वातामा भारतीय पक्षबाट वैशाखको दोस्रोसम्म बाँकी खोप पठाउन प्रयास गर्ने आश्वासन दिएको थियो ।

समयमा खोप आपूर्ति नहुँदा नेपालको खोप अभियान नै अवरुद्ध हुन पुगेको छ । सम्झौताअनुसारको खोप नै नआएपछि सेरमबाट थप पचास लाख डोज किन्ने प्रक्रिया पनि अगाडि बढ्न सकेन । मूल्यको कारण देखाएर सेरम आफैले पनि चासो नदेखाएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ । उनका अनुसार पछिल्लो समय सेरमले अनौपचारिक रुपमा पहिलेको मूल्य पुनरावलोकन गर्नुपर्ने र त्यसमाथि एजेन्टलाई समेत कमिसन दिनुपर्ने सर्त राखेको छ।

भारत सरकारले ‘भ्याक्सिन मैत्री’ नीति अन्तर्गत दस लाख डोज कोभिसिल्ड नेपाललाई अनुदानमा दिएको थियो । पछि थप एक लाख डोज कोभिसिल्ड नेपाली सेनालाई भनेर पनि दिएको थियो । त्यसबाहेक विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमबाट नेपालले थप ३ लाख ४८ हजार डोज पाएको थियो । नेपाल सरकारले हालसम्म कोभिसिल्ड र कोभ्याक्सिनका साथै चिनियाँ खोप भेरोसेल र रुसी खोप स्पुतनिक–५ लाई मात्र आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

प्रकाशित : वैशाख १२, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीमा नेपालीको हारगुहार

‘पोहोर खाना चाहियो भन्थे, यसपालि हामीलाई बचाउनुपर्‍यो भनेर रुँदै फोन गर्छन्’
अस्पतालमा बेड पाउन मुस्किल छ, बेड पाइहाले अक्सिजन हतपति उपलब्ध हुँदैन । कतिपय अस्पतालले डिस्चार्ज हुने बेला महँगो बिल थमाउँछन् ।
भारतमा कोरोना संक्रमणका कारण कति नेपालीको मृत्यु भयो भन्ने तथ्यांक न प्रवासी संगठनहरूसँग छ न त दिल्लीस्थित नेपाली दूतावाससँग
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो । परिवारले अस्पताल भर्ना गर्न निकै दौडधूप गर्‍यो । कतै खाली बेड पाइएन । शर्माको स्वास्थ्य थप बिग्रँदै गयो । त्यसपछि परिवारले दूतावाससम्म गुहार्‍यो । सामाजिक सञ्जालमार्फत पनि हारगुहार गर्‍यो ।

दिल्लीस्थित जीटीबी अस्पतालबाहिर अक्सिजन मास्क लगाएर उपचारका लागि पालो पर्खिरहेका बिरामी तस्बिर : सुरेशराज न्यौपाने/कान्तिपुर

आफ्नै जिल्लावासी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले व्यक्तिगत रूपमै चासो देखाएपछि भने शर्मा बिहीबार अस्पताल भर्ना भएका छन् । हाल उनी द्वारकाको वेन्कटेस अस्पतालको आईसीयूमा छन् । चिकित्सकले तत्काल प्लाज्मा व्यवस्था गर्न भनेका छन् । परिवारले प्लाज्माका लागि सहयोग गरिदिन सामाजिक सञ्जालमा अनुरोध गरेको छ ।

भारतमा कोरोना महामारी विकराल बनिरहँदा बेड र उपचारका लागि गुहार लगाउने शर्मा एक्लो नेपाली होइनन् । रोजगारीका सिलसिलामा भारतमा रहेका बेला कोरोना संक्रमित भएर समयमा उपचार पाउन नसकेका नेपाली कामदारको संख्या दिनहुँ बढिरहेको छ । केही उपाय नलागेपछि उनीहरूले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरिरहेका छन् । संक्रमित भएका नेपालीले विशेष गरी प्लाज्मा, औषधि, बेड र अक्सिजनको चरम अभाव खेप्नुपरेको छ । दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, गुजरात, मध्यप्रदेशलगायत राज्यमा अक्सिजनको संकट छ ।

