कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा पोआउ एसिया मञ्‍चको सम्मेलन सुरु, बीआरआईप्रति सीको अठोट

चिनियाँ राष्ट्रपति सी भन्छन्- ‘बीआरआईमा रूचि राख्ने कुनै पनि मुलुकहरूले भाग लिएर सहकार्य गर्दै साझा फाइदा उठाउन सक्छन्। यसको लक्ष्य पनि साझा विकास र साझा फाइदा नै हो।’
लक्ष्मी लम्साल

बेइजिङ — चीनको हाइनान प्रान्तमा पर्ने पोआउ सहरमा मंगलबारदेखि पोआउ एसिया मञ्च-२०२१ को वार्षिक सम्मेलन सुरू भएको छ। चिनियाँ समयअनुसार मंगलबार बिहान भएको उद्घाटनमा चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङबाट भिडियोमार्फत सम्बोधन गरे।

चीनमा पोआउ एसिया मञ्‍चको सम्मेलन सुरु, बीआरआईप्रति सीको अठोट

उद्घाटन समारोहमा कम्बोडिया, श्रीलंका, कजाखस्तान, लाओस, दक्षिण कोरिया, बंगलादेश, सिंगापुर, भियतनाम, मंगोलिया, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका प्रमुखहरूले भिडियोमार्फत् सम्बोधन गरे।

झण्डै बीस वर्षदेखि नेपालले पनि यस मञ्चमा सक्रियताका साथ भाग लिँदै आएको छ। विगतमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वलाई निम्त्याउने गरेको चीनले यसपटक भने कुनै पनि उच्च नेताहरूलाई चीनमा बोलाएको छैन। चीनका लागि विभिन्न देशका कूटनीतिज्ञहरू, अर्थविद् तथा चीनस्थित उच्च प्रतिनिधिहरूले कार्यक्रमस्थलमा पुगेर भाग लिएका छन्।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले कार्यक्रममा भाग लिएका छन्। सम्मेलनमा भाग लिनका लागि पाण्डे सोमबार बिहान बेइजिङबाट त्यसतर्फ गएका थिए। सम्मेलनका दौरान उनले मंगलबार र बुधबार गरी ३ वटा मुख्य तथा विषयगत बहसमा भाग लिने कार्यक्रम छ।

उद्घाटन मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सीले विगत २० वर्षमा चीनले सक्रियताका साथ क्षेत्रीय सहकार्यलाई अघि बढाउँदै एसियाका साथ प्रगति गर्दै र विश्वका साथ विकास गर्दै गएको बताए। 'एउटै डुंगामा कठिनाइको संयुक्त सामना तथा साझा भविष्यको सिर्जना' विषयक सम्बोधनमा सीले अन्तर्राष्ट्रिय सम्बन्ध बनाइराख्न सबैले छलफल गर्नुपर्ने तर केही मुलुकहरुले तर्जुमा गरेको नियम लाद्न नहुने बताए। ठूला मुलुकले अरु बढी जिम्मेवारी लिनुपर्ने औंल्याउँदै उनले चीनले अघि सारेको बेल्ट एण्ड रोड (बीआरआई) सबैका लागि हातमा हात मिलाएर हिँड्न सक्ने फराकिलो बाटो भएको तर कसैको निजी बाटो नभएको स्पष्ट पारे। उनले भने, ‘बीआरआईमा रूचि राख्ने कुनै पनि मुलुकहरूले भाग लिएर सहकार्य गर्दै साझा फाइदा उठाउन सक्छन्। यसको लक्ष्य पनि साझा विकास र साझा फाइदा नै हो।’

चिनियाँ राष्ट्रपतिले खुलापन र सहनशील भावनाका साथ बीआरआईमा संलग्न सबै पक्षसँग मिलेर गरिबी निवारण तथा विकास गर्ने प्रतिबद्धता जनाए। अर्काको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न नहुने भन्दै सीले शान्ति, विकास, न्याय, निष्पक्षता, प्रजातन्त्र र स्वतन्त्रतालगायत मानवीय मूल्य मान्यताका साथ मानव सभ्यताको विकासलाई अघि बढाइनुपर्ने बताए।

सन् २०३० सम्ममा बीआरआईमार्फत् विश्वका ७६ लाख जनतालाई चरम गरिबी र ३ करोड २० लाखलाई मध्यम गरिबीको अवस्थाबाट मुक्त गरिने अठोट सुनाउँदै सीले साझा समृद्धिका लागि सक्रिय योगदान गर्ने र कस्तै विकसित भएपनि प्रभु्त्ववाद वा विस्तारवादको होडबाजी नगर्ने उल्लेख गरे। उनले वर्तमान संकटको सामनाका लागि एशिया तथा विश्वका विभिन्न मुलुकले युगको आह्वानलाई ध्यान दिनुपर्ने र हातमा हात मिलाएर कोभिड-१९को सामना गर्नुपर्ने बताए। आर्थिक खुलापन र पारस्परिक आदान प्रदानमा सीको जोड थियो।

प्रकाशित : वैशाख ७, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?