प्रवासी नेपाली संगठनहरूका अनुसार एक सातायता सहयोगका लागि नेपाली कामदारले भारतभरिबाट याचना गरिरहेका छन् । ‘अक्सिजन, बेड र औषधि चाहियो भनेर फोन आइरहेको छ । स्थिति भयावह छ,’ अखिल भारत नेपाली एक समाजका आरबी खड्काले भने, ‘पोहोर खाना चाहियो भन्थे, यसपालि हामीलाई बचाउनुपर्‍यो भनेर रुँदै फोन गर्छन् ।’

प्रवासी संगठनहरूका अनुसार भारतमा करिब २० लाख नेपाली कामदार छन् । बढीजसो नेपाली कामदार दिल्ली, गुजरात, महराष्ट्र, मध्यप्रदेश, उत्तरप्रदेश, तमिलनाडु र केरलामा छन् । यिनै राज्यमा केही सातायता कोरोना संक्रमण उच्च छ । यी राज्यमा नेपाली संक्रमित हुनेक्रम पनि बढ्दो छ । खड्काका अनुसार दिल्ली, गुजरात र महराष्ट्रमा रहेका नेपाली कामदार बढी संक्रमित छन् । दिल्ली–एनआरसी क्षेत्रका फरिदावाद, गाजियावाद, रोहिणी, वसन्त कुञ्जमा रहेका नेपालीले अस्पतालमा बेड पाउन मुस्किल परिरहेको छ ।

बेड पाइहाले पनि अक्सिजन उपलब्ध नहुँदा धेरै नेपालीको मृत्यु भएको खबर आफूहरूले पाइरहेको खड्काले जानकारी दिए । तर कोरोना संक्रमणका कारण कति नेपालीको मृत्यु भयो भन्ने यकिन तथ्यांक प्रवासी संगठनहरूसँग छैन न दिल्लीस्थित नेपाली दूतावाससँग नै छ । जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली केकति संख्यामा संक्रमित भए भन्ने यकिन तथ्यांक नभए पनि सकेसम्म उपचारका लागि पहल गरिरहेको बताए । ‘दिल्ली, मुम्बई, पुनेलगायत ठाउँमा धेरै संक्रमित भएको खबर आइरहेको छ र हाम्रो संगठनको सञ्जालमार्फत उपचारको व्यवस्था मिलाउन प्रयास गरिरहेका छौं,’ उनले भने ।

संक्रमित नेपालीले बेडका लागि अस्पतालहरूको चक्कर लगाउनुपरिरहेको छ । पहुँच लगाएर अस्पताल भर्ना भएका नेपालीले महँगो उपचार शुल्कको मारसमेत खेप्नुपरेको छ । महामारीको मौका छोप्दै कतिपय बिरामीलाई पहिले एउटा शुल्क भन्ने र डिस्चार्ज हुनेबेला कैयन् गुणा बढी शुल्क तिराउन बाध्य पार्ने गरिएको गुनासो छ । दिल्लीको पञ्चशीलमार्गमा बस्दै आएका राजु परियार कोरोना पुष्टि भएपछि केही दिनअघि रोतकको एउटा निजी अस्पतालमा भर्ना भए । सुरुमा उनलाई करिब ७० हजार भारतीय रुपैयाँ जति खर्च लाग्छ भनिएको थियो । उपचार सुरु भइसके पछि भने अस्पतालले पाँच लाखको बिल दिएको छ । ‘कहाँबाट ल्याएर दिने त्यति पैसा !,’ राजुकी पत्नी सुनिता परियारले भनिन् ।

घरमै आइसोलेसनमा बस्ने नेपालीको संख्या त गनिसाध्य नभएको खड्काले बताए । नेपाली कामदार सामान्यतया एउटा कोठामा धेरै जना बस्ने गर्छन् । संक्रमणको आशंका भएर परीक्षण गराउँदा रिपोर्ट आउन एक साता लाग्ने गर्छ । त्यतिन्जेलमा अरू पनि संक्रमित भइसक्ने सम्भावना बढी हुने गरेको छ । जेएलकी पत्नी सुमित्रालाई पनि कोरोना संक्रमण भएको छ । उनको भने स्वास्थ्य सामान्य रहेको ज्वाइँ दीपक पौडेलले बताए । ‘मैले चिनेकै थुप्रै नेपालीलाई संक्रमण भएको छ, निकै डरलाग्दो अवस्था छ,’ उनले भने ।

कोरोनाबाहेकको स्वास्थ्य समस्या देखिएकालाई पनि अस्पतालले भर्ना लिन छाडेको गुनासो नेपालीबाट आउन थालेको छ । दिल्लीको सरायमा बस्दै आएका कञ्चनपुरका ललित थापालाई नौ दिनअघि ज्वरो आयो । परीक्षण गर्दा रगतमा संक्रमण देखियो । उनले अस्पताल भर्ना हुन निकै दौडधूप गरे । केही उपाय नलागेपछि नजिकैको क्लिनिकमा सोधेर औषधि खान थाले । ‘अस्पतालमा बेड नपाएपछि औषधि किनेर खुवायौं, अहिले ठीक हुँदै गएको छ,’ ललितकी पत्नी सीता थापाले कान्तिपुरसँग भनिन् ।

भारतमा बढ्दो संक्रमणबाट बच्न नेपाल फर्कन चाहनेहरूका लागि पनि सहज छैन । हवाई टिकटको मूल्य अकासिएको छ । जोखिम मोलेरै रेल र बसबाट जान खोज्नेहरूले पनि टिकट पाइरहेका छैनन् । पाइहाले पनि पाँच गुणासम्म बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।

भारतमा रहेका नेपालीले उपचार व्यवस्था मिलाइदिन दिल्लीस्थित दूतावासलाई पनि भन्ने गरेका छन् । पूरै स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त बनेका कारण दूतावास आफंै सहयोग गर्न सक्ने अवस्थामा छैन । राजदूत नीलाम्बर आचार्यले भने आफूहरूले सकेसम्म सहयोग गरिरहेको दाबी गरे । ‘परिस्थिति निकै डरलाग्दो छ, यो यथार्थ सबैले बुझ्नुपर्छ । त्यसका बाबजुद हाम्रोतर्फबाट प्रयास गरिरहेका छौं,’ उनले भने । समस्यामा परेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन उनले आग्रह गरे । स्वास्थ्यसम्बन्धी निकायलाई भेदभाव नगरी नेपालीलाई खोप लगाइदिन पनि आग्रह गरेको राजदूत आचार्यले जानकारी दिए ।

राजदूत आचार्यले भारत सरकारलाई अक्सिजनको आपूर्ति नियमित राख्न भारतलाई आग्रह गरेको बताएका छन् । कोरोना संक्रमण तीव्र बनेसँगै भारतमा अक्सिजनको हाहाकार मच्चिएकाले नेपालका लागि हुँदै आएको अक्सिजन निर्यातमा रोक लाग्ने आशंका गरिँदै आएको छ । ‘हामीले औपचारिक रूपमै रेम्डेसिभिर र अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति पूर्ववत् रूपमै गर्न अनुरोध गरेका छौं,’ राजदूत आचार्यले भने । नेपालमा औद्योगिक प्रयोजन र अस्पतालमा प्रयोग गरिने अक्सिजन भारतबाट समेत आयात हुने गरेको छ । संक्रमण बढेसँगै नेपालमा पनि अक्सिजनको माग बढेको छ ।

प्रकाशित : वैशाख ११, २०७८ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही विश्वबाट
